शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

किसानको मेहनतले हराभरा सनी खोलाको बगर, जीविकोपार्जनमा सहज

images
बुधबार, माघ ९ २०८१
images
images
किसानको मेहनतले हराभरा सनी खोलाको बगर, जीविकोपार्जनमा सहज
फाइल तस्बिर

सामुदायिक विकास तथा पैरवी मञ्चका अध्यक्ष नागदेव यादवले आफ्नो संस्थाबाट बगरखेतीका लागि किसानलाई साथ र सहयोग जारी रहने प्रतिबद्धता जनाए।

images
images

महोत्तरी- तीन वर्षअघि वरिपरि सबै ढुंगा र गेगर्‍यान रहेको सनी खोलाको बगर अहिले हराभरा देखिन थालेको छ। गौशाला-८ कुष्माढीका स्थानीयले सनी खोलाको बगरमा रहेको गेगर्‍यान खोस्रेर खेतीयोग्य जमिनमा परिणत गरी मेहनतले हरियाली बनाएका हुन्।

images
images
images

सनी खोलाको बहावले उकासेको बगरमा कुष्माढीका भूमिहीन किसानले मेहनत गरेर उब्जनी गर्न थालेको तीन वर्ष भएको छ। नदीले बहाव छाडेको नदीउकास बगरको एकसय एकबिघा जग्गामा अहिले थरिथरिका फलफूलका बोट बढ्दै छन्।

images
images

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)ले फलफूल रोपणमा किसानलाई सहयोग गरेको हो। यहाँ आँप, लिची र कागतीसहित ११ हजार बोट हुर्कँदै छन्। बगैँचाभित्र तरकारी बाली लहलह छ। यो बगरमा कुष्माढीका दुईसय एक भूमिहीन किसानको मेहनत हाँसिरहेको छ। 

images
images
images

गौशाला नगरपालिकाले भूमिहीन किसानको परिवार सङ्ख्याका आधारमा चार कठ्ठादेखि १० कठ्ठासम्म जग्गा छुट्याइदिएपछि विसं २०७८ को अन्त्यतिर खनजोत थालिएको हो। यूएनडीपी र सेभ द चिल्ड्रेनअन्तर्गत अन्तराष्ट्रिय गैरसरकारी संस्थाको समुन्नति कार्यक्रम, सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल र गौशाला नगरपालिकाको सहयोगमा किसानको हौसला बढेको छ।

'अहिले बगरमा कतै गहुँ लहलह बढ्दैछ। कतै आलु धमाधम खनिँदै छन्। किसानले जैविक खेती गर्ने हुँदा यहाँ उत्पादित फसल उपभोक्ताको पहिलो रोजाइमा पर्दै आएको छ। आलु लिने धेरैजसो खेतमा आइपुग्नुहुन्छ', किसान चन्द्रकला महराले भनिन्। बगरखेती सुरु भएपछि जीविकोपार्जनको समस्या अन्त्य भएको उनको भनाइ छ।

बगरखेतीमा कुष्माढीका मुसहर, चमार (राम)सहितका अत्यन्त गरिब दलित समुदाय र कोइरी, यादव र मगरसहितका जनजाति बसोबास गर्दै आएका छन्।

यहाँका किसानलाई गौशाला नगरपालिकाले नदीउकासको चार किलोमिटर क्षेत्रभित्र विद्युतीकरण, दुई वटा डिपबोरिङ र सिँचाइ प्रयोजनका जल भण्डारण गर्न छ वटा पोखरी निर्माण गरेको छ। साथै समुन्नति कार्यक्रमले मलका लागि गँड्यौला खेती गर्ने सीप प्रदान गरेको किसान कामेश्वर महतोले बताए। सामुदायिक विकास तथा पैरवी मञ्च बर्दिबासले खेतीमा प्राविधिक र बीउबिजनको सहयोग गरेपछि किसान थप उत्साहित भएका उनको भनाइ छ।

'हामीसँग आफ्नो भन्ने जग्गा थिएन, नगरपालिका र गैरसरकारी संस्थाको सहयोगले खेती गर्ने जग्गा पायौँ, अहिले अन्यत्र बनी (मजदुरी) गर्न जान परेको छैन', महतोले भने, 'हामी मजदुरलाई बगरखेतीले किसान बनायो।'

बगरखेती गर्न थालेपछि कहिल्यै धन सञ्चय नगर्ने समुदायको परिचय बनेपछि बचत गर्न थालेका छन्। 'नदीउकास बगर पाएको पहिलो वर्ष ढुंगा, गेगर्‍यान खोस्रेर छेउ लाउँदै बित्यो, दोस्रो वर्षदेखि फसल लिन पाएका छौँ', मुसहर समुदायकी ३५ वर्षीया कविता सदाले भनिन्, 'अहिले जीविकोपार्जन सहज भएको छ।' पहिलेको बलौटे ढड्यान जग्गा नियमित खनजोत, सिँचाइ र जैविक मलले उर्वर बन्दै गएको उनले बताइन्।

उत्तरतिर वन क्षेत्रसँगै जोडिएको यो जग्गामा वन क्षेत्र, खोल्साखोल्सी र खोलाले बगाएर ल्याएको पाँगो माटोले रोपिएका फलका रुख दुई वर्षमा हुर्केका र बालीनाली पनि हलक्क बढ्ने गरेका गौशाला-८ का वडाध्यक्ष भोजबहादुर दर्लामीले बताए।

केही समय पहिलेसम्म गरिब रहेका यहाँका स्थानीय बगरखेतीले राम्रा किसान बनेका गौशालाका नगरप्रमुख डा दिपेन्द्र महतोले बताए। बगरखेतीका लागि किसानलाई पालिकाले गरेको सहयोग खेर नगएको उनको भनाइ छ। 'किसानलाई आगामी दिनमा पनि नगरको निरन्तर साथ र सहयोग रहनेछ', उनले भने।

सामुदायिक विकास तथा पैरवी मञ्चका अध्यक्ष नागदेव यादवले आफ्नो संस्थाबाट बगरखेतीका लागि किसानलाई साथ र सहयोग जारी रहने प्रतिबद्धता जनाए।

'सबैको सकारात्मक साथले बगरखेतीका किसानको हौसला बढेको छ। हाम्रो मेहनत सफल भएको छ, सबैको साथ रहिरहे हामी बगरमा उत्पादन वृद्धि गर्दै जानेछौँ', कुष्माढीकी किसान विना पासवानले भनिन्।

अहिले सनी खोलाको बगरखेती अवलोकन गर्न टाढाटाढाका किसान समूह आउने गरेका छन्।


प्रकाशित : बुधबार, माघ ९ २०८११४:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend