बुधबार, माघ २३ गते २०८१    
बुधबार, माघ २३ २०८१
images
images

सर्लाहीमा पुनः नगदेबालीको पहिचान बनाउँदै उखुखेती

images
आइतबार, पुस २८ २०८१
images
images
सर्लाहीमा पुनः नगदेबालीको पहिचान बनाउँदै उखुखेती
फाइल तस्बिर

यसवर्ष उखु क्रसिङ पहिला नै समर्थन मूल्य तय भएको र उद्योगीले पनि उखु बेचेको हप्ता दिनभित्रै भुक्तानी दिन थालेपछि सर्लाहीका किसान पुन: उखु खेतीतर्फ आकर्षित भएका छन्।

images
images

सर्लाही- उखु बेचेको हप्ता दिनभित्रै भुक्तानी पाउँदा सर्लाहीको बागमती नगरपालिका-१, मिलनचोक निवासी रामहरी पाण्डेलाई सुरुमा त पत्याउनै मुस्किल भयो। विगतमा वर्षौँसम्म चिनी उद्योगहरुले भुक्तानी नगर्दा हैरानी खेप्दै आएका उनीजस्ता किसानहरुले यसपटक समयमै भुक्तानी पाएका छन्।

images
images
images

विगतमा राज्यले समयमा उखुको समर्थन मूल्य नतोक्ने र उद्योगीले वर्षौँसम्म पनि भुक्तानी नदिने समस्याबाट किसानहरू हैरान हुनु परिरहेको थियो। तर, यसवर्ष उखु क्रसिङ पहिला नै समर्थन मूल्य तय भएको र उद्योगीले पनि उखु बेचेको हप्ता दिनभित्रै भुक्तानी दिन थालेपछि किसानलाई उखुखेती फेरि नगदेबाली हो भन्ने लाग्न थालेको पाण्डेले बताए।

images
images

पाण्डेले यस वर्ष चार बिघामा उखु लगाएका छन्। पहिलोपल्ट उनले गत मङ्सिर २७ गते उद्योगमा उखु बेचेका थिए। इन्दुशंकर चिनी उद्योगको मिलगेट क्षेत्रका उखु किसान पाण्डेले हप्ता दिनमै बैंकमा पैसा जम्मा भएको घण्टी बजेपछि खुसीले गद्‌गद्‌ भए। 'अब बल्ल उखु नगदेबाली हो भन्ने लागेको छ', उनले भने, 'किनकी यो वर्ष उखुको पैसा हाताहाती जस्तै आइरहेको छ।'

images
images
images

सुरुमा उखुखेती गर्दा मूल्य र भुक्तानी के हुने हो भनेर चिन्ताले पाण्डेलाई नसताएको होइन। तर, यसवर्ष उखु बिक्री गरेर समयमै भुक्तानी पाएपछि ऊखुखेतीप्रति आकर्षण बढेको पाण्डेले सुनाए। उखुको समर्थन मूल्यमा राज्यले किसानको लगानी र चिनीको मूल्यलाई आधार बनाएर तोक्ने र उद्योगले किसानको भुक्तानी व्यवस्थित गर्ने हो भने किसानहरू उत्साहित भएर उखुखेती गर्न तयार रहेको उनी बताउँछन्।

हरिवन नगरपालिका-३, का गोपी तिमल्सिनाको पनि अनुभव उस्तै छ। विगतका वर्षमा झैँ अब किसानले गुलियो उखु लगाएर अमिलो अनुभव गर्न नपरोस् भन्ने उनी कामना गर्छन्। हरिवनको इन्दुशंकर चिनी उद्योगमा उखु बेचेको पैसा हप्ता दिनमा आफ्नो खातामा आएको उनले बताए। राज्यलेसमेत अनुदानबापतको रकम किसानको खातामा जम्मा गरिदिनुपर्ने उनको धारणा छ।

'विगतका वर्षमा जस्तो अनुदानको रकममा किसानले दुःख पाउनुहुँदैन', उनले भने, 'समयमै भुक्तानी सुरु गर्नुपर्छ, अनिमात्र फेरि उखु नगदेबाली बन्छ। किसान पनि खेती गर्न उत्साहित हुन्छन्।' यस वर्षबाट हप्ता दिनमै किसानको खातामा पैसा जम्मा गर्न थालेपछि किसानहरू उत्साहित बनेका हुन्।

यस उद्योगले यसवर्ष ३५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य राखेको उद्योगका महाप्रबन्धक योगनारायण रजकले जानकारी दिए। किसानहरूसँग एक महिनाभित्र भुक्तानीको सहमति भए पनि उद्योगले एक हप्ताभित्रै भुक्तानी गरिरहेको उनको भनाइ छ।

महाप्रबन्धक रजकका अनुसार उद्योगले पुस २० गतेसम्म किसानबाट ६ लाख १७ हजार दुईसय क्विन्टल उखु खरिद गरी क्रसिङ गरिएकामा यही पुस १७ गतेसम्मको उखुको २८ करोड रूपैयाँ भुक्तानी गरिसकेको छ।

गत मङ्सिर २७ गतेदेखि सञ्चालनमा आएको उद्योगले यो तेस्रो पटक किसानको खातामा रकम जम्मा गरेको हो। यस उद्योगले उखु उत्पादन बढाउनका लागि उन्नत जातको बीउ, मल, विषादीको प्रयोगको साथै तालिम, गोष्ठी तथा किसानहरूलाई प्राविधिक सेवासमेत अभियानकै रुपमा प्रदान गरिरहेको उद्योगका प्रशासकीय अधिकृत ठाकुर नेपालले बताए। किसान खुसी पारेर उखु तान्न समेत उद्योगहरूले भुक्तानी छिटोछिटोे गरिरहेका नेपाल उखु उत्पादक महासंघका केन्द्रीय अध्यक्ष कपिलमुनि मैनालीको भनाइ छ।

जिल्लामा सञ्चालनमा रहेकामध्ये गोडैता नगरपालिकास्थित बगदहमा रहेको महालक्ष्मी चिनी उद्योगले र धन्कौलमा रहेको अन्नपूर्ण चिनी उद्योगले भने विगतका वर्षमा समयमै भुक्तानी नगरेको किसानहरूको भनाइ छ।

रामनगर गाउँपालिका-४ का नितिन रायले अन्नपूर्ण चिनी उद्योगका पुराना सञ्चालकसँग आफ्नो फसल बेचेको पैसा लिन निकै संघर्ष गर्नुपरेको सुनाए। यस उद्योगका नयाँ व्यवस्थापनले भने यस वर्षबाट उखुको भुक्तानी व्यवस्थित गरेको दाबी गरिरहेका छन्।

गत मङ्सिर ६ गतेदेखि क्रसिङ सुरु गरेको यस उद्योगले पुसको पहिलो हप्तासम्मको भुक्तानी किसानको खातामा पठाइसकेको जनाएको छ।

विगतको वर्षमा उखु दिएको वर्षौँसम्म पैसा नपाएका किसानले यसवर्ष भने उखु बेचेको १५/१५ दिनमा पैसा खातामा जम्मा भएको भन्दै खुसी व्यक्त गरेका छन्। धन्कौल-५ निवासी वीरेन्द्र महतोले उखु बेचेको १४ दिनको दिन पैसा पाएको भन्दै यस वर्ष उखु नगदमै बेचेको प्रतिक्रिया दिए। 'हामीले सधैँ उधारोमा उखु उद्योगलाई दिँदै आएका थियौँ', उनले भने, 'हामीसँग अरु विकल्प पनि थिएन। तर यस वर्ष पैसा पनि आइरहेको छ।' अब पहिलेको जस्तो उखु बेचेको पैसा माग्न पुस/माघको ठन्डीमा काठमाडौं जान नपरोस् भन्ने उनको पनि कामना छ।

पन्ध्र लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य राखेको यस उद्योगले पनि हालसम्म चार लाख ५० हजार क्विन्टल उखु क्रसिङ गरिसकेको जनाएको छ। राज्यले तय गरेको समर्थन मूल्य पाँचसय ८५ रुपैयाँ प्रतिक्विन्टलको दरले ११ करोड रकम भुक्तानी गरेको उद्योग सञ्चालक शैलेन्द्र गुप्ताले जानकारी दिए।

जिल्लामा सबैभन्दा सुरुमा सञ्चालनमा आएको यस उद्योगलाई किसानहरूले विश्वास नगर्दा उखु नपाएर उद्योग पटकपटक बन्द हुँदै सञ्चालन हुँदै गरिरहेको छ। उद्योगको ढोकै नजिकबाट रौतहट र महोत्तरीका उद्योगले उखु लगेपछि अन्नपूर्णले स्थानीय जनप्रतिनिधि समेत गुहार्नु परेको थियो।

स्थानीय जनप्रतिनिधिले अन्य उद्योगको उखु संकलन केन्द्र (काटा) राख्न नदिएपछि यस उद्योगले केही राहतको श्वास फेरेको छ। स्थानीय जनप्रतिनिधि र राजनैतिक दलका नेताहरूले उद्योगसँग मिलेर अन्नपूर्ण र महालक्ष्मी चिनी उद्योगमा उखु बेच्न किसानहरूलाई जबरजस्ती बाध्य पारेको किसानहरूको गुनासो छ। स्थानीयस्तरमा भएका उद्योगबाट किसानले लाभ लिन सक्ने र यस उद्योग जोगिए स्थानीय रोजगारीदेखि औद्योगिक विकासमा टेवा पुग्ने जनप्रतिनिधिहरूको भनाइ छ। उद्योगले किसानको भुक्तानीमा आनाकानी गरे आफूहरू किसानको पक्षमा रहेको बलरा नगरपालिकाका मेयर रामाशंकरप्रसाद कुशवाहाले बताए।

गोडैतामा रहेको महालक्ष्मी चिनी उद्योग पनि किसानलाई नियमित भुक्तानी दिएर किसान फकाउन लागिपरेको छ। विगतमा किसानसँग बिग्रिएको सम्बन्ध समेत सुधार गर्ने योजनासहित यस वर्ष उखुको भुक्तानी प्रत्यक १५ दिनमा किसानहरूको खातामा पठाइरहेको उद्योगले जनाएको छ। यस उद्योगमा उखु बेचेका गोडैता नगरपालिका-५ का उखु किसान रामविनय महतोले उखुको भुक्तानी पाएको बताए।

हालसम्म दुई सय क्विन्टल उखु बेच्नु भएका उनको खातामा आजसम्म एकसय ५० क्विन्टल उखुको पैसा जम्मा भइसकेको छ भने बाँकी रकम पनि एक/दुई दिनमा जम्मामा उनी ढुक्क छन्। 'यसपटक विगत वर्षहरुमा जस्तो उखुको भुक्तानी माग्न पटकपटक उद्योगी र कर्मचारी खोज्दै उद्योग धाउन परेन', उनले भने। 'पहिला उखु दियो पैसा माग्न धाउनुपर्थ्यो', उनले भने, 'यसपटक १५ दिन पहिला नै उखुको पैसा खातामा आइसकेको छ।'

विष्णु गाउँपालिका-७, का सिकिन्दर मण्डलले अघिल्लो वर्ष उखु उधारोमा मिललाई दिएर साहुसँग ऋण गरेर परिवारको पालनपोषण गरेको तीतो यथार्थ पोखे। 'उखु बेचेर पनि समयमै भुक्तानी नपाउँदा ऋणमा डुब्नुपर्ने अवस्था थियो', उनले भने, 'त्यसैकारण मैले धेरै उखु हटाएर अन्य बाली पनि लगाएँ । तर, खोला र जंगल नजिकका खेतमा जंगली जनावर र वर्षाको भलले अन्य बाली पनि राम्रो भएन। अब उखु नै लगाउने निधो गरेँ।' 

मङ्सिर १२ गतेदेखि सञ्चालनमा आएको यस उद्योगले पनि यसवर्ष हालसम्म पाँच लाख दुई हजार क्विन्टल बढी उखु क्रसिङ गरेको उद्योगका प्रशासकीय अधिकृत शिवशंकर महतोले बताए। उनका अनुसार यस उद्योगले यसवर्ष २० लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको छ।

उद्योगले क्रसिङ गरेकोमध्ये २५ दिनको उखुको भुक्तानी गरिसकेको र १५ दिनको बाँकी रहेको उद्योगका प्रशासकीय अधिकृत महतोको भनाइ छ। किसानले ल्याउने उखुमा चिनीको मात्रा कम हुँदा उद्योग संकटमा परेको उनको भनाइ छ। रासस


प्रकाशित : आइतबार, पुस २८ २०८११३:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend