काठमाडौं- कमिसनको चक्करमा लामो समयदेखि विवादमा परेको नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज सी-चेकको जिम्मा चिनियाँ कम्पनीलाई दिइएको छ।
निगम कार्यकारी अध्यक्ष युवराज अधिकारी र नायब महाप्रबन्धक डोलेश्वर कोइरालाले दीपक शर्माको म्याटर ट्रेडिङलाई सी-चेकको जिम्मा दिन प्लट तयार पारेका थिए। तर मूल्यांकन कमिटीले म्याटरलाई दिन असम्भव रहेको ठहर गर्दै प्राविधिक रुपमा नै असफल भएको थियो।
प्राविधिक रुपमा असफल कम्पनीलाई पास गराउन अधिकारी र कोइरालाले सार्वजनिक खरिद अनुगमन कार्यलयका कर्मचारीसमेत लगाउँदै मूल्यांकन कमिटीका सदस्यहरूलाई दबाब दिएका थिए।
उक्त विषय बाहिर आएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत चासो राख्दै पत्र काटेको थियो। अख्तियारले उजुरीका आधारमा विवरण मागेपछि मूल्यांकन कमिटीका सदस्यहरूले म्याटरलगायतका प्राविधिक रुपमा असफल कम्पनीलाई सफल बनाउन नसक्ने जिकिर गरेका थिए।
निगमको आधिकारिक ट्रेड युनियन तथा पेसागत संगठनहरूले समेत उक्त विषयमा गल्ती गर्न सुझाव दिएको थियो। सबैतिरबाट दबाब बढेपछि अन्तत: प्राविधिक रुपमा सफल दुईवटा कम्पनीमध्ये रिवेयर नेपाल प्रालि (एमआरओ चाइना साउथन एयरलाइन्स कम्पनी लिमिडेट शेनयाङ मेन्टेनेस बेस चीन)लाई न्यारोबडी जहाज सी-चेकको जिम्मा दिइएको छ। अहिले कम्पनी नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमोदन गराउँदै सम्झौताको तयारी रहेको छ।
कम्पनीले ८ दिनमा जहाज सी-चेक गरेर दिने प्रतिबद्धता जनाएको छ। प्रतिजहाज सी-चेकलाई ८६ हजार डलरमा गर्नेगरी सम्झौताको तयारी भएको छ।
जहाज सी-चेकका लागि एयर वर्क इन्डिया प्रालिसमेत प्राविधिक रुपमा पास भएको थियो। तीनवटा कम्पनी भने प्राविधिक रुपमा नै अयोग्य भएका थिए। म्याटर, एटीटेक र रिजेस इन्टरनेशनल नेपाल (एमआरओ एएआर इन्डिया) प्राविधिक रुपमा नै असफल भएका थिए। कार्यकारी अध्यक्ष अधिकारीले भने म्याटरलाई ठेक्का दिन ठूलो कसरत गरेका थिए।
निगमले न्यारोबडी जहाज सी-चेक (५सी र ६सी) का लागि कम्पनी छनोट गर्न भन्दै पहिलोपटक २०२४ को अगस्ट ३० मा सूचना प्रकाशित गरेको थियो। उक्त सूचनाअनुसार इन्डिमार कम्पनीले प्रस्ताव पेस गरेको थियो। तर अधिकारीले अक्टोबर १० मा आएर टेन्डरको सयम १५ दिन थप गरिदिएका थिए। उक्त टेन्डरको सबै प्रक्रिया नोभेम्बरमा रद्द गर्दै नोभेम्बर ८ मा पुन: सूचना प्रकाशित गरियो। त्यो बीचमा म्याटर ट्रेडिङले आफ्नो कम्पनीको उद्देश्य पनि परिवर्तन गरायो। त्यसपछि म्याटरले पनि टेन्डर हाल्यो। कम्पनीले कात्तिक १३ गते कम्पनी रजिष्ट्रारमा उद्देश्य परिवर्तन गराएर 'जहाज मर्मतसम्भार' पनि राखेको थियो।
नोभेम्बर ८ मा भएको टेन्डरमा चारवटा कम्पनीले आवेदन दिएका थिए। जसमा भारतीय कम्पनी इन्डिमार, एयरवर्क साथै दुईवटा वाइडबडी सी-चेक गरेको कम्पनी एटिटेक र म्याटर ट्रेडिङ सहभागी भए। मूल्यांकन कमिटीलाई तीनवटालाई अयोग्य ठहर गरे म्याटर ट्रेडिङलाई ठेक्का सुम्पिनेगरी काम गर्न अधिकारी र कोइरालले दबाब दिए। तर तीनवटा कम्पनी प्राविधिक रुपमा सफल थिए।
म्याटर ट्रेडिङको केही पनि विवरण मिलेको थिएन। उसले एयर इन्डिया कम्पनीसँगको सहकार्यका जहाज सी-चेक गर्न भनेर ठेक्कामा सहभागिता जनायो। तर एयर इन्डियाले उसलाई आधिकारिक एजेन्ट भएको प्रमाण पनि दिएको थिएन। यहाँसम्म कि उसले एजेन्ट नै दिन पाउँदैन।
सबै नक्कली विवरण राखेर ठेक्कामा सहभागी भएको कम्पनीलाई टेन्डर दिलाउन अधिकारी र कोइराला लागि परिरहे। एयर इन्डियाले पाउँदै नपाएको सिक्स-सी को अनुमतिको प्राधिकार देखाउँदै म्याटरले फर्जी दाबी गरेको थियो।
मूल्यांकन कमिटीले कार्यकारी अध्यक्ष अधिकारीले भनेअनुसार काम नगर्ने अडान लिएपछि पुन: ठेक्का रद्द गरेर डिसेम्बर १ मा पाँच दिनको समय दिएर सूचना जारी भयो। उक्त सूचनामा पाँचवटा कम्पनीले आवेदन दिए। पुरानो चारवटा र चाइना साउर्थनसमेत ठेक्कामा सहभागी भएको थियो। सोही अनुसार चाइना साउर्थनले ठेक्का पाएको हो।