काठमाडौं- ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत 'मेरी उनीलाई स्वस्थ नारी पहल' अभियान सञ्चालन गर्ने भएको छ।
यही पुस १८ गते बिहीबारदेखि ग्लोबल आईएमई बैंक १९औँ वर्षमा प्रवेश गर्दैछ। यस अवसरमा थालिएको उक्त अभियानअन्तर्गत बैंकले नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सातवटै प्रदेशहरुमा एकदिने निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको हो।
शिविरमा स्त्रीरोग विज्ञहरुले स्त्रीरोगसम्बन्धी विभिन्न सेवाहरु: महिलाको स्वास्थ्य परिक्षण, पाठेघरको क्यान्सर (भीआईए) परीक्षण, गर्भाशय प्रोल्याप्स केसको उपचार, औषधी वितरणलगायतका सेवाहरु निःशुल्करुपमा उपलब्ध हुनेछन्। प्रत्येक शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका र पाठेघरको क्यान्सरको गम्भीर बिरामी पहिचान गर्नेछ, जसलाई स्वस्थ नारी पहल कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गरिनेछ।
बैंकले सबै प्रदेशहरुमा यही पुस महिनामा उक्त शिविरहरु सञ्चालन गर्ने जनाएको छ। जसअन्तर्गत बैंकले बागमती प्रदेशमा हेटौँडा उपमहानगरपालिका-११ मकवानपुरस्थित सरस्वती टोल हलमा पुस १८ गते बिहीबार स्वास्थ्य शिविर सञ्चालन हुनेछ।
यस्तै मधेश प्रदेशमा कलौया उपमहानगरपालिका-१, बारा स्थित राजदेवी मन्दिर हल, गण्डकी प्रदेशमा मोदी गाँउपालिका वडा नं. १ पर्वतस्थित भुक स्वास्थ्य चौकीमा पुस २० गते शनिबार, कोशी प्रदेशमा विराटनगर महानगरपालिका-१२, मोरङस्थित आधारभूत स्वास्थ्य चौकी, बर्खी टोलमा पुस २१ गते सोमबार, लुम्बिनी प्रदेशमा शैनामैना नगरपालिका-११, रुपन्देहीस्थित परिवार नियोजन संघको क्लिनिक, सालझन्डीमा पुस २३ गते बुधबार हुनेछ।
कर्णाली प्रदेशमा विरेन्द्रनगर नगरपालिका-२ सुर्खेतस्थित दौलाटपुर स्वास्थ्य चौकीमा पुस २६ गते शनिबार र सुदूरपश्चिम प्रदेशमा गोदावरी नगरपालिका-८ कैलालीस्थित स्याउले आधारभूत स्वास्थ्य चौकीमा पुस २८ गते सोमबार निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी रहेको छ।
स्वास्थ्य शिविर ग्रामीण तथा अर्धसहरी क्षेत्रका स्वास्थ्य सेवाको पहुँच नभएका महिलाका निम्ति प्रभावकारी हुने र उनीहरुमा सकारात्मक प्रभाव पर्ने विश्वास बैंकले लिएको छ। ग्लोबल आईएमई बैंकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा यस्ता स्वास्थ्य शिविरहरुको आयोजना गरी ग्रामीण भेगका महिला तथा आम नागरिकहरुलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको जनाएको छ।
ग्लोबल आईएमई बैंकले मुलुकको ७७ वटै जिल्लामा रहेका ३ सय ५४ शाखा कार्यालय, ३ सय ८४ एटीएम, २ सय ३७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार १ सयभन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको जनाएको छ।
बैंकले विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ। बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको जनाएको छ।