बुधबार, माघ २३ गते २०८१    
बुधबार, माघ २३ २०८१
images
images

किसानलाई कुनै मौसममा हुँदैन आराम, जाडो बढिरहँदा खेतबारीमै व्यस्त छन् किसान

images
शनिबार, पुस १३ २०८१
images
images
किसानलाई कुनै मौसममा हुँदैन आराम, जाडो बढिरहँदा खेतबारीमै व्यस्त छन् किसान
फाइल तस्बिर

अहिले किसानलाई सबैभन्दा बढी धपेडी खुट्टी उखु भएको खेत खाली गरेर बाली लगाउनपर्ने काममा छ।

images
images

महोत्तरी- करिब मध्य पुसको चिसो सिरेटोले मुटु कमाउने जाडो छ। यसै बेला महोत्तरीका किसानलाई काम भ्याइनभ्याइ छ। चिनी मिल (उद्योग) सञ्चालनमा आएसँगै उखु काट्ने, बयलगाडा र ट्याक्टरमा लोड गरेर मिल गेट पुर्‍याउने चटारो छ।

images
images
images

यस्तै खुट्टी उखु (दोस्रो वर्षको बाली) काटेर गहुँ र अन्य हिउँदे बाली लगाउने समय घर्कँदै छ। यसै बेला बैशाखी मौसमी तरकारी रोप्ने र तयार तरकारी पालोमा टिपेर बजार पुर्‍याउने धपेडी छ। एकपछि अर्को कामले पुसको जाडो भन्न नपाइएको किसान बताउँछन्।

images
images

अहिले किसानलाई सबैभन्दा बढी धपेडी खुट्टी उखु भएको खेत खाली गरेर बाली लगाउन पर्ने काममा छ। 'भनेको बेला उखु कटानको चलान चिनी मिलले दिँदैन, खेत खाली गरेर खनजोत गरी समयभित्र बाली नलगाए छ महिना खेत बाँझै बस्छ', बर्दिबास-९ पशुपतिनगरका किसान रामविनोद महतो भन्छन्, 'सबैभन्दा बितेको खुट्टी उखुको खेतमा गहुँ छर्नु छ।'

images
images
images

ढिलोमा पुसको तेस्रो साताभित्र गहुँ छरी सक्नुपर्ने हुँदा यसले छोपेको महतोको भनाइ छ। यसैगरी बैशाखी मौसमी तरकारी पनि पुसभरिमा रोपी सक्नुपर्ने उनले बताए।

हिउँदे तरकारी पालोमा टिपेर बजार पुर्‍याउन एक दिन ढिलो हुँदा बुढिने, कक्रिने हुन्छ। मुखको बाली जाडो भनेर हात बाँधे बेहात हुने भङ्गाहा-४ रामनगरका किसान शुभनारायण ठाकुर बताउँछन्। 'हामीले जाडो भगाउने नै खेतीका काममा दलिएर हो', ठाकुर भन्छन्।

छिप्पिँदो जाडो र खेतीको धमाधमकै बेला अब तिलासक्रायत (माघेसङ्क्रान्ति) पर्व नजिकिँदा घरका गृहिणी त्यसको मेसोमा लाग्न थालेका छन्। यस पर्वका परिकार तिल, चिउरा, जुनेलो र मुरीका लाई (सख्खरमा मुछेर बनाइने लडडु) हुँदा गृहिणी मुरीको धान छुट्याउने, उसिन्ने र चामल बनाउने तयारीमा लागेका छन्। यसैगरी गृहिणीका लागि पर्वका तिला चुट्ने, निफन्ने, फल्ने (पानीमा भिजाएर कत्ला फाल्ने) र घाममा सुकाउने काम सँगसँगै  छ।

पर्वमा चिउरा, मुरी र तिलका ‘लाई’ (लडडु) बनाउन चाहिने सख्खरको जोहोका लागि कतिपय किसान आफै धमाधम उखु पेलेर सख्खर पकाउन थालेका छन्। आफ्नो घरको पर्व सामग्रीको जोहो पनि हुने र यी सामग्रीले अहिले राम्रो भाउ पाउने भएपछि किसान जाडो नभनी काममा जुटेका हुन्। तिलासक्रायत पर्व किसानका लागि आर्जनको अवसर पनि भएको हुँदा यस पर्वका आवश्यक उत्पादित फसलले राम्रो भाउ पाउँछन्। पर्वमा तिला, सख्खर, सखरखण्ड (सुठुनी), तरूल, मास, पिडालुुसहितका उत्पादित फसल प्रयोगमा आउनेहुँदा यस्ता फसल लगाएका किसान यी बस्तु बेचेर रकम आर्जनको ताकमा छन्।

पर्व लक्षित सख्खर बनाउने र तिला चुट्ने निफन्ने कामले छोपे पनि सखरखण्ड, पिडालु र तरूलसहितका कन्दमूल खन्ने र बजार लाने कामभने पुस २५ पछि नै गरिने किसान बताउँछन्। जति जाडो छिप्पिदै जान्छ त्यति कामले थिच्दै जानेहुँदा किसानले लगलगी मुटु कमाउने जाडोमा पनि आराम नपाउने भङ्गाहा-४ पलारका ८० वर्षीय चौठी बाँतर बताउँछन्। हिउँदे बाली समेट्ने र लगाउने दुवै ताकको बेला परेको हुँदा अहिले कामैकामको चटारोभित्र आफूहरू रहेको बाँतरको भनाइ छ।

'चिसो सिरेटो बहेको बह्यै छ, बिहान हुस्सुले डम्म ढाक्छ, जाडो त छ नि! तर खेतीपातीका कामले समय थामी दिँदैन, बर्दिबास-७ मनहरिपुरका ७० वर्षीय किसान विन्देश्वर यादव भन्छन्, 'अहिले जाडो मानेर काममा नगए जहान परिवारको मुखमा माड लाग्दैन।'

अहिले उखु पेलेर मिठ्ठा (सख्खर) बनाउन ठूलो भठ्ठी चुलोमा खुदो उमाली रहेका यादवले उखु फसलबाट वर्षभरिको खाने अन्नको जोहो गर्नुपर्दा अहिले मिठ्ठाले राम्रो भाउ पाउने बेला जाडो नभनी काममा लाग्नु परेको बताए।

'वर्षभरि केही महिनाको अन्तरमा फरकफरक मौसम हुन्छन्, कहिले जाडो, कहिले गर्मी र कहिले वर्षा, सबै मौसममा खेतीका आआफ्ना तुक (समय) हुन्छन्', बर्दिबास-६ प्रेमनगरका ७५ वर्षीय किसान रामउद्गार महतो भन्छन्, 'किसानका लागि कुनै मौसम आरामका हुँदैनन्, मौसमअनुसारका खेतीमा राम्रो उत्पादन लिनु हाम्रो सफलता हुन्छ।'

त्यसैले मध्य पुसताकाको लगलगी मुटु कमाउने जाडोमा पनि किसान खेतीका कामको तुकमै जोतिनुपरेको महतो बताउँछन्। रासस


प्रकाशित : शनिबार, पुस १३ २०८११२:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend