बिहीबार , माघ १७ गते २०८१    
बिहीबार , माघ १७ २०८१
images
images

दक्षिण बागलुङलाई बदलेको करिडोर

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, पुस १२ २०८१
images
images
दक्षिण बागलुङलाई बदलेको करिडोर

कालीगण्डकी करिडोरले बुटवललाई यति छोटो दुरीमा पुर्‍याएपछि करिडोरको यात्रा गर्नेहरु बढेका छन्। अहिले त धेरै सजिलो भैसक्यो, बाटो सबै कालोपत्रे भयो भने बागलुङको जैमिनी, बलेवा र बरेङबासीको दैनिकी बुटवल र पाल्पातर्फ नजिक बन्नेछ।

images
images

बागलुङ- जैमिनी नगरपालिका-१ की सुजता थापा बुटवल जाँदा कुश्मीसेराबाट बस चढ्न पाइन्। सदरमुकामबाट पोखरा, स्याङजा हुँदै जाने सवारी भन्दा कालीगण्डकी करिडोरबाट पाल्पा हुँदै बुटवल जाँदा दूरी एक सय किमी छोटो भयो। यसले खर्च पनि जोगायो। 

images
images
images

करिडोर खुल्नुअघि त बुटवल जानुपरे सदरमुकाम आएर एक रात बस्नुपर्ने बाध्यता थियो। सदरमुकाम आउन चारसय रुपैयाँ भाडा तिरेपछि बागलुङबाट बुटवल जान थप एक हजार तीन सय ५० रुपैयाँ भाडा लाग्छ। बिहान छुट्ने बसले बेलुकी ६ बजे मात्रै पर्‍याउँछ। करिडोरबाट यात्रा गर्दा भाडा र समय कम खर्च भएको थापाले बताइन्।

images

करिडोर निर्माणाधिन नै छ। तर नियमित बस सञ्चालनमा आउन थालेका छन्। जैमिनीको बेलबगरदेखि त एक सय ५० किमी यात्रा गरेर मात्र पोखरा पुगिने बाध्यता अहिले हटेको छ। बरु त्यति दुरी पार गर्दा बुटवल पुग्न सकिन्छ। सहजै बुटवल पुग्न सकेपछि उनीहरुले उपचारदेखि व्यवसाय पनि गर्न पाएका छन्। बुटवलमा किनमेल सस्तो पर्ने गरेको जैमिनी-७ का प्रकाश ढुङ्गानाले बताए।

images
images
images

साथै बसाइ सरेर गएकाहरुपनि बुटवल, भैरहवा र कपिलबस्तुमा भेटिन्छन्। करिडोरको यात्रा गर्ने अधिकांशले आफन्तको नजिक पुग्नका लागि पनि यो बाटो तय गर्न थालेका छन्। 

कालीगण्डकी करिडोरले बुटवललाई यति छोटो दुरीमा पुर्‍याएपछि करिडोरको यात्रा गर्नेहरु बढेका छन्। अहिले त धेरै सजिलो भैसक्यो, बाटो सबै कालोपत्रे भयो भने बागलुङको जैमिनी, बलेवा र बरेङबासीको दैनिकी बुटवल र पाल्पातर्फ नजिक बन्नेछ। 

सडक निर्माणाधिन भएकोले धुलो भने बढी छ। त्रिदेशीय मार्गका रुपमा कालीगण्डकी करिडोर स्थापित भैसकेकाले भारतको सिमाना पुगेर व्यपार गर्न अब छोटो बाटो तय भैसकेको जैमिनी नगरपालिका १ की पुष्पा आचार्यले बताइन्।

करिडोरले बागलुङको जैमिनी मात्र हैन गुल्मीको कालीगण्डकी गाउँपालिका, पर्वतको बिहादी  र फलेवास नगरपालिकाबासीका लागि पनि सहज बनाएको छ। 'बुटवल पढ्न गएका छोरीहरु बिहानको खाना खानै आइपुग्छन्', पर्वतको बिहादीका हरि न्यौपानेले भने, 'करिडोरले सदरमुकाम र बुटवल उस्तै बनाएको छ।' 

करिडोरले ४१७ किमीमा चीन र भारत जोड्ने त्रिदेशीय मार्ग निर्माण गरेको छ। करिडोरअन्र्तगत गुल्मी र बागलुङ खण्डको ट्रयाक खोल्ने जिम्मा नेपाली सेनाले पाएको थियो। अहिले १० किमी सडकमा कालोपत्रेका लागि ठेक्का लागेको छ। 

जैमिनी नगरपालिकाको वडा नंं १४ नारायणस्थानदेखि गुल्मीको हर्मीचौर ४५ किमी सडक कालीका कन्स्ट्रक्सनले निर्माण गरिरहेको छ। आगामी २०८२ को मंसिर मसान्तसम्म सकिनुपर्ने कामको अधिकांश खण्ड कालोपत्रेको तयारी छ। 

कतिपय खण्ड कालोपत्रे भैसकेको छ करिडोर आयोजना कार्यालय पाल्पाका इन्जिनियर सुरेन्द्र गौतमले बताए। अहिलेकै गतिमा काम भए समय अघिनै सकिने उनले बताए। तीन अर्ब ३३ करोडमा लगाइएको ठेक्काको खण्डमा नाली, पर्खाल, पुल र कजवे बनेका छन्। बलेवा खण्डमा काम भएको छ भने रिडी खण्डमा कालोपत्रे भैसकेको छ। 

पाँच वर्ष अघिसम्म सडक संजालले जोड्नै कठिन जैदी, छिस्ती, अजेर्वालगायतका बासिन्दा अहिले सहजै यात्रा गर्न पाएका छन्। सडक खुलेपछि सदरमुकाम र पाल्पा, बुटवल जाने सवारी पनि सहजै पाउन थालिएको जैमिनी ८ का ओमकार थापाले बताए। 

'अहिले त बाइक चढेर सदरमुकाम भन्दा बुटवल पहिला पुग्छु', थापाले भने, 'सहज आउजाउ भएपछि पाल्पा र बुटवल झरेर पढ्नेहरुपनि बढेका छन्।' समयमा बुटवल पुग्दा पूर्वपश्चिम जानुपर्ने यात्रीले पनि करिडोरको यात्रा गर्न खोजेका छन्। 

गुल्मीको कालीगण्डकी गाउँपालिकाका सुमित्रा पाण्डेले ठूलो परिवर्तन आएको बताए। 'घरमै गाडि आउला भन्ने सोचेका थिएनौं, घर छेवैमा सडक आएपछि बारीको तरकारी बिहानै बुटवल पठाउन पाएका छौं', उनले भने। बागलुङको बुर्तिवाङतर्फका सवारी पनि रिडीदेखि पाल्पाको अर्गली, तानसेन हुँदै बुटवल जाने गर्छन्। यसरी यात्रा गर्दा सामान खरिदका लागि बुटवल जाने र उपचारका लागि पाल्पा जानेलाई सहज भएको हो। पश्चिम बागलुङ बासीले पनि रिडीमा करिडोर भेट्छन्। 

विसं २०४४ सालमा यो सडक ट्रयाकको परिकल्पना गरेपनि २०७१ पछि मात्रै करिडोरको ट्रयाक खोल्न सुरु भएको हो। करिडोर बनेकोले हर्मीचौरदेखि शान्तिपुर र बरेङतर्फ जाने सडक पनि बनेका छन्। नेपाली सेनाले हर्मीचौरदेखि रुद्रवेणीको बिकल्पमा स्याङजातर्फ पनि सडक बनाइदिएको छ। 

'करिडोरको बाटो हुँदै मिर्मी पुग्न सहज रहेछ, त्यसैले व्यावसायिक भ्रमण पनि गरियो', होटल सञ्चालक तालबहादुर कुँवरले भने, 'छोटो बाटो बनेकाले अब त सहज भयो।' 

करिडोरमा नेपाली सेनाले विभिन्न स्थनमा बेलीब्रिज बनाएको छ । ती पुल बिस्थापित गर्न करिडोर आयोजनाले विभिन्न स्थानमा ठेक्का समेत लगाएको छ। रासस


प्रकाशित : शुक्रबार, पुस १२ २०८११३:१३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend