मोरङ- मोरङको पथरी शनिश्चरे-१ का भीमसेनी सुब्बाले पाँच वर्ष पहिले सगरमाथा कृषि फार्म सञ्चालन गरी सावरसुपखेती सुरु गरेका हुन्। नेपाललाई भारतसँग जोड्ने पूर्व-पश्चिम रेलमार्ग फार्मअन्तर्गतको जग्गामा परेपछि अहिले उनमा खेती के होला भन्नेबारे अन्योलता छाएको छ।
स्वदेशमा कृषि कर्ममार्फत राज्यलाई सहयोग गर्ने उद्देश्य बोकेर यहाँ आएका पूर्वभारतीय सेना सुब्बा रेल्वेको ट्र्याकले फार्ममा परेपछि खेतीको विकल्पका बारेमा दोधारमा छन्। आफूले फार्म सञ्चालन गर्दै आएको एक बिगाह जमिनमा रेलमार्ग छिरेपछि निराशा र दोधार छाएको उनले बताए।
रेलमार्ग फार्ममा परेपछि सबै बैंकिङ प्रक्रिया बन्द भएको बताउँदै पाँच वर्ष पहिले बैंकबाट ऋण लिएर १० कट्ठा जग्गामा फार्म सञ्चालन गरेको सुब्बाले जानकारी दिए।
'अहिले फार्मअन्तर्गको जमिन रेलमार्ग परेपछि फार्म रुग्ण भएको छ। अहिले पूर्व काँकडभिट्टाबाट पश्चिम कञ्चनपुरसम्म रेलमार्गको काम भएको छैन, जग्गा फुकुवा पनि भएको छैन', उनले भने, 'यसले गर्दा खेतीको विकल्प वा व्यवस्थापन कसरी गर्ने अन्योलता छाएको छ।'
सुब्बाले ६ वर्षअघि कुखुरा, माछा, सुँगुर, काजु, फलफूल र अग्र्यानिक सागसब्जी उत्पादन सुरु गरेका थिए। अठार वर्षको कलिलो उमेरमा भारतीय सेनामा भर्ती भएका सुब्बालाई १८ वर्षपछि स्वदेशमा कृषि कर्म गर्ने रहर लागेपछि स्वदेश फर्किए। भारतीय सेनामा हुँदा भएको आम्दानी र सीपबाट आफूलाई कृषिमा लाग्न प्रेरणा मिलेको उनले बताए।
'भारतीय सेनामा हुँदा शान्तिसेना जाँदा देखेको सावर सुपको फल उत्पादन गर्न धेरै संघर्ष गर्नुपर्यो। आफन्तको सहयोगमा अमेरिकाबाट बीउ मगाएर सुरु खेती सुरु गरेको थिएँ। अहिले बैंकिङ प्रक्रिया बन्द हुनु, रेलमार्गका कारण जग्गा फुकुवा नहुनुलगायत कारणले ऋणको भार मात्र थपिएको छ', सुब्बाले भने।
अमेरिकाबाट एक हजार दुई सय डलरमा बीउ मगाएको जनाउँदै सुब्बाले सुरुमा ४५ वटा बिरुवा उमारेको बताए। दश कट्ठा जमिनमा सुरु गरेको खेती अहिले एक बिगाहमा फैलिएको उनले जानकारी दिए। सावरसुपको फल प्रतिकिलो दुई हजार दुई सयसम्ममा नेपाली बजारमा बिक्री हुँदै आएको उनले उल्लेख गरे।
व्यावसायिक खेती गर्ने उद्देश्यले अमेरिकाबाट दाना बीउ ल्याई लगाएको बिरुवाले उत्पादन दिन सुरु गरेको सुब्बाले जानकारी दिए। फार्ममा रेल्वेको ट्र्याक परेपछि आफ्नो सपना अधुरै रहने हो कि भन्ने चिन्ताले सताउन थालेको उनको भनाइ छ। उनले भने, 'आफ्नो उर्भर जीवन भारतीय सेनामा बित्यो, सबै सम्पत्ति फार्ममा छ । बैंकले ऋण लिने प्रक्रिया बन्द गरेपछि अहिले समस्यामा छु।'
भारतीय सेनामा रहँदा अफ्रिका पुगेका उनले त्यहाँ देखेर सावरसुपको बिरुवालाई अहिले आफ्नो बारीमा हुर्काइरहेको बताए। यसको पात र फल खानाले विभिन्न रोग प्रतिरोधात्मक क्षमता बढ्ने गर्दछ।
बीउबाट ४५ बिरुवा उमारेका सुब्बाले अहिले आधुनिक प्रविधिमार्फत एक सय ५० बिरुवा बनाएको जानकारी दिए। पाँच प्रकारका विभिन्न स्वाद पाइने सावरसुपको फलसँगै पात पनि चियामा प्रयोग हुने उनले बताए। बिरुवालाई ‘एयर ल्यायरिङ’ र ‘ग्राफ्टिङ’ प्रविधि अपनाएर बिरुवा उत्पादन गरेको बताउँदै उनले बिरुवा बिक्री भने नगरेको उल्लेख गरे।
'आफ्नै बारीमा बिरुवा हुर्काएर अझ व्यावसायिक बन्ने प्रयासमा सुब्बा लाग्नुभएको छ', पथरी शनिश्चरे-१ का वडाध्यक्ष नैना राईले बताइन्।
नयाँ खेती सुरु गरेकाले स्थानीय तथा संघीय सरकारसँग खेती व्यवस्थापनको विकल्पसहित आर्थिक, प्राविधिक सहयोग गर्न सुब्बाले अनुरोध गरे।
बङ्गुर र कुखुराबाट उत्पादित मलले साग तथा अन्य तरकारी उत्पादन गर्दै आएको सुब्बाको भनाइ छ। 'नेपाली बजारमा यो नयाँ किसिमको फल भएकाले यसलाई तराईका क्षेत्रमा विस्तार गर्नसके, यसको थप अध्ययन गरी महत्वबारे सबैलाई जानकारी दिनसके यसप्रति अन्य कृषको पनि आकर्षण बढ्ने थियो', उनले भने, 'यसका लागि कृषि ज्ञान केन्द्र, स्थानीय तथा संघीय सरकार, अन्य सरोकार भएका निकायले सहयोग र समन्वय गर्नुपर्छ।' रासस