काठमाडाैं- सांसदहरुले सुपारीखेती प्रवर्द्धनमार्फत निकासा बढाउन आवश्यक रहेकामा जोड दिएका छन्।
आज राष्ट्रियसभाअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिद्वारा आयोजित नेपालमा उत्पादित सुपारी निर्यात व्यवस्थापनसम्बन्धी छलफलका क्रममा उनीहरुले सुपारी निकासा बढाउन उत्पादन पनि वृद्धि हुनुपर्नेमा जोड दिएका हुन्।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गुट्काबाट १० अर्ब रूपैयाँ राजस्व संकलन भएको उल्लेख गर्दै सुपारीबाट पनि राजस्व बढाउनसक्ने धारणा राखे। 'चालु आर्थिक वर्षमा पनि सुपारी प्रशोधनका लागि झापामा तीन करोड रूपैयाँ बजेट विनियोजन गरेका छौँ। अहिले सुपारी तेस्रो मुलुकबाट आयात भइरहेको छ,' उनले भने, 'नेपालमा उत्पादित सुपारीलाई आन्तरिक खपत बढाउनुपर्छ भनेका छौँ।'
केराउ र मरिच आयात अनुमति नदिए पनि आयात भइरहेको उनले दाबी गरे। 'मरिच र केराउ हामी सबैको भान्सामा प्रयोग हुन्छ तर वैधानिक बाटोबाट आइरहेको छैन,' मन्त्री भण्डारीले भने, 'अव स्वदेशमा नै यी खाद्य वस्तुको उत्पादन बढाउन सकिन्छ।'
समिति सभापति कमला पन्तले आफ्नो उत्पादन आफैले खपत गर्नुपर्ने र खपत हुन नसकेमा निर्यातका लागि पहल गर्नुपर्नेमा जोड दिएकी छिन्। 'किसानले उत्पादन गरेका वस्तुको सहज बजारीकरण गर्नुपर्छ। आन्तरिक खपत भए त्यसैमा प्रवर्द्धन गर्नुपर्छ,' उनले भनिन्।
सांसद बामदेव गौतमले चोरी निकासी रोक्नका लागि नेपालले खुला सिमाना बन्द गर्नुपर्ने र भिसा प्रस्ताव गर्नुपर्ने बताएका छन्। सांसद उर्मिला अर्यालले पनि सुपारी निकासा हुनुपर्नेमा जोड दिइन्।
सांसद विष्णुबहादुर विश्वकर्माले सुपारीकै विषयमा पटक-पटक छलफल गर्नु उपयुक्त नरहेको भन्दै सुपारीको डिएन परीक्षणका लागि ल्याब स्थापना गर्न आवश्यक रहेको बताएका छन्। उनले सुपारी निर्यातबाट मुलुकको राजस्व बढाउन सकिने धारणा राखे।
सांसद भवनबहादुर सुनुवारले कृषि र उद्योग मन्त्रालयको समन्वयमा सुपारी निर्यातको सम्भावना पहिल्याउन आवश्यक रहेको बताएका छन्। सांसद डा अञ्जान शाक्यले सुपारीको डीएनए टेष्ट गर्न सकिने भन्दै कहिले गर्ने भन्ने समय तोक्नुपर्ने बताएका छन्। 'नेपालको उत्पादनलाई जोड दिने हो भने १५ जिल्लामा सुपारी उत्पादनको सम्भावना छ। गणस्तर उत्पादन बढाउन सकेमा निर्यात सम्भावना छ', उनले भने।
सांसद झक्कुप्रसाद सुवेदीले सुपारी निर्यातको विषयमा विस्तृत रुपमा छलफल आवश्यक भएको बताए। 'एउटै विषयमा छलफल धेरै भयो। पटक-पटक छलफल गरिरहनुभन्दा गहन रुपमा छलफल गरेर टुंगोमा पुग्नुपर्छ,' उनले भने, 'डीएनए परीक्षण नगरिकन सुपारी निकासा मिल्दैन भने सोअनुसार निर्णय टुंगोमा पुर्याउनुपर्छ।'
सांसद सावित्री मल्लले सुपारी उत्पादन चारवटा जिल्लामा मात्रै हुने गरेको उल्लेख गर्दै अन्य १० जिल्लामा सुपारी उत्पादनलाई प्रथामिकता दिन आवश्यक भएको बताएकी छिन्।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले तेस्रो मुलुकमा सुपारी निर्यात बढाउनका लागि डीएनए टेष्ट र गुणस्तर प्रमाणीकरण गर्न आवश्यक रहेको बताएका छन्। रासस