काठमाडौं- आजभन्दा आठ वर्ष पहिले नेपालका टेलिकम कम्पनीहरू (मुख्यत: नेपाल टेलिकम र एनसेल) ले ९७ अर्ब आम्दानी गर्थे। कुल आम्दानीको ३० प्रतिशत नाफा पनि गरेका थिए। ३० प्रतिशत आम्दानीबाट बर्सेनि १८ अर्ब पुँजीगत खर्च गर्थे। तर आठ वर्षपछि अवस्था धेरै उल्टिएको छ।
आम्दानी ९७ अर्बबाट घटेर ६८ अर्बमा खुम्चिएको मात्र होइन नाफा ३० प्रतिशतबाट ७ प्रतिशतमा झरेको छ। नाफाभन्दा धेरै लगानी गर्नैपर्ने अवस्थामा कम्पनीहरू पुगेका छन्। अर्थात् आजको मितिमा टेलिकम कम्पनीले गुणस्तरीय सेवालाई निरन्तरता दिनका लागि पनि न्यूनतम लगानी गर्नैपर्छ जुन नाफाभन्दा धेरै हुन आउँछ।
अबको पाँच वर्षमा अवस्था योभन्दा भयानक हुने चेतावनी विज्ञहरूले दिएका छन्। यदि सरकारले नीतिगत सुधारको जोखिम नलिने र अहिलेकै सुविधाजनक अवस्थाकै निरन्तरता गर्ने हो भने पाँच वर्षमा टेलिकम कम्पनी संकटमा पर्ने निश्चित रहेको प्रक्षेपण गरेका छन्।
पाँच वर्षपछि टेलिकम क्षेत्रको आम्दानी ५६ अर्बमा सीमित हुने र कम्पनीहरू नोक्सानीमा जानेछन्। नोक्सानीमा गएका कम्पनीले सेवालाई निरन्तरता दिनका लागि न्यूनतम ६ अर्ब लगानी गर्नैपर्ने अवस्था हुनेछ।
भर्खर फोरजी सेवा देशव्यापी भएको देशमा फाइभजी ल्याउनुपर्ने दबाब रहेको छ। डिजिटल पहुँच विस्तारका लागि पनि नेटवर्कमा न्यूनतम लगानी नै गर्न नसक्ने अवस्थामा कम्पनीहरू पुग्ने देखिएका छन्।
आजभन्दा दशकअघि नेपालको मोबाइल क्षेत्रले सुविधाजनक आम्दानीको उकालो यात्राको मजा लिएको थियो। नेपालीहरू विदेश गएका थिए र नेपालमा स्मार्टफोन र मोबाइल इन्टरनेटको विस्तार धेरै थिएन। त्यो समय यस्तो थियो कि नेपालमा पनि धेरैजसो भ्वाइस कल हुन्थ्यो र विदेशबाट पनि नेपालीले कल गर्दा नेपालका अपरेटरले राम्रो आम्दानी गर्थे। समयक्रमसँगै त्यो आम्दानी घट्यो आन्तरिक र अन्तर्राष्ट्रिय दुबै भ्वाइसकल एकसाथ घट्यो।
एकआपसमा सञ्चार गर्ने इन्टरनेट एप्लिकेसनको विकास र नेपालमा स्मार्टफोन र इन्टरनेटको विस्तार बढेपछि धेरैले भ्वाइस कलको साटो म्यासनेन्जर, भाइबर, ह्वाट्सएप रोज्न थाले। यसले गर्दा भ्वाइसकलमा निर्भर रहेका टेलिकमको व्यापारमा धक्का लाग्यो।
विश्व बजारमा भ्वाइसकलको डाउनफलसँगै डेटाको खपतले रिकभर गरेको छ। तर नेपालमा उल्टो भएको छ। डेटाको बजार इन्टरनेट सेवाप्रदसयकले लिने तर टेलिकमले डेटाको खपत बढाउन सकेनन्।
अहिले पनि नेपालमा प्रतिग्राहक ४ जीबी/महिना डेटा खपत रहेको देखिएको छ। यो दक्षिण एसियाकै न्यूनतममा पर्छ। बंगलादेशको १३ जीबी, भारतको २० र पाकिस्तानको ९ जीबी रहेको छ। डेटाको खपत अपेक्षित नबढेपछि भ्वाइसकलबाट भएको क्षति टेलिकम कम्पनीले पूर्ति गर्न सकेका छैनन्।
विश्वको औसत डेटा खपत अहिले २० जीबी प्रतिमहिना पुगेको छ यसको तुलनामा नेपालको भने अहिलेसम्म सन् २०१७ कै औसत खपतमै रहेको छ।
सञ्चारको माध्यम इन्टरनेट एप्लिकेसन नेपालमा मात्र बनेको होइन। संसारका सयौँ देशमा यस्तै समस्या रहेको छ। तर त्यहाँ यसरी कम्पनीहरू संकटमै फसेका छैनन्।
भारतमै पनि टेलिकम कम्पनीहरूले आम्दानीमा बर्सेनि सुधार गर्दै आएका छन्। भ्वाइस कलको व्यापार घटेपनि उनीहरूले डेटाबाट पूर्ति गरेका छन्। तर नेपालको नियामकीय अवस्था, शुल्क र करका कारण टेलिकम कम्पनीले यो लाभ लिन सकिरहेका छैनन्।
एनसेलका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभले नेपालको टेलिकम क्षेत्र संकटोन्मुख देखिएको बताएका छन्। गत साता काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिलेकै व्यवस्थाको निरन्तरता भए दूरसञ्चारजस्तो रणनीतिक क्षेत्रको एउटा उद्योग संकटमा फस्ने निश्चित भएको बताए।
पछिल्लो समयको निरन्तरको डाउनफलले निरन्तरता पाएमा अब नेपालमा अहिलेकै अपरेटरहरूले गम्भीर आर्थिक संकटको सामना गर्ने अवस्था आउने उनले बताएका छन्।
चौथो पुस्ताको औद्योगिक क्रान्तिको उदय भइसकेको छ। यसमा इन्टरनेट, एआई, रोबोटिक्सको उदय भइसकेको छ। अर्थतन्त्रमात्र होइन जीवनशैलीकै अंग बन्ने निश्चित छ। यस्तो प्रविधिका लागि उन्नत इन्टरनेट पूर्वाधार आवश्यक हुन्छ। यो सबैका लागि ताररहित कनेक्सन दिने दूरसञ्चार नेटवर्कलाई आईएसपीले विस्थापित गर्नसक्ने सम्भावना अहिलेसम्म देखिएको छैन।