काठमाडौं- कोरोना महामारीपछि २०२३ विश्वभर पर्यटकको आवागमन लगभग पुरानै लयमा फर्किएको छ। २०२३ विश्वभर १ अर्ब ३० करोड मानिसले पर्यटकका रुपमा भ्रमण गरेका छन्।
पर्यटकको संख्या बढेसँगै उनीहरुले गर्ने खर्चसमेत बढेको छ। २०२३ मा १ अर्ब ३० करोड पर्यटकले करिब १७ खर्ब अमेरिकी डलर खर्च गरेको हुन्।
चीनले अन्तर्राष्ट्रिय यात्रा गरेर आउने र चीनमा आउनेहरुलाई क्वारेन्टिन हटाएपछि चिनियाँ पर्यटकको संख्यामा बढोत्तरी आएको हो। २०२३ मा चिनियाँ पर्यटकको संख्या बढेकाले नै विश्वभर घुम्ने पर्यटकको संख्या १ अर्ब ३० करोड पुगेको छ। २०२४ मा पनि पर्यटको संख्या बढ्ने अनुमान गरिएको छ।
चीनको पर्यटनमा पनि उल्लेख्य वृद्धि भइरहेको यूएन टुरिजमले बताएको छ। चीनले फ्रान्स, जर्मनी, इटाली, नेदरल्यान्ड, स्पेन र मलेसियाका नागरिकलाई भिसा फ्री यात्राको अनुमति दिँदै आएकाले चीनमा पर्यटन फस्टाउँदै गएको हो।
२०२३ मा अन्तर्राष्ट्रिय आगमनको तथ्यांकलाई आधार मानेर युरोमोनिटरिङको तथ्यांकअनुसार भिजुअल क्यापिटाालिस्टले लेखेको छ। गत वर्ष सबैभन्दा धेरै पर्यटक पुग्ने विश्वको १० सहरमा टर्कीका दुई सहर परेका छन्।
टर्कीको स्तानबुल र एन्टालियाले धेरै पर्यटक आकर्षित गर्नुको मुख्यकारणमा युरोपको प्रवेशद्वार, चर्चित आकर्षक समुद्रतट र विलासी रिसोर्ट हुन्।
सबैभन्दा धेरै पर्यटक पुग्ने देशको पहिलो नम्बरमा भने फ्रान्स रहेको छ। २०२३ मा फ्रान्समा १० करोड पर्यटक पुगेका थिए। धेरै पर्यटक पुग्ने देशको सूचीमा भने टर्की पाँचौँ स्थानमा रहेको छ।
यी हुन् धेरै पर्यटक पुग्ने विश्वका १० प्रमुख सहर
१. स्तानबुल- टर्कीको प्रमुख सहर स्तानबुलमा २०२३ मा २ करोड २० लाख पर्यटक पुगेका छन्। स्तानबुलमा पर्यटक आगमन २०२२ को तुलनामा २०२३ मा २६ प्रतिशतले वृद्धि भएको हो।
२. लन्डन- बेलायतको राजधानी पनि हो लन्डन। लन्डन सहरमा २०२३ मा १ करोड ८८ लाख जनाले भ्रमण गरेका थिए। अघिल्लो वर्षको तुलनामा २०२३ मा पर्यटक आगमन १७ प्रतिशतले बढेको थियो।
३. दुबई- मध्यपूर्वी एसियाली मुलुक संयुक्त अरब इमिरेट्सको सहर दुबईमा गत वर्ष १ करोड ६८ लाख जनाले भ्रमण गरेका थिए। २०२३ मा दुबईको पर्यटन आगमन सो वर्ष १८ प्रतितले बढेको थियो।
४. एन्टालिया- एन्टालिया पनि टर्कीकै अर्को पर्यटक धेरै जाने सहरमा पर्छ। २०२३ मा उक्त सहरमा १ करोड ६५ लाख पर्यटक पुगेका थिए। सो वर्ष उक्त सहरमा पर्यटक आगमन २९ प्रतिशत बढेको थियो।
५. पेरिस- पेरिस फ्रान्सको राजधानी सहर हो। फ्रान्सभर भने २०२३ मा सबैभन्दा धेरै पर्यटक पुगेका थिए। २०२३ मा पेरिसमा १ करोड ५५ लाख पर्यटक पुगेका थिए भने वार्षिक पर्यटक आगमन वृद्धिदर ४ प्रतिशत थियो।
६. हङकङ- चीनको स्वशासित क्षेत्र हङकङमा २०२३ मा १ करोड ४७ लाख पर्यटक पुगेका थिए। गत वर्ष हङकङको पर्यटन आगमन वृद्धिदर २ हजार ४ सय ९५ प्रतिशतले वृद्धि भएको थियो।
७. बैंकक- थाइल्यान्डको राजधानी बैंककमा गत वर्ष १ करोड २२ लाख पर्यटक पुगेका थिए। एसियाको धेरै पर्यटक भित्र्याउने देशमा थाइल्यान्ड पर्छ। २०२३ मा बैंककमा पर्यटन आगमन १ सय ४२ प्रतिशतले वृद्धि भएको थियो।
८. न्युयोर्क- अमेरिकाको चर्चित सहर हो न्युयोर्क। २०२३ मा न्युयोर्कमा १ करोड १७ लाख पर्यटक पुगेका थिए। यो अघिल्लो वर्षको तुलनामा २४ प्रतिशतको वृद्धि थियो।
९. क्यानकन- मेक्सिकोको सहर क्यानकनमा २०२३ मा १ करोड ८ लाख पर्यटक पुगेका थिए। २०२३ मा उक्त सहरमा पर्यटन आगमन १३ प्रतिशतले बढेको तथ्यांक छ।
१०. मक्का- मक्का साउदी अरबको सहर हो। मक्का मुस्लिम धर्मावलम्बीहरुको आस्थाको केन्द्र समेत हो। यहाँ हरेक वर्ष लाखौँ मानिसहरु हज यात्रामा जान्छन्। २०२३ मा मक्कामा १ करोड ८ लाख पर्यटक पुगेका थिए भने अघिल्लो वर्षको तुलनामा पर्यटन आगमन १ सय २४ प्रतिशतले बढेको थियो।