शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

व्यापार छाडेर टमाटर खेती, वार्षिक पाँच लाख रुपैयाँभन्दा बढी आम्दानी

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, पुस ३ २०८१
images
images
व्यापार छाडेर टमाटर खेती, वार्षिक पाँच लाख रुपैयाँभन्दा बढी आम्दानी

'पहिलो तीन महिना खुब स्याहार गरे पछिको तीन महिना मज्जाले बाली टिप्न पाइन्छ, कहिले व्यापारी खेतमै आँउछन्। कहिले बजारसम्म लैजाने गरेको छु।'

images
images

सर्लाही- सर्लाहीको उत्तरी क्षेत्र तरकारी उत्पादनको हिसाबले निकै परिचित ठाउँ हो। यस क्षेत्रमा उत्पादित हरियो तरकारी सर्लाहीसहित देशका मुख्य बजारसम्म पुग्ने गरेको छ। 

images
images
images

यहाँका किसानले अन्य तरकारीसँगै टमाटर खेतीबाट मनग्य आम्दानी लिने गरेका छन्। त्यसैमध्येका एक हुन्, हरिवन नगरपालिका-४, गणेशचोक निवासी ५९ वर्षका कामिल मिकरानी। उनका अनुसार टमाटर खेतीबाट बर्सेनि पाँच लाख रुपैयाँसम्म आम्दानी भइरहेको छ। 

images
images

कक्षा ८ सम्म औपचारिक शिक्षा लिनुभएका मिकरानीले टमाटर खेती गर्नकै लागि व्यापार छाडेको बताए। 'सुरुमा थोरै मात्र तरकारी र त्यसमा पनि टमाटर लगाउने गरेको थिए', उनले भने, 'धेरै समय कपडा व्यापारमा बिताएपछि कृषिकर्ममा लागेको हुँ।'

images
images
images

मिकरानीले अहिले दुई बिघामा टमाटर खेती गरिरहेका छन्। एक बिगामा चिउरी र एक बिगामा कविता जातको टमाटर रोपेको उनले बताए। कात्तिकमा रोपेको टमाटर पुस अन्तिम तिर टिप्न मिल्ने हुन्छ।

'पहिला अरुको खेत भाडामा लिएर चार बिघासम्म टमाटर खेती गर्ने गरेको थिए', उनले भने, 'उमेर ढल्कियो छोराछोरी खेतमा काम गर्न मान्दैनन्। आफैँले दुई बिघा लगाएको छु। ६ महिनामा पाँच लाख रुपैयाँको टमाटर आरामले बेच्छु।' 

राम्रो भाउ आउने समयमा उत्पादन गर्न सक्दा टमाटरबाट पैसा हुने उनले बताए। अन्य समयमा बालीको स्याहार राम्रो हुँदा उत्पादन बढ्ने भएकाले आम्दानी खासै नराम्रो नहुने उनको अनुभव छ। 'किसानले उत्पादनको मूल्य राम्रो पाए हुन्थ्यो भन्नु सामान्य हो',  मिकरानीले भने, 'मैले खेती सुरु गरेको ३९ वर्ष भयो, खेरै गएर डुब्यो भन्नुपरेको छैन।' 

उनले प्रतिक्यारेट तीन सयदेखि एक हजार दुई सय रुपैयाँसम्म टमाटर बिक्री गर्दै आएका छन्। टमाटर एक वर्षमा छ महिना मात्र खेती हुने गरेकाले अन्य समय धान तथा मकै खेती गर्ने गरेको उनले जानकारी दिए। यसरी गरिने फरक-फरक खेतीले बाली चक्र पूरा हुने र खेत राम्रो हुने उनको भनाइ छ। 

'पहिलो तीन महिना खुब स्याहार गरे पछिको तीन महिना मज्जाले बाली टिप्न पाइन्छ', मिकरानीले भने, 'कहिले व्यापारी खेतमै आँउछन्। कहिले बजारसम्म लैजाने गरेको छु।' टमाटर खेतीबाटै थोरै खेती समेत जोडेको उनले सुनाए। 

किसान लालबन्दी नगरपालिका-१, नवलपुरका दिनेश बैठाले टमाटर खेतीबाट मनग्य आम्दानी गरेको बताए। अहिले किसाने टमाटर एक हजार आठ सय क्यारेटसम्म बेच्न पाएको र उत्पादन समयको  किसानले ख्याल गर्नुपर्ने उनको भनाइ छ। 

खेती गरेर आम्दानी हुँदैन भन्ने धारण आमसमाजमा व्याप्त भएका कारण नयाँ पुस्ता खेती किसानीमा आउन नचाहेको उनको बुझाइ छ। प्राविधिक ज्ञान लिएर खेती गर्ने हो भने, टमाटर मात्र नभइ मौसमअनुसार जुनसुकै हरियो तरकारी उत्पादनबाट राम्रो आम्दानी लिन सकिने उनले दाबी गरे। 

तीन वर्ष वैदेशिक रोजगारीको क्रममा दुबई बसेर आएका बैठाले टमाटर खेतीबाट घरमै परिवारसँग बसेर चार लाखदेखि पाँच लाखसम्म वर्षमा आम्दानी गर्ने गरेको बताए। उनले आफ्नो एक बिघा र हुण्डामा लिएको १० कठ्ठा खेतमा कविता जातको टमाटर लगाए। 

सुरक्षित भण्डारणको समस्या

उत्पादन भएको तरकारी सुरक्षितसँग भण्डारण गर्ने व्यवस्था नहुँदा भने, किसान मारमा परेको उनीहरूको भनाइ छ।

राख्ने ठाउँ नहुँदा व्यापारीको मूल्यमा सामान छाड्नुपर्ने बाध्यता रहेको मंगलबार लालबन्दीस्थित कृषि थोक बजारमा टमाटर बिक्रीका लागि आएकी रिता मगरले गुनासो गरिन्। 'आज मूल्य नभए राखेर भोलि बेच्छु, भन्ने अवस्था छैन, बिग्री हाल्छ', उनले भनिन्।

सर्लाहीको बागमती, हरिवन, लालबन्दी, ईश्वरपुर, हरिपुर, चन्द्रनगर, बरहथवालगायत पालिकामा उत्पादन भएका हरियो तरकारी देशका मुख्य बजारसम्म पुग्ने गरेको कृषि थोक बजारका व्यापारी वीरेन्द्र महतोले बताए। रासस


प्रकाशित : बुधबार, पुस ३ २०८११०:१०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend