काठमाडौं- नेपालको हिमालय इन्टरनेशनल फुड र चीनको सांघाइ फुडबीच भैँसीको मासु निर्यात गर्नेगरी सम्झौता भएको छ।
सोमबार राजधानीमा भएको एक कार्यक्रमबीच दुई कम्पनीबीच सम्झौता भएको हो। सम्झौतापत्रमा हिमालय इन्टरनेशनल फुडका नवीन कुमार शर्मा र सांघाइ फुडका चोङ्खोइ जुङले हस्ताक्षर गरेका हुन्।
भैँसीको संख्या बढाउन आफूहरूले गएको दुई वर्षदेखि नै तयारी गरिरहेको पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहालले बताए। कार्यक्रममा उनले भने, 'अहिले हाम्रो चुनौती भनेको खोरेत रोगको हो, त्यसलाई निवारण गर्नका लागि विभाग लागिरहेको छ, आगामी केही वर्षभित्रै खोरेतमुक्त देशको घोषणा गर्छौँ। ३० वटा पालिकामा भैँसी पाल्ने अभियान पनि चलाइएको छ।'
आजको दिन नेपाल र चीनको लागि ऐतिहासिक भएको नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गले बताए। उनले भने, 'भैँसीको मासु निर्यातको सम्झौता दिलाउन पहिलेदेखि नै तयारी गरेका थियौँ र अहिले आएर पूरा भयो, यो निकै उत्साहको दिन हो।'
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मासुजन्य निर्यातको लागि आजको यो सम्झौता 'गेमचेन्चर' बनेको बताए। 'दूध र मासुमा देश आत्मनिर्भरउन्मुख भइरहेको अवस्थामा चीनमा निर्यात हुने मासु निर्यातले ठूलो भूमिका खेल्छ, विदेश पलायन कम गराउँछ' उनले भने।
भूमी व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले अहिलेको सम्झौताले रोजगारी सिर्जना गर्ने बताए। उनले भने, 'बधशालाको निर्माण, ढुवानीको योजना बनाएर अघि बढ्नु पर्छ, मासु पनि गुणस्तरीय दिनुपर्छ।'
गत मंसिरमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा दुई सरकारबीच भैँसीको मासु निर्यातसम्बन्धी समझदारी भएको थियो। वार्षिक दुईसय अमेरिकी डलर बराबरको व्यापार गरिने बताइएको छ।