काठमाडौं- 'नेपाल-भारत विकास सहकार्य' अन्तर्गत भारत सरकारको आर्थिक सहयोग २.९२४ करोड रूपैयाँ परियोजना लागतमा निर्माण गरिएको काठमाडौंस्थित सुष्मा कोइराला मेमोरियल नर्सिङ क्याम्पसको क्याम्पस तथा छात्रावास भवन हस्तान्तरण गरिएको छ।
जिल्ला समन्वय समिति, काठमाडौंका प्रमुख सन्तोष बुढाथोकी तथा भारतीय राजदूतावास, काठमाडौंका प्रथम सचिव अविनाश कुमार सिंहले क्याम्पस व्यवस्थापन समितिलाई शुक्रबार संयुक्तरुपमा भवन हस्तान्तरण गरेका हुन्।
उक्त कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, सरकारी अधिकारी तथा समाजसेवीहरुको समेत उपस्थिति थियो। कार्यक्रममा उपस्थित सबैले नेपाली जनताको उत्थानमा भारत सरकारले पुर्याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरेका थिए।
‘नेपाल-भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको अनुदान सहयोग दुई तले छात्रावास भवन र अन्य सहयोगी संरचनासँगै दुई तले कक्षाकोठा भवन निर्माणमा उपयोग गरिएको थियो। उक्त परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढाइएको हो र जिल्ला समन्वय समिति, काठमाडौंमार्फत कार्यान्वयन गरिएको थियो।
नवनिर्मित संरचनाले क्याम्पसका विद्यार्थीहरूलाई व्यावसायिक शैक्षिक दक्षता प्रदान गर्न सहयोगी हुनेछ। यसले सिकाइका लागि राम्रो वातावरण सिर्जना गर्नुका साथै यस क्षेत्रमा शिक्षाको समग्र विकासमा योगदान पुर्याउने विश्वास लिइएको छ।