शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

यात्रुको रोजाइमा विद्युतीय गाडी, तर भाडा नघटाएको गुनासो

images
बिहीबार , मंसिर २७ २०८१
images
images
यात्रुको रोजाइमा विद्युतीय गाडी, तर भाडा नघटाएको गुनासो

वीरगञ्ज भन्सार कार्यालय हुँदै आर्थिक वर्ष २०८०/८१ मा विद्युतीय सवारी साधनभन्दाको तुलनामा इन्धनबाट चल्ने धेरै सवारीसाधन आयात बढी भएका छन्।

images
images

वीरगञ्ज- हेटौँडा उपमहानगरपालिका-१४ का गोकुल ढुंगाना टाटा सुमोमा कोचिएर बल्खु-सिस्नेरीको बाटो हुँदै हेटौँडासम्मको धेरैपटक यात्रा गरेका छन्। चाडपर्वको समयमा त चालकसहितको ११ सिटको टाटा सुमोमा कोचिएर १३ जनाले पनि यात्रा गरेको उनलाई हिजोजस्तै लाग्छ। अहिले यही रुटमा भने सार्वजनिक विद्युतीय सवारीसाधन ‘ईभी हाइस’ सञ्चालन भएदेखि उनीजस्तै धेरै यात्रुले केही हदसम्म भए पनि सहज महसुस गर्दै आइरहेका छन्।

images
images
images

'टाटा सुमोमा तीन जनाको सिटमा कोचिएर चार जना यात्रुले यात्रा गर्दा निकै सकस हुन्थ्यो,' यात्रु ढुंगानाले भने, 'अहिले त छिटफुट रुपमा चल्ने ईभी हाइसले तुलनात्मक रुपमा धेरै सहज बनाएको छ। यसले त कम्तीमा सिट सङ्ख्या अनुसारकै यात्रु ओसार्ने भएकाले पनि राहतको महसुस भइरहेको छ।'

images
images

उनी इन्धनबाट चल्ने टाटा सुमो र विद्युतबाट चल्ने ईभी हाइसको भाडा उस्तै हुँदा भने मन खिन्न भएको बताउँछन्। 'ईभी गाडी चढेपछि त यो रुटको भाडा घट्ला भन्ने लागेको थियो तर अहिले पनि भाडा उस्तै छ,' उनले भने, 'ईभी र अन्य गाडीको उस्तै भाडा त व्यावहारिक भएन नि!'

images
images
images

ढुंगानामात्रै होइन, अधिकांश यात्रु पछिल्लो समय काठमाडौं-हेटौँडा-वीरगञ्ज रुटमा टाटासुमोभन्दा ईभी हाइसमा यात्रा गर्न सहज मान्न थालेका छन्। वीरगञ्ज महानगरपालिका-१६ नगवाका राधेकृष्ण कुशवाहा पनि भरसक ईभी हाइसमा नै यात्रा गर्ने बताउँछन्। 'टाटासुमोमा धेरैपटक अटेसमटेस हुँदै यात्रा गर्‍यौँ। तर बिजुली बसमा यात्रा गर्दा छुट्टै खालको अनुभव हुने रहेछ,' उनले भने, 'नत आवाज नै आउने, नत वातावरण नै प्रदूषण हुने। स्वदेशमा नै उत्पादन भएको बिजुलीबाट चल्ने भएकाले पनि धेरैको रोजाइको विषय बनेको छ।'

टाटा सुमो र ईभी हाइसको एउटै भाडा हुनु भने दुर्भाग्य रहेको उनी बताउँछन्। 'बिजुलीबाट चल्ने गाडी र टाटा सुमोको एउटै भाडादर हुनु कति पनि सुहाएको जस्तो देखिन्न,' उनले भने, 'यसमा कम्तीमा पनि राज्यले हस्तक्षेप गरेर छुट्टै भाडा दर तोक्न जरुरी भइसकेको छ।'

डेढ वर्षदेखि वीरगञ्ज-हेटौँडा-काठमाडौं रुटमा बागमती प्रदेश ००१ ज ४३३ नम्बरको ११ सिटे ईभी हाइस चलाउँदै आएका सवारीचालक अनिल लामा यो रुटमा ईभी हाइस सञ्चालनमा कुनै पनि समस्या नरहेको बताउँछन्। 'वीरगञ्ज-हेटौँडा हुँदै काठमाडौंको बल्खुसम्म ओहोरदोहोर गर्नका लागि एक हजार १०० को चार्जिङले पुगिहाल्छ,' उनले भने, 'पछिल्लो समय यो रुटमा ईभी हाइस सवारीसाधन थप्ने क्रम बढिरहेको छ।'

चालक लामाको परिवारले गत डेढ वर्षअघि चारवटा ईभी हाइस किनेर सञ्चालन गर्दै आइरहेको छ। '४५ लाख रुपैयाँ खर्चेर केवाइसी ईभी हाइस विद्युतीय गाडी किन्यौँ। यसमा डाइभर सिटसहित ११ सिट हुने गर्छ।' एघार सिटे ईभी हाइसले बल्खुदेखि-हेटौँडा-वीरगञ्जसम्मको यात्रु पाएको खण्डमा मासिक दुई लाखको हाराहारीमा आम्दानी गर्ने गर्छन। 'सिट क्षमताअनुसारको यात्रु पाउने हो भने त कमाइ राम्रै छ,' उनले भने, 'सबै खर्च कटाएर दैनिक ६५ सय बचत हुँदै आइरहेको छ।' 

यो रुटका वीरगञ्ज-हेटौँडा-बल्खु रुटमा चल्ने ईभी हाइसले आठसय ५० रूपैयाँ भाडा लिने गर्छन्। त्यस्तै टाटा सुमोको भाडा पनि सोही आठ सय ५० रुपैयाँ नै छ। पेट्रोलियम पदार्थबाट चल्ने सार्वजनिक सवारीसाधनको तुलनामा विद्युतीय सवारीसाधनको लागत खर्च पनि धेरै कम हुने गर्छ तर ईभीका सवारीसाधनको भाडा भने उस्तै छ। सर्वसाधारणले ईभी र पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनको फरक अनुभूति भने गर्न पाइरहेका छैनन्। यही रुटमा चल्ने टाटा सुमोका लागि भने दैनिक आउजाउ गर्न मात्रै पाँच हजारदेखि ५५ सयसम्मको सम्मको इन्धन खर्च लाग्ने दाबी गर्छन्। 

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोस सार्वजनिक विद्युतीय सवारीसाधनतर्फ सर्वसाधारणको आकर्षण बढे पनि भाडादर उस्तै हुँदा यात्रुले फरक अनुभूति गर्न नपाएको बताउँछन्। 'पेट्रोलियम पदार्थबाट चल्ने सार्वजनिक सवारीसाधन र बिजुलीबाट चल्ने सार्वजनिक सवारीसाधनको खर्च धेरै कम छ,' उनले भने, 'विद्युतीय सार्वजनिक सवारीसाधनले भाडा उस्तै राख्दा पनि सर्वसाधारणको सोतर्फ आकर्षणलाई अझै बढाउन सकिने थियो।'

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरले विद्युतीय माइक्रोबस, हाइस र सानो माइक्रोलगायतका सवारीसाधन थपिने क्रम बढ्दै गइरहेको बताउँछन्। 'सार्वजनिक यातायात पनि विद्युतीय गाडीमा जानुपर्छ भन्नेमा महासंघ सकारात्मक नै छ। लगानीकर्ताले लगानी गरिसकेपछि लगानीको संरक्षण हुनैपर्ने हुन्छ', उनले भने, 'हामी पनि सकभर ईभी गाडीमा जानेतर्फ सकारात्मक भइरहेका छौँ।'

विद्युतीय सार्वजनिक सवारीसाधनमा इन्धन खर्च ह्वात्तै घटे पनि सार्वजनिक सवारीसाधनको भाडा भने घटाएका छैनन्। सर्वसाधारणले विद्युतीय सार्वजनिक सवारीसाधन र इन्धनबाट चल्ने सवारीसाधनको भाडा उस्तै तिर्दै आइरहेका छन्। यातायात व्यवस्था विभागले सहरी क्षेत्रमा चल्ने विद्युतीय र इन्धनबाट चल्ने ट्याक्सीको भाडादर छुटाछुट्टै दर कायम गर्दै आइरहेको छ। तर अहिलेसम्म सार्वजनिक विद्युतीय सवारीसाधनको भाडा भने कायम गर्न सकिरहेको छैन।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष स्वाँर विद्युतीय सार्वजनिक सवारीसाधनको लागत धेरै र यसको ह्रासकट्टी छोटो समयमा हुने भएकाले पनि अपेक्षाकृत रुपमा भाडा घटाउन नसकिएको बताउँछन्।

'इन्धनबाट चल्ने सार्वजनिक सवारीसाधन ढुक्कले २० वर्षसम्म चल्न सक्छन्,' उनले भने, 'विद्युतीय सवारीसाधनको ब्याट्रीको आयु नै पाँच वर्षको हुनेगर्छ। अर्काेतर्फ विद्युतीय सवारीसाधनको हसकट्टी पनि इन्धनबाट चल्ने भन्दा धेरै कम हुने गर्छ। त्यसैले पनि भाडा सस्तो हुन सकिरहेको छैन।'

विद्युतीय भन्दा इन्धनकै सवारीसाधन उच्च

वीरगञ्ज भन्सार कार्यालय हुँदै आर्थिक वर्ष २०८०/८१ मा विद्युतीय सवारी साधनभन्दाको तुलनामा इन्धनबाट चल्ने धेरै सवारीसाधन आयात बढी भएका छन्। कार्यालयका अनुसार गत आवमा नाका हुँदै एक हजार चारसय ३५ वटा इन्धनबाट चल्ने जीप, कार र भ्यानहरु आयात भएकामा सोही अवधिमा यो नाका हुँदै पाँचसय ११ वटा विद्युतीय सवारी आयात भएको छ।

यो नाका हुँदै गत आवमा दुई अर्ब १९ करोड ८९ लाख ९९ हजार रूपैयाँ बराबरका इनधनबाट चल्ने एक हजार चारसय ३५ वटा जीप, कार र भ्यान आयात भएका छन्। ती सवारीसाधन आयात हुँदा भन्सार कार्यालयले चार अर्ब ९६ करोड ९२ लाख १८ हजार रूपैयाँ राजस्व आम्दानी भएको छ। आव २०७९/८० मा भने यो कार्यालय हुँदै एक अर्ब ७८ करोड ८७ लाख ६७ हजार रूपैयाँ मूल्य बराबरको एक हजार एकसय ४९ वटा जीप, कार र भ्यान आयात भएका थिए।

ती सवारीसाधन आयात हुँदा राज्यले रु चार अर्ब नौ करोड ५९ लाख १३ हजार राजस्व आम्दानी गरेको थियो। आव २०७९/८० को तुलनामा आव २०८०/८१ मा दुई सय ८६ वटा बढी इन्धनबाट चल्ने जीप, कार र भ्यान आयात भएको छ। आव २०८०/८१ मा एक अर्ब १४ करोड ५० लाख ६७ हजार रूपैयाँ मूल्य पर्ने पाँच सय ११ वटा विद्युतीय जीप, कार र भ्यान आयात भएका छन्। ती सवारीसाधन आयात हुँदा कार्यालयले रु ५८ करोड १३ लाख १३ हजार मात्रै राजस्व संकलन गरेको छ।

कार्यालयका अनुसार आव २०७९/८० मा यो भन्सार कार्यालय हुँदै एक अर्ब ५३ करोड रूपैयाँ मूल्य पर्ने तीनसय ६ वटा विद्युतीय जीप, कार र भ्यान आयात भएका थिए। सो आवमा यो कार्यालयले भन्सारबापत ६० करोड ८८ लाख ६२ हजार रूपैयाँ संकलन गरेको थियो। रासस


प्रकाशित : बिहीबार , मंसिर २७ २०८११३:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend