शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

अन्नपूर्ण फेरोका २७ गाउँमा घरबास

images
आइतबार, मंसिर २३ २०८१
images
images
अन्नपूर्ण फेरोका २७ गाउँमा घरबास

समुन्द्री सतहदेखि १४ सय मिटरको उचाइमा अवस्थित यो गाउँबाट माछापुच्छ्रे, अन्नपूर्णलगायत हिमाली चुचुरोमा देखिने सूर्योदयको दृश्य लोभलाग्दो हुन्छ। गुरुङ संस्कृतिको अध्ययन, अनुसन्धानका लागि देशीविदेशी अध्यताहरुसमेत ल्वाङ गाउँ पुग्ने गरेका छन्।

images
images

गण्डकी- पदयात्राका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण फेरोका २७ गाउँमा घरबास (होमस्टे) व्यवसाय सञ्चालनमा छ। बर्सेनि ठूलो सङ्ख्यामा देशविदेशका पर्यटकलाई ती घरबासले न्यानो आतिथ्यता प्रदान गर्दै आएका छन्। चित्रमय भूगोल, गाउँले रहनसहन, रैथाने खाना र आत्मीय आतिथ्य संस्कार घरबासका विशेषता हुन्।

images
images
images

हिमाली काखमा सजिएका ती घरबास गाउँ पर्यटकीय याममा आगन्तुकले भरिभराउ हुन्छन्। त्यहाँ पुग्ने जोकोहीले जैविक विविधता, हिमाली जनजीवन, सभ्यता र संस्कृतिको पनि आनन्द बटुल्न पाउँछन्। कोही पदयात्रा र कोही सडकमार्ग भएर घरबास गाउँ पुग्छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार उक्त क्षेत्रका चार सयभन्दा बढी घरले घरबास सेवा दिइरहेका छन्। कतिपय घरबास एकल रुपमा पनि चलिरहेका छन्।

images
images

दैनिक झण्डै दुई हजारभन्दा बढी पाहुना राख्न सक्ने क्षमता ती घरबासमा रहेको आयोजना प्रमुख डा रविन कडरियाले जानकारी दिए। उनका अनुसार ‘एक्याप’को इलाका संरक्षण कार्यालय ल्वाङ (कास्की)अन्तर्गत ल्वाङ गाउँका १२ घर, घलेलका सात घर, टुसेका २७ घर, मिर्साका १६ घर, काभ्रेका १२ घर र कोलेली गाउँका ६ घरमा घरबास सेवा सञ्चालित छन्।

images
images
images

इलाका संरक्षण कार्यालय, सिक्लेसअन्तर्गत सिक्लेस गाउँका २४, ताङतिङमा १४, याङ्जाकोटमा १० र वार्चोकका ११ घरले उक्त सेवा दिइरहेका छन्। इलाका संरक्षण कार्यालय, घान्द्रुकअन्तर्गत साबेतमा १०, नारच्याङमा १५, खिवाङमा छ, इलाका संरक्षण कार्यालय, भुजुङअन्तर्गत घलेगाउँका ४३, घनपोखराका नौ, भुजुङका २८, सिउरुङका १९, पसगाउँका २२ र छापामिप्रामा १२ घरबास छन्।

यस्तै इलाका संरक्षण कार्यालय, मनाङअन्तर्गत ओडारमा १५, थानचोकमा १४, ताचैमा २६, इलाका संरक्षण कार्यालय, जोमसोमभित्र ठिनीमा ११ र लुब्रा गाउँका आठ घरबासले पर्यटकलाई सेवा दिँदै आएका छन्। इलाको संरक्षण कार्यालय, लोमान्थाङअन्तर्गत पर्ने मराङका पाँच, छोसेरका पाँच र जुङजुङका छ घरमा उक्त सेवा सञ्चालनमा छ।

अन्नपूर्ण संरक्षण क्षेत्रभित्र सञ्चालनमा रहेका घरबासलाई व्यवस्थापन तालिमलगायत विभिन्न सहयोगहरु प्रदान गर्दै आएको आयोजना प्रमुख डा कडरियाले बताए। 'ग्रामीण पर्यटन विकासमा घरबासको ठूलो योगदान छ, गाउँलाई आर्थिक गतिविधिसँग यसले जोडेको छ', उनले भने, 'घरबास सञ्चालनमा आएपछि स्थानीय उत्पादनको प्रवर्द्धनदेखि रोजगारी सिर्जनामा पनि मद्दत पुगेको छ।'

पर्यटकीय राजधानी पोखरादेखि छोटो र लामो दुरीमा गन्तव्यमा अवस्थित घरबास गाउँ विशेषगरी आन्तरिक पर्यटकको बढी रोजाइमा पर्ने गरेका छन्। पछिल्लो समयमा नेपालमा बढिरहेको घुम्ने संस्कृतिले पनि घरबास पर्यटनलाई टेवा पुर्‍याइरहेको छ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका-८ स्थित ल्वाङ सामुदायिक घरबास व्यवस्थापन समितिका अध्यक्ष मञ्जु गुरुङले एकै रातमा चार सयसम्म पाहुना राख्ने क्षमता ल्वाङ गाउँका घरबासमा रहेको जानकारी दिइन्। 'यहाँ मुख्य गरी आउने भनेको आन्तरिक पर्यटक नै हो, कोभिड-१९ महामारीपछि विदेशी पाहुनको सङ्ख्या केही घटेको छ', उनले भनिन्, 'पोखरादेखि नजिकको दुरीमा भएकाले पनि आउजाउ सहज छ, घुमफिरका लागि जुनसुकै मौसममा ल्वाङ गाउँ उपयुक्त छ।'

गुजुमुज्ज परेको गुरुङ बस्तीले ल्वाङको आकर्षण थपेको छ। ल्वाङमा सेतो र गेरु रङ पोतिएका एकनासे घर छन्। घरको छाना, आँगन र बाटोमा पनि ढुङ्गा बिछ्याइएको छ। परम्परागत घरले पहाडी वास्तुकलाको झल्को दिन्छन्। प्रकृति र संस्कृतिको अनुपमस्थल ल्वाङ गाउँ ग्रामीण पर्यटन आकर्षक गन्तव्यका रुपमा परिचित छ। विसं २०६७ मा घरबास सञ्चालनमा आएपछि ल्वाङ ग्रामीण पर्यटनमा फड्को मारेको घरबास व्यवस्थापन समितिका अध्यक्ष गुरुङले बताइन्।

समुन्द्री सतहदेखि १४ सय मिटरको उचाइमा अवस्थित यो गाउँबाट माछापुच्छ्रे, अन्नपूर्णलगायत हिमाली चुचुरोमा देखिने सूर्योदयको दृश्य लोभलाग्दो हुन्छ। गुरुङ संस्कृतिको अध्ययन, अनुसन्धानका लागि देशीविदेशी अध्यताहरुसमेत ल्वाङ गाउँ पुग्ने गरेका छन्।

स्थानीयले पाहुनालाई गुरुङ संस्कृति र संस्कार देखाउने गरेका छन्। रैथाने खाना चखाउने, करेसाबारीमा लगेर खेती गर्ने तरिका सिकाउने, भान्छाको परिकार बनाउने विधि पनि सिकाउने गरिन्छ। निगालोबाट बन्ने डोको, सेखु जस्ता घरेलु उत्पादनका सामग्री पनि पर्यटकलाई चिनाउने गरिएको छ।

घरबासको भान्छामा गाउँमै उत्पादन हुने अन्न र तरकारीबालीको प्रयोग गर्ने गरिएको छ। ल्वाङ गाउँमा पर्यटकले एकदेखि दुई रातसम्म बिताउने गरेका छन्। अन्नपूर्ण आधार शिविर र मर्दी पदयात्रामा जानेहरु पनि ल्वाङ गाउँमा विश्राम गरेर बाटो लाग्छन्। चलचित्रको छायाङ्कनका लागि पनि ल्वाङ गाउँ रोजाइमा पर्ने गरेको छ। ‘प्रसाद-२’, ‘दुई नम्बरी’ लगायतका चलचित्रको छायाँकन यही गाउँमा भएको थियो।

गाउँको सिरानमा रहेको चियाबारी त्यहाँको अर्को पर्यटकीय आकर्षण हो। एक हजार दुईसय रोपनीमा फैलिएको चियाबारीले इलामको झल्को दिन्छ। चियाबारीको अवलोकनका लागि पनि पर्यटक त्यहाँ पुग्छन्। ल्वाङ गाउँको चिया युरोपसम्म निर्यात हुँदै आएको छ। ल्वाङ जस्तै यहाँका अन्य घरबास गाउँ पनि आफ्नै विशेषतासहित आन्तरिक तथा बाह्य पर्यटकमाझ चिनिएका छन्। घरबास सँगसँगै ती क्षेत्रमा होटल व्यवसाय पनि फस्टाएको छ। सात हजार छ सय वर्ग किलोमिटरमा फैलिएको ‘एक्याप’मा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १६ स्थानीय तहका ८९ वडा समेटिएका छन्।

अन्नपूर्ण चक्रीय पदमार्ग पदयात्राका लागि विश्वमाझ चिनिएको गन्तव्य हो। यस क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सम्भयता, संस्कृति आदि कारणले पर्यटकको रोजाइमा पर्ने गरेको छ। गत आर्थिक वर्ष २०८०/८१ मा मात्र दुई लाख २२ हजार एक सय ८० विदेशी पर्यटकले यस क्षेत्रको भ्रमण गरेका थिए।

प्रदेश सरकार र स्थानीय तहले पनि अन्नपूर्ण क्षेत्रभित्र सञ्चालित सामुदायिक घरबास प्रवर्द्धनमा सघाउँदै आएका छन्। गण्डकी प्रदेश सरकारले सामुदायिक घरबास प्रवर्द्धनलाई गौरवको आयोजनाका समेटी घरबास व्यवसायीहरुलाई बर्सेनि अनुदान उपलब्ध गराउँदै आएको छ। चालु आवमा पनि गण्डकी प्रदेश घरबास व्यवसाय फस्टाएको क्षेत्र हो। अन्नपूर्ण संरक्षण क्षेत्रबाहिर पनि चल्तीका घरबास छन्। नेपालकै पहिलो स्याङ्जाको सिरुबारी घरबास पनि यसै प्रदेशमा पर्छ। रासस


प्रकाशित : आइतबार, मंसिर २३ २०८११३:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend