शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

च्याउ बेचेर वार्षिक २५ लाख आम्दानी गर्छन् डडेल्धुराका खेमराज जोशी

images
शनिबार, मंसिर २२ २०८१
images
images
च्याउ बेचेर वार्षिक २५ लाख आम्दानी गर्छन् डडेल्धुराका खेमराज जोशी

विदेशी भूमिमा जति पसिना बगाए पनि सीमित समयका लागि मात्र हुने भन्दै स्वदेशमा स्वरोजगार बन्न कृषि पेसातर्फ आकर्षित भएको उनले बताए।

images
images

डडेल्धुरा- अमरगढी नगरपालिका-२ मौरडाका खेमराज जोशीले ६ वर्षअघि दुई लाख ५० हजार रूपैयाँ लगानी गरेर व्यावसायिक च्याउखेती सुरु गरेका थिए। उनले वार्षिक च्याउ बिक्री गरेर वार्षिक २० देखि २५ लाख रूपैयाँसम्म आम्दानी गर्दै आएका छन्।

images
images
images

देशमा रोजगारी नभएको भन्दै कतिपय युवा रोजगारीको खोजीमा विदेशिएका बेला जोशीले वैदेशिक रोजगारी छाडेर कृषि पेसामा भविष्य खोजिरहेका हुन्। विदेशी भूमिमा जति पसिना बगाए पनि सीमित समयका लागि मात्र हुने भन्दै स्वदेशमा स्वरोजगार बन्न कृषि पेसातर्फ आकर्षित भएको उनले बताए।

images
images

जोशी अहिले ३३ वर्षका हुन्। कक्षा १२ सम्म अध्ययन गरेपछि विदेश जाने योजनासहित काठमाडौं गएको जोशीले सुनाए। काठमाडौं रहँदा विभिन्न किसिममा कृषि फार्महरूको अवलोकन गरेपछि च्याउखेती गर्ने योजना बनाएर गाउँ फर्किएको उनले बताए। अहिले परिवारको सबै खर्च कटाएर वार्षिक आठ लाख रूपैयाँसम्म बचत हुने गरेको उनले जानकारी दिए।

images
images
images

दुई रोपनी जग्गा भाडामा लिएर च्याउको बीउ उत्पादनका साथै खेतीसमेत गरिरहेको कृषक जोशीले बताए। ६ वर्षअघि सुरु भएको च्याउखेतीबाट उनी अहिले जिल्लाको नमूना कृषकका रूपमा स्थापित भएका छन्।

च्याउखेतीमा भविष्य राम्रो देखेर आफू लागेको जोशीले बताए। 'पहिले च्याउको बीउ लिन काठमाडौं जानुपर्ने बाध्यता थियो। अहिले आफैले फार्ममा उत्पादन गरिरहेको छु', उनले भने, 'अधिकांश साथीहरू रोजगारीका लागि भारतलगायत तेस्रो मुलुक पलायन भएका छन्। आफू कृषि पेसामा रमाइरहेको छु।'

उत्पादित च्याउ स्थानीय बजारमा खपत हुने जनाउँदै जोशीले बजारीकरणको समस्या नरहेको बताए। एकपटकमा तीनसय किलोसम्म च्याउ बिक्री हुने उनले जानकारी दिए। कम लगानीमा मनग्य आम्दानी लिन सकिने बताउँदै उनले जीविकोपार्जनका लागि युवा विदेश जानुभन्दा स्वदेशमा नै स्वरोजगार बन्न सकिने उल्लेख गरे।

'डडेल्धुराको च्याउ सुदूरपश्चिमका पहाडी जिल्लासहित तराई पनि पठाउने गरेको छु', जोशीले भने, 'वर्षमा तीन पटक च्याउ उत्पादन गर्न सकिने भएकाले यसबाट प्रशस्त लाभ लिन सकिन्छ।' च्याउखेतीबाट सबै खर्च कटाएर वार्षिक सात लाख रूपैयाँसम्म बचत भइरहेको उनले जानकारी दिए।

'विदेशमा लगानी गर्ने श्रमले स्वदेशमा दोबर आम्दानी हुने रहेछ। अहिले प्रतिकिलो दुईसय रूपैयाँका दरले च्याउ बिक्री गरिरहेको छु', जोशीले भने। फार्ममा अहिले सात जनालाई रोजगारी दिएको भन्दै उनले आगामी दिनमा च्याउखेती विस्तार गर्दै लैजाने योजना रहेको उनले बताए।

स्थानीय सरकार तथा सरोकार भएका निकायले युवालाई स्वरोजगारका अवसर सृजना गर्न, सीप विकास गर्न तालिमसहित आर्थिक, प्राविधिक सहयोग गर्नुपर्नेमा जोशीले जोड दिए। स्थानीयस्तरमा आम्दानीका स्रोत बनाउन सके युवाको विदेश पलायन दरमा कमी आउने उनको बुझाइ छ। रासस


प्रकाशित : शनिबार, मंसिर २२ २०८११३:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend