म्याग्दी- भारत र चीनलाई जोड्ने कालीगण्डकी कोरिडोरअन्तर्गत म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुंगा-बेनी सडक कालोपत्र गर्न थालिएको छ।
पर्वतको मालढुंगादेखि म्याग्दीको सदरमुकाम बेनीबजार जोड्ने १३ किलोमिटर सडकको प्रवेशविन्दुमा पर्ने कुश्मा नगरपालिका-१ माझीबस्तीदेखि जलजला गाउँपालिका-८ लस्तीसम्मको खण्डमा एक्सफाल्ट प्रविधिको कालोपत्र गर्न सुरु भएको हो।
बेनी-जोमसोम-कोरला सडक आयोजनाका सब-इञ्जिनियर सोहनजङ्ग कार्कीले माझीबस्तीदेखि डमुवाखोलासम्म शुक्रबार र शनिबार ६ सय मिटर दुरीमा प्राइम कोट (बिटुमिन) बिछ्याएको र लस्तीसम्म थप तीन किलोमिटर कालोपत्रको लागि तयार भएको जानकारी दिए।
१३ किलोमिटर दुरीको बेनी-मालढुंगा सडकलाई ११ मिटर फराकिलो बनाएर अस्फाल्ट प्रविधिको कालोपत्र र ढलान गर्न बेनी-जोमसोम-कोरला सडक आयोजना र एपेक्स-खड्का-कृष्ण जेभीबीच विसं २०७७ चैतमा ५२ करोड ८६ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो।
यस खण्डको हालसम्मको भौतिक प्रगति ६२ प्रतिशत रहेको बेनी-जोमसोम-कोरला सडक आयोजनाका सूचना अधिकारी इञ्जिनियर विष्णु चापागाईंले बताए।
विभिन्न ठाउँमा दुई किलोमिटर ढलान भइसकेको सडकको थप आठ किलोमिटर क्षेत्रमा पनि विस्तार, नाली निर्माण, सवबेस, बेस राख्ने र ग्रेडिङ गर्ने काम धमाधम भइरहेको छ।
विसं २०७९ मा सम्पन्न हुनुपर्ने सडक निर्माण कार्यले लक्ष्यभन्दा दुई वर्षपछि पूर्णता पाउन लागेकामा स्थानीयवासी उत्साही भएका जलजला गाउँपालिका-४ का वडाअध्यक्ष भरत क्षेत्रीले बताए। यो सडकमा म्याग्दी, मुस्ताङ र पर्वतको जलजला गाउँपालिकाका स्थानीय बासिन्दाका साथै पर्यटक र तीर्थयात्री आवतजावत गर्छन्।
‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत २०५२ सालमा मार्ग खुलेको मालढुंगा-बेनी सडक बेनी सडक २०६८ सालमा कालोपत्र गरिएको थियो।
मुस्ताङको कोरला नाकादेखि दक्षिणको सुनौलीसम्म जोड्ने कालीगण्डकी कोरिडोरअन्तर्गत यो सडकलाई ११ मिटर चौडा र कालोपत्र गर्न लागिएको हो। रासस