इटहरी- कोशी प्रदेशमा लगानी भित्र्याउने उद्देश्यले आयोजना हुन लागेको लगानी सम्मेलन विवादमा परेको छ। आउँदो माघ ११ देखि १३ गतेसम्म हुने सम्मेलनमा स्थानीय बहुसङ्ख्यक उद्योगीहरू नै रुष्ट भएपछि विवाद बढेको हो।
कोशी प्रदेश सरकारले करिब तीन करोड रुपैयाँ सम्मेलनका लागि छुट्याएको भएपनि उद्योग संगठन मोरङको मेलामा सम्मेलन गर्ने भएको छ। जसले गर्दा विगतदेखि नै मेला आयोजना गरिरहेका नेपाल उद्योग परिसंघ (सीएनआई) र उद्योग संगठन मोरङको आपसी सहमति भत्किएपछि समस्या सृजना भएको बताइएको छ। उद्योग संगठन मोरङले सहमतिअनुसार मेला लगाउनेभन्दा पनि परिसंघको मेला धकेलेर सरकारलाई प्रभावित पारेको आरोप छ।
परिसंघले माघमा र उद्योग संगठनले पुस ६ देखि मेला लगाउने सहमति भएको थियो। पछि उद्योग संगठनका पदाधिकारी तथा अध्यक्षले परिसंघका प्रदेश अध्यक्ष पवन सारडालाई अनुरोध गरेर मेलाको मिति सार्न अनुरोध गरेका थिए। त्यसबीचमा प्रदेश सरकारले माघ ११ देखि १३ सम्म लगानी सम्मेलनको आयोजना गर्ने भएपछि दुवै मेला प्रभावित हुने भन्दै संगठनले सार्न आग्रह गरेको थियो।
सोहीअनुसार परिसंघले मेला सार्न सहमति जनायो। त्यसपछि उद्योग संगठनले भने प्रदेश सरकारको लगानी सम्मेलनमा नै मेला आयोजना गर्ने तयारी थालेको हो। ‘विराट एक्स्पो २०२५’ र लगानी सम्मेलन दुवै एउटै कार्यक्रममा डिग्री क्याम्पसको मैदानमा गर्न लागिएको हो।
व्यापारिक प्रयोजनको एक्स्पो र लगानी प्रयोजनको लगानी सम्मेलन दुई फरक उद्देश्य भएपनि सरकारले उद्योग संगठनलाई मात्र प्राथमिकता दिएको उद्योगीहरूको आरोप छ।
उद्योग संगठनले सरकारलाई प्रभावमा पारेर मिति सारेको र संगठनका निवर्तमान अध्यक्ष सुयश प्याकुरेलले सरकारलाई लगानी सम्मेलनमै मेला लगाउन दबाब दिएको अन्यको बुझाइ छ। एमालेका प्रभावशाली नेता मानिएका प्याकुरेलले प्रधानमन्त्रीदेखि मुख्यमन्त्रीलाई समेत विवादमा पार्न खोजेको उनीहरू बताउँछन्।
परिसंघका अध्यक्ष पवन सारडा उद्योग संगठनको मेला, सरकारको लगानी सम्मेलन र परिसंघको मेला तीनवटै कार्यक्रम सफल बनाउन लागिरहेको बेला एकलौटी निर्णय भएको बताउँछन्। लगानी सम्मेलन आयोजनामा सदस्य राखेको सरकारले बिनाछलफल र परामर्श मेलामा लगानी सम्मेलन गर्न लागेको उनले बताए।
उद्योग संगठन सँगको भद्र सहमतिअनुसार परिसंघले माघ ११ को मेला फाल्गुनमा सारेको हो। उद्योग वाणिज्य महासंघ कोशी प्रदेश, नेपाल चेम्बर अफ कमर्स, प्रदेश सहकारी संघ, नेपाल उद्योग परिसंघ, मोरङ उद्योग व्यापार संघ, विराट व्यापार संघ लगायत संस्थालाई सरकारले सम्मेलनको सहसंयोजकको रूपमा समेटेको छ। आयोजक संस्थाहरूकै खिलाफमा सरकारले एउटा मात्र संगठनलाई प्रशय दिएको आरोप छ।
विभिन्न व्यापारिक संस्थालाई फरक-फरक जिम्मेवारी दिएर काम गर्न उनीहरूले अनुरोध गरेका छन्। एकलौटी रूपमा निषेध गर्न खोजे बहिस्कार गर्ने चेतावनी अन्य संगठनका उद्योगीले दिएका हुन्।
परिसंघ अध्यक्ष सारडाका अनुसार उद्योग संगठनले यसअघि पनि उद्योग परिसंघले गरेको मेलाभन्दा अगाडि मेला लगाएर असफल बनाउने प्रयास गरेको थियो।
‘लगानी सम्मेलन मेला जस्तो चटपट बेच्ने र झाकी देखाउने थलो होइन। सम्मेलनमा हुने संवाद र छलफलको स्तर नै फरक हुने भएकाले मेला महोत्सवले लगानीको वातावरण बनाउँदैन। मेला व्यापार हो भने र लगानी सम्मेलन अन्तर्राष्ट्रिय व्यापार आमन्त्रण गर्ने थलो हो,’ उनले भने।
अर्का एक उद्योगीले संवादको क्रममा उद्योग संगठनको पूर्वअध्यक्ष प्याकुरेलको दबाब थेग्न नसकेर मुख्यमन्त्रीले सम्मेलन गर्न लागेको बताए। मुख्यमन्त्रीले पाँचतारे होटेलमा वा वीरेन्द्र सभागृहमा गर्न राजी भएपनि दबाबको कारण केही गर्न नसकेको उनको भनाइ छ।
विराट व्यापार संघका अध्यक्ष अंशु बन्जाराले सरकारले संयुक्त रूपमा गर्ने कुरा आएपछि समस्या बढेको बताए। विभिन्न संस्थासँग सहकार्य गर्ने कुरा भइरहेको बेला समय र स्थानको विषय विवादमा परेको उनको भनाइ छ। लगानी सम्मेलन र मेलाको उद्देश्य नै फरक रहेको र फरक उद्देश्यका कार्यक्रम एउटै स्थानमा हुनु गलत भएको उनको टिप्पणी छ।
मोरङ उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनिल शाह बहिस्कारकै अवस्थामा नपुगेपनि मेला गर्ने समय र स्थानको विषय विवादित नै भएको बताउँछन्। सरकारले उद्योगीको अभिभावकत्व निर्वाह गर्नुपर्ने भएपनि तत्काल त्यो अवस्था नदेखिएको उनको बुझाइ छ।
उता उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना सरकारले निजी क्षेत्रसँग मिलेर काम गरेको र अर्को पटक अर्को निजी क्षेत्रको संस्थाले अवसर पाउने बताउँछन्। एक्स्पोमा लगानी सम्मेलनको लागि आवश्यक सम्पूर्ण तयारी गरेको हुँदा प्रदेश सरकारकै आग्रहमा आफूहरू लागिपरेको उनको भनाइ छ। परिसंघ प्रदेशस्तरको संस्था भएकाले जिल्लास्तरको उद्योग संगठनसँग प्रतिस्पर्धा नगर्न आग्रह गरे।
सरकारले गर्न खोजेको काममा उद्योगी संस्थाहरूले साथ र सहयोग गर्नुपर्ने उद्योग वाणिज्य महासंघ कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउत बताउँछन्। एउटासँग मिलेर गर्दा सहयोग गर्ने अर्कोसँग मिल्दा असहयोग गर्ने भन्न नहुने राउतले टिप्पणी गरे।
बिजनेस न्युजसँग कुरा गर्दै उनले सबैले स्वागत गरेर लगानीको वातावरण मिलाउनुपर्ने र उद्योग संगठनले लगानी गरेको कार्यक्रममा सरकारको सहभागिता हुनु नराम्रो नभएको बताए।
थप प्रस्ट पार्दै उनले भने, ‘निजी क्षेत्रबीचको झगडा जायज हुँदैन। हाम्रो काम भनेको लगानी भित्र्याउने र शान्त वातावरणमा कार्यक्रम सम्पन्न गर्ने हो। घरभित्रको झगडा घरभित्रै आपसी संवाद र छलफलबाट समाधान गर्नुपर्छ।’