काठमाडौं- नेपाल कृषि अनुसन्धान परिषद (नार्क) अन्तर्गतको राष्ट्रिय बाह्य अनुसन्धान केन्द्र ललितपुरले कृषि क्षेत्रका समस्याहरूको समाधानका लागि विभिन्न सरोकारवालासँग छलफल गरेको छ।
कृषि क्षेत्रको विकासका लागि साझा दृष्टिकोण बनाउन र सबै सरोकारवालाहरूबीच समन्वयको महत्त्वलाई उजागर गर्न प्रारम्भिक बैठक सफलतापूर्वक सम्पन्न भएको केन्द्रले जनाएको छ।
कृषि क्षेत्रको विकासमा विभिन्न सरोकारवाला निकायहरूको सहभागिता र सहयोगको आवश्यकता भएकाले बैठकलाई एक महत्त्वपूर्ण अवसरको रूपमा प्रस्तुत गरिएको केन्द्रको भनाइ छ।
बैठकको उद्घाटन समारोहमा कार्यक्रमका अध्यक्ष डा. प्रकाश भट्टराई (राष्ट्रिय बाह्य अनुसन्धान केन्द्रका प्रमुख र वरिष्ठ वैज्ञानिक) र प्रमुख अतिथि केदारनाथ खतिवडा (गल्छी गाउपालिकाका अध्यक्ष) को उपस्थिति रहेको थियो।
प्रमुख अतिथि केदारनाथ खतिवडाले कृषि क्षेत्रको विकासमा यसप्रकारका बैठकहरूको महत्त्वलाई उल्लेख गर्दै, सरकार र स्थानीय समुदायका बीचमा समन्वयको आवश्यकता र कृषकहरूको समस्याको समाधानमा एकसाथ काम गर्नको महत्त्वलाई जोड दिएका थिए।
कार्यक्रम सञ्चालकसमेत रहेका राष्ट्रिय बाह्य अनुसन्धान केन्द्र खुमलटारका वरिष्ठ प्राविधिक अधिकृत हरेराम देवकोटाले कार्यक्रमबारे विस्तृत प्रस्तुति दिएका थिए। कार्यक्रममा गल्छी गाउपलिकाका उपाध्यक्ष भाइकाजी तिवारी, डा. बबुल ठाकुर (प्रमुख , भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यलय), धन बहादुर थापा मगर (प्रमुख, प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना, कार्यन्वयन इकाई, धादिङ) र विद्यानिधि लोहनी (कृषि प्रसार अधिकृत,कृषि ज्ञान केन्द्र, धादिङ) का उपस्थितिमा उठेका जिज्ञासा र कृषि क्षेत्रका समस्याहरूका बारेमा डा. टेकप्रसाद गोतामे (मुख्य योजना महाशाखाका प्रमुख, नार्क) ले महत्वपूर्ण सुझावहरू प्रस्तुत गर्दै यसका समाधानका उपायहरू पहिचान गर्नका लागि सबै उपस्थितिहरूसँग विचार विमर्श गरेका थिए।
५९ जना प्रतिनिधिहरूको उपस्थिति रहेको बैठकमा सहभागी कृषक र अन्य सरोकारवाला प्रतिनिधिहरूसँगका अन्तरक्रियाहरू निकै फलदायी रहेको देवकोटाले जानकारी दिए। उनका अनुसार किसानहरूले आफूहरूले सामना गरिरहेका विभिन्न समस्याहरू र तिनका समाधानका उपायहरूको बारेमा खुला रूपमा विचार राखेका थिए।
प्रमुख समस्याहरूमा तरकारी खेती, माटोको पीएच स्थिति, कीटनाशकको अत्यधिक प्रयोग, पशुपक्षीका क्षेत्रमा रोगहरूको समस्या, बिरुवामा लाग्ने रोग र कीटको प्रकोप, मकैमा फौजि किराको समस्या, बिउको छनोट र प्रयोगका समस्याहरू उठाइएका थिए।
पशुपंक्षी क्षेत्रमा, थुनेलो, साल अड्किने समस्या, पशुको भण्डार फर्किने समस्या, गाईमा लाग्ने एफएमडी, एचएसबीक्यू रोग तथा बाख्रामा पीपीआर र इन्टरोटोक्सिमियाका समस्याहरूको बारेमा गहिरो छलफल भएको थियो।
पशुपंक्षीको स्वास्थ्यमा एन्टिबायोटिक प्रतिरोधी क्षमता र दूध, मासु र अण्डामा एन्टिबायोटिक अवशेषका समस्याहरू पनि उठाइएका थिए। यस प्रकारका मुद्दाहरूले कृषकहरूका लागि व्यावसायिक र स्वास्थ्य समस्याहरू ल्याइरहेका छन्, जसको समाधानका लागि प्रभावकारी कदमहरू पहिचान गर्न आवश्यक छ।
सहभागीहरूले विशेष गरी तालिम र विज्ञ भ्रमणहरूको आयोजना गर्न र कृषि क्षेत्रमा भएका समस्याहरूका लागि विभिन्न समाधानका उपायहरू लागु गर्नका लागि सहमति जनाएका थिए। यससँगै, कृषि क्षेत्रका सुधारका लागि स्थानीयस्तरमा तालिम र जनचेतना अभियानको आयोजना गर्ने आवश्यकता पनि उठाइएको थियो।
बैठकको समापनमा डा. प्रकाश भट्टराईले कृषि विकासका उपायहरूको बारेमा विशेष ध्यान केन्द्रित गर्दै सबै सहभागीहरूको विचारलाई समेटेर आगामी कदमहरू तय गर्ने बताए। उनले कृषि क्षेत्रमा भएका समस्याहरूलाई समाधान गर्नका लागि साझा दृष्टिकोण बनाउन र विभिन्न निकायहरूको बीचमा समन्वयको महत्त्वलाई जोड दिए।
यही मंसिर ५ गते धादिङमा सम्पन्न बैठकको मुख्य उद्देश्य कृषि क्षेत्रका समस्याहरूलाई पहिचान तथा प्राथमिकरण गर्नु र तिनको समाधानका लागि सरोकारवालाहरूबीच समन्वय र विचार साटासाट गर्नु रहेको आयोजकले जनाएको छ।