मंगलबार, चैत २६ गते २०८१     ३ : ०६ : २७
मंगलबार, चैत २६ २०८१
images
images

खेतीमा ड्रोनसहित प्रविधिको प्रयोगले बढायो आम्दानी : समय कम, राम्रो उत्पादन

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, कात्तिक ९ २०८१
images
images
खेतीमा ड्रोनसहित प्रविधिको प्रयोगले बढायो आम्दानी : समय कम, राम्रो उत्पादन

डयकले आफ्नो र भाडामा गरी १५ बिघा जग्गामा उखु, तोरी, मसुरो र धानखेती गरेर वार्षिक ३० लाख बराबरको उत्पादन गरिरहेको बताए।

images
images

दोधारा चाँदनी- कञ्चनपुरको बेलौरी नगरपालिका-६ का किसान आसरे राम वडायकले परम्परागत कृषिलाई प्रविधिसँग जोड्दै व्यावसायिक रूपमा खेती गरेर मनग्य आम्दानी गरेका छन्।

images
images

विसं २०७४ देखि व्यावसायिक रूपमा कृषिमा लाग्नुभएका वडायकले खेतीबाटै आम्दानी गरेर एक करोड रुपैयाँभन्दा बढीको कृषियन्त्र जोडेका छन् भने खेती गरेरै मनग्य आम्दानी गर्दै आएका छन्। वडयकले आफ्नो र भाडामा गरी १५ बिघा जग्गामा उखु, तोरी, मसुरो र धानखेती गरेर वार्षिक ३० लाख बराबरको उत्पादन गरिरहेको बताए।

images
images

उनले खेती गर्न अत्याधुनिक कृषि उपकरण भित्र्याएर काम गरिरहेको बताए। 'अहिलेसम्म खेतीबाट आएको आम्दानीले एक करोड बढीका कृषियन्त्र खरिद गरेको छु', उनले भने, 'ड्रोन प्रविधिबाट खेती गर्न सहज हुने भएकाले गत वर्षमात्र १० लाखमा ड्रोन ल्याएको छु।' उनले ड्रोन प्रविधिबाट खेती गर्दा लागत कम हुनुका साथै उत्पादनमा समेत वृद्धि भएको बताए।

images
images

भारतका विभिन्न सहरमा व्यावसायिक खेतीको तालिम लिएर व्यावसायिक रूपमा खेतीमा लागेको उनको भनाइ छ। 'दुई वर्ष भारतको साझनपुरमा उखुखेतीसम्बन्धी तालिम लिएँ, भारतकै महाराष्ट्रको साङलीमा व्यावसायिक खेतीको तालिम लिएर यहाँ आएपछि आफ्नो र जग्गा भाडामा लिएर खेतीमा लागेको हुँ', वडायकले भने, '२०७१ सालमा भारतको पन्तनगर विश्वविद्यालयमा तरकारीखेतीसम्बन्धी तालिम लिएको छु।' उनले भारतमा सिकेको सीपले खेती गर्न धेरै सहज भएको बताए। 

ड्रोन प्रविधिबाट खेती सुरु गरेपछि उत्पादन राम्रो हुन थालेको वडायकको भनाइ छ। 'ड्रोनले मानिसले भन्दा धेरै छिटो काम गर्छ, यसबाट बीउबिजन र विषादीलगायत आवश्यक कीटनाषक औषधिसमेत छर्कन सकिन्छ,' उनले भने, 'ड्रोनको प्रयोगले विषादी छर्किँदा मानिसले भन्दा राम्रोसँग छर्किन सकियो अर्को किसानको स्वास्थ्यमा हुनसक्ने समस्या पनि हुँदैन।' उनले पछिल्लो समय विषादी छर्किँदा किसानको स्वास्थ्यमा समस्या हुने गरेको उल्लेख गर्दै ड्रोन प्रविधिले किसानको स्वास्थ्यमा हुने समस्यासमेत नहुने बताए। 

ड्रोन प्रविधिले बीउबिजन र विषादी छर्किँदा थोरै लागतमा धेरै काम गर्न सकिने वडायकले उल्लेख गरे। उनले खेतीमा परिवारका सदस्यले समेत सघाउने गरेको बताए। 'मेरो भतिजा र छोरी आइएससी एजी अध्ययन गरिरहेका छन्', वडायकले भने, 'उहाँहरूले पनि मलाई प्राविधिक कुरामा सघाउनुहुन्छ, त्यसले पनि मलाई खेतीमा सजिलो भएको छ।' उनले छोरी सुस्मिता र भतिजा व्यावसायिक रूपमा कृषि गर्ने उद्देश्यले नै आइएससी एजी अध्ययन गर्न गएको बताए। 'अहिले प्रविधिले हामीलाई धेरै नै सहज बनाएको छ घरका सबै सदस्य मिलेर काम गरिरहेका छौँ', उनले भने, 'परम्परागतभन्दा प्रविधिले उत्पादन र लागत दुवैमा फाइदा भएको छ।' उनले खेतीको सिजनका बेला ३०/४० जनालाई रोजगारीसमेत दिने गरेको बताए।

'सामान्य किसानले एक बिघा जग्गामा दुईदेखि तीन लाखसम्मको उत्पादन गर्छ, मैले एक बिघामा करिब १४ लाखसम्मको उत्पादन गर्ने लक्ष्य लिएको छु', वडायकले भने, 'प्राविधिक कुरामा मात्र ध्यान दिनसके राम्रो उत्पादन हुन्छ।' उनले उत्पादन गर्न सके बजारको समस्या भने नरहेको बताए। 

'अहिलेसम्म बजारको समस्या भोग्नुपरेको छैन', वडायकले भने, 'स्वदेशमै मेहनतका साथ काम गरे विदेश जानुपर्दैन।' उनले व्यावसायिक रूपमा कृषि गरे विदेशकै जति कमाइ स्वदेशमा गर्न सकिने बताए। वडायक गत वर्ष सुदूरपश्चिम प्रदेश सरकारबाट सुदूरपश्चिमभरि सर्वोत्कृष्ट किसानका रूपमा सम्मानति भएका छन्। त्यसैगरी भीमदत्त उत्कृष्ट किसानबाट समेत उनी सम्मानित भइसकेका छन्।

पछिल्लो समय कृषिमा प्रविधिको प्रयोग बढ्दै गएको छ। परम्परागत रूपमा गोरु र राँगाहरूले जोत्ने ठाउँमा ट्रयाक्टर, मिनीटिलर, पावर टिलरको प्रयोग गर्न थालिएको छभने बाली काट्न र पिस्न पनि प्रविधिको प्रयोग भइरहेको छ। काट्नलाई रिपर, बस कटर, कम्बाइन हार्भेस्टरलगायतका अत्याधुनिक उपकरणको प्रयोग बढ्दो छ।
 
अहिले किसानले ड्रोनलगायत नयाँनयाँ बीउबिजन, रोग-कीरा नियन्त्रणसम्बन्धी प्रविधिको प्रयोग गरिरहेका छन्। किसानको धेरै समय खेतबारी खनजोतमा नलाग्ने र काम गर्न सहज हुने भएपछि यान्त्रीकीकरणतर्फ किसानको आकर्षण बढेको छ। रासस


प्रकाशित : शुक्रबार, कात्तिक ९ २०८११०:४३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend