मंगलबार, कात्तिक ६ गते २०८१    
images
images

तिहारका लागि ढकमक्क फूलेका छन् सयपत्री

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, कात्तिक ५ २०८१
images
images
तिहारका लागि ढकमक्क फूलेका छन् सयपत्री

स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न नगरपालिकाले पालिकाभित्र रहेका पुष्प व्यावसायिकले उत्पादन गरेको सयपत्री फूलको माला प्रयोग गर्न आग्रह पनि गरेको छ।

images
images

दाङ- तिहार नजिकिँदै गर्दा दाङमा सयपत्री फूल ढकमक्क फूलेका छन्। व्यावसायिक रूपमा फूलखेती गर्दै आएका किसानले यति बेला फूल तयार पारिसकेका छन्। अबको केही दिनमा फूल टिपेर माला उन्ने तयारीमा रहेको फूलखेती गदै आएका किसान बताउँछन्। 

images
images
images

घोराही उपमहानगरपालिका-१४ झिंगौराका ३९ वर्षीय लोकेन्द्र रोका मगरले सयपत्री फूल तयार पारिसकेका छन्। उनले विगत १२ वर्षदेखि फूलखेती गर्दै आएको बताए।

यसवर्ष पनि डेढ बिघा जग्गा भाडामा लिएर फूलखेती गरेको र चाडपर्वमा मात्रै नभइ अन्य समयमा पनि आफूले बारीमा फूल फुलाइरहेको सुनाए। व्यावसायिक रूपमा फूलखेती गरेका उनी यही व्यवसायमा सन्तुष्ट छन्।

images

'विगत लामो समयदेखि विदेशमा रोजगार गरेर फर्केपछि फूलखेती थालेको हुँं । बाहिरी देशमा कमाएकोभन्दा आफ्नै देशमा फूलखेतीबाटै आम्दानी हुने गरेको छ, अब विदेश नजाने बरु यही व्यवसायलाई अझ बढाउँदै लैजाने सोच छ', रोकामगरले भने।

images

रोजगारीको सिलसिलामा सात वर्ष कतारमा बिताएका रोका मगरले जिल्लामा दसैँं तिहारलगायत पर्व एवं अन्य शुभकार्यका लागि फूलको माग देखेपछि फूलखेती थालेका हुन्। 

रोल्पा माडी गाउँपालिका-१ जबाङ दुदिलाबोट स्थायी घर भएका वीरेन्द्र खड्काले पनि घोराही उपमहानगरपालिका-१४ झिंगौरामै व्यावसायिक फूलखेती गर्दै आएका छन्। उनले यसवर्ष दुई बिघा बढी जग्गा भाडामा लिएर फूलखेती गरेका छन्।

विगत चार/पाँच वर्षदेखि फूलखेती गर्दै आएका छन्। २६ वर्षीय उनले बालिविज्ञान विषयमा तीनवर्षे डिप्लोमा तह (आइएस्सीएजी) अध्ययन गरेका छन्। गत वर्ष तिहारको समयमा रु सात लाख बढीको फूल बेचेर आम्दानी गर्नुभएका उनले यस वर्षको तिहारका लागि पनि फूल फुलाइसकेका छन्। ।  

यस्तै, घोराही उपमहानगरपालिका-१३ डुम्मर गाउँका इन्द्रा बुढाको बारीमा पनि यतिबेला फूल फुलेर ढकमक्क भएका छन्। यसवर्ष उनले १० कठ्ठा जग्गामा फूलको व्यावसायिक खेती गरेकी छिन्। बुढाले विगत आठ वर्षदेखि व्यावसायिक फूलखेती गर्दै आएको बताइन्।

'विगत आठ वर्षदेखि यही खेती गरिरहेको छु। विशेषगरी तिहारलगायत चाडपर्वको बेला बढी माग हुन्छ', उनले भनिन्,' यसपटक पनि माग आउन थालिसक्यो। अबको केही दिनमा फूल टिपेर माला बनाउन सुरु गछौँ।' 

प्लास्टिकजन्य माला विस्थापित 

तिहारको अवसरमा दाङको लमही नगरपालिकाले प्लास्टिकजन्य मालाको प्रयोगलाई निषेध गर्ने भएको छ। स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न नगरपालिकाले पालिकाभित्र रहेका पुष्प व्यावसायिकले उत्पादन गरेको सयपत्री फूलको माला प्रयोग गर्न आग्रह पनि गरेको छ। 

लमही नगरपालिकाभित्र विभिन्न पाँचजना व्यवसायीले सयपत्री फूलको व्यावसायिक खेती गर्दै आएका छन्। लमही नगरपालिकाको- ३, ५ र ६ मा गरी कूल २२ कठ्ठा १५ धुर क्षेत्रफलमा सयपत्री फूलको व्यावसायिक खेती गरिएको कृषि शाखाले जानकारी दिएको छ।

जिल्लामै व्यावसायिक रूपमा फूलखेती भएपछि बाहिरबाट आउने कृत्रिम मालालाई विस्थापित गर्न सघाउ पुगेको जानकारहरू बताउँछन्।  रासस


प्रकाशित : सोमबार, कात्तिक ५ २०८११५:५४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend