मंगलबार, कात्तिक ६ गते २०८१    
images
images

नेपाललाई विश्वकै ‘आईटी हब’ को रुपमा विकास गर्ने योजना छ : सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ [अन्तर्वार्ता]

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, कात्तिक ५ २०८१
images
images
नेपाललाई विश्वकै ‘आईटी हब’ को रुपमा विकास गर्ने योजना छ : सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ [अन्तर्वार्ता]

'देशको अर्थतन्त्रमा अहिले पनि समस्या छ, तर विस्तारै लयमा फर्किँदै छ। सरकारले सय दिनको अवधिमा धेरै आशालाग्दा कामहरू गरेको छ। यसको ठोस परिणाम विस्तारै जनताले प्रत्यक्ष अनुभूत गर्ने नै छन्।'

images
images

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले हुम्लाको सिमिकोटमा फाइबर जडानदेखि एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जिओआइएमएस) स्थापनालगायत तोकिएका सबै काम पूरा भएको बताएका छन्। सरकारी निकायमा वेबसाइट प्रणाली, मोबाइल एप्लिकेसनको जिम्मेवारीका साथै फोरजी-एफटिए मोबाइल कभरेज यसअवधिमा दुई प्रतिशत थप गरी छ लाख जनता माझ पुर्‍याइएको जानकारी दिएका छन्।

images
images
images

राजनीति स्थायित्व र तीव्र आर्थिक विकास हासिल गर्ने उद्देश्यका साथ देशका प्रमुख दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमाले सम्मिलित वर्तमान सरकार गठन भएको सय दिन पुगेको छ। सोही सन्दर्भमा नेपाल सरकार र सञ्चार मन्त्रालयले हासिल गरेका उपलब्धिबारे सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङसँग राष्ट्रिय समाचार समितिले लिएको अन्तर्वार्ताको सम्पादित अंश -
 
तपाईंले सञ्चार तथा प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको सय दिन पुगेको छ, यस अवधिमा सम्पादन भएका कार्यलाई कसरी मूल्यांकन गर्नुहुन्छ?
 
यो सरकार गठन भएको सय दिन पुग्दैछ । शुरुमा त मलाई मन्त्रालय बुझ्नै केही समय लाग्यो। मन्त्रालयअन्तर्गत छ वटा क्षेत्रमध्ये सञ्चार र सूचना प्रविधि मुख्य रहेको छ। सञ्चार क्षेत्रलाई व्यवस्थित गराउन काम सुरु भएको छ भने सूचना प्रविधिका समस्या पहिचान गर्ने काम भएको छ।

सरकार गठनसँगै प्रधानमन्त्रीले हामी २१ जना मन्त्रीलाई कार्यसम्पादन सम्झौता गरी जिम्मेवारी दिनुभएको छ। मन्त्रिपरिषद्को कार्यविभाजन अन्तर्गत वर्ष दिनलाई पहिलो सय दिन, दोस्रो सय दिन र बाँकी एक सय ६५ दिनमा यो यो काम गर भनेर लक्ष्यसहित जिम्मेवारी दिइएको छ।

images

पहिलो सय दिनमा मैले सम्हालेको मन्त्रालयलाई दिएको १५ वटा जिम्मेवारी थियो। सञ्चार मन्त्रालयले सय दिनमा तोकिएका १५ वटै काम सम्पन्न गरेको छ।

images

यस अवधिमा ‘फाइवर टु द होम’ कार्यक्रमअन्तर्गत हुम्लाको सिमिकोटमा फाइबर जडान सम्पन्न भएको छ । अर्काे २० वटा सरकारी निकायमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जीओआइएमएस) स्थापनाका लागि तालिम दिने काम पनि समयमै हामीले सम्पन्न गरेका छौँ।

अर्को पाँच वटा सरकारी निकायमा वेवसाइट सिस्टम, मोबाइल एप्लिकेसनलगायतको सेक्युरिटी अडिट गर्नुपर्ने जिम्मेवारी पनि पूरा भएको छ।

‘फोर जी एफटिए’ मोबाइलको पहुँच दुई प्रतिशत थप बढाएर ६ लाख जनतामा पुर्‍याउन सफल भएका छौँ। त्यस्तै, मोबाइल सेवालाई ९७.२ प्रतिशत जनतामा पुर्‍याउने भनिएकामा त्यो काम सम्पन्न भएको छ।

‘फिक्स्ड ब्रोडब्याण्ड’ सेवा १.३६ प्रतिशतले वृद्धि भई ४४.३६ प्रतिशतमा विस्तार भएको छ। अप्टिकल फाइबर (२४ कोर माथिको) थप एक हजार किमी पुर्‍याउने भनिएकामा हाल १६ हजार आठ सय ७२ किमी पुगेको छ। त्यस्तै, फोरजी(एलटिई) प्रयोगकर्ता दुई प्रतितशत थप गरी ७२ प्रतिशत जनसङ्ख्यामा विस्तार भएको छ।
 
यसैगरी राष्ट्रिय समाचार समितिलाई २४ सै घण्टा समाचार सेवामा विस्तार गरिएको छ भने नेवारी र मैथिली भाषामा समावेशी समाचार सेवा सुरु भएको छ। गोरखापत्रमा राना-थारु भाषामा समावेशी कार्यक्रम प्रकाशन गरी हाल ४४ वटा भाषा समावेशी कार्यक्रम प्रकाशनको व्यवस्था मिलाइएको छ भने गोर्खापत्रकै थप आठ वर्षको डिजिटल रुपान्तरण गरिएको छ। रेडियो नेपालमा १४ हजार ३३ वटा पुराना अडियो टेपको डिजिल रुपान्तरण भएको छ भने दनुवार भाषा थप गरी २५ भाषामा समावेशी कार्यक्रम प्रशारण थालनी गरिएको छ। नेपाल टेलिभिजनबाट असोज ३० गतेदेखि नेपाल भाषा थप गरी सात वटा मातृभाषामा समाचार उत्पादन तथा प्रशारण भएको छ।
 
जनतालाई सुशासन दिने सरकारको लक्ष्य हासिल गर्ने सन्दर्भमा मन्त्रालय र मातहतका निकायहरूमा के कस्ता समस्या देख्नुभयो र तिनको समाधानका उपाय के हुनसक्छ?
 
सुशासनको पहिलो आधार भनेको नीति हो। नीतिमा परिमार्जन हुनुपर्ने देखेको छु। यहाँ निकै पुराना नीतिमा काम हुँदै आएको छ।

पहिलो कुरा नीति स्पष्ट हुनपर्‍यो। हाम्रा धेरै ठाउँमा नीति बनेका छैनन् र भएका नीति पनि पुराना छन्। ऐन कानूनहरू अध्यावधिक हुँदै जानुपर्छ। यहाँ पुराना कानून धेरै छन्। सूचना प्रविधि ऐन, प्रेस काउन्सिल ऐन, दूरसञ्चार ऐनलगायतमा केही संशोधनबाहेक अरु सबै पुराना नीति र ऐन रहेका छन्।

अब हामी ऐन परिवर्तन गरेर सुशासनतर्फ लैजाने अभियानमा छौँ। यसको सुरुवात भर्खरै सार्वाजनिक सेवा प्रशारण ऐन पारित गरिएको छ। नेपाल टेलिभिजन र रेडियो नेपाललाई एकीकृत गर्दै सुशासन र गर्न बनेको यो ऐन राजपत्रमा प्रकाशित भइसकेको छ। अब हामी यसलाई कार्यान्वयनमा ल्याउने तयारीमा छौँ।
  
मुलुकको सुशासन, शान्ति सुरक्षा, हत्या हिंसा नियन्त्रण आजको सबैभन्दा ज्वलन्त प्रश्नहरू हुन्। यसलाई नियन्त्रण गर्न सामाजिक सञ्जाल नियमनसम्बन्धी ऐन मस्यौदा गरेर मन्त्रिपरिषद्मा पठाएका छौँ। छिट्टै विधेयक पास गरेर समाज र राज्यलाई सुशासनतर्फ लैजाने प्रयास गर्छौं।

प्रेस काउन्सिल विधेयकलाई सुदृढ गर्नु पर्नेछ। यससम्बन्धी बन्न लागेको मिडिया काउन्सिल विधेयक राष्ट्रियसभाबाट पास भएर प्रतिनिधिसभामा आएको छ। हामी पत्रकारिता जगतलाई स्वतन्त्र र मर्यादित बनाउने प्रतिबद्ध छौँ। त्यसका लागि आमसञ्चार विधेयक तयार गरेका छौँ। दूरसञ्चार संशोधन गर्ने, चलचित्रसम्बन्धी ऐन अद्यावधिक गर्दैछौँ। यो पटक मन्त्रिपरिषद्मा मन्त्रालयसँग सम्बन्धित कम्तिमा ९/१० वटा विधेयक पुग्छ ।
 
संसदबाट सार्वजनिक प्रसारण सेवा ऐन जारी भइसकेको छ, यसको कार्यान्वयनलाई कसरी हेर्नुभएको छ?
 
संसदबाट पास भएको सार्वजनिक सेवा प्रशारण (पिएसबी) ऐन अब कार्यान्वनको चरणमा जाँदैछ। राष्ट्रपतिबाट प्रमाणीकरण भएर राजपत्रमा प्रकाशित भइसक्यो। अब यो कार्यान्वयनमा आउने चरणमा छ। त्यसको आधारमा अब हामीले नियमावली बनाउँछौँ।

त्यसको कार्यकारी निर्देशक छनोट गर्न नियमावलीले रोक्दैन। हामी अब प्रमुख नियुक्ति गर्ने प्रक्रियामा जान्छौँ। एकीकृत रुपले सञ्चालक समिति बनाएर नेपाल टेलिभिजन र रेडियो नेपाललाई व्यवस्थित रुपमा लैजान्छौँ।

अलिकति व्यावसायिक बनाउने र राज्यको तर्फबाट जनतालाई सेवा प्रदान गर्न बनेका यी संस्थालाई समयसापेक्ष प्रतिस्पर्धा योग्य बनाउनतर्फ लानेछौँ।
 
सामाजिक सञ्जाललाई व्यवस्थित गराउन मन्त्रालयले कसरी काम गरिरहेको छ?
 
हरेक कुराको सीमा हुन्छ, लोकतन्त्रको पनि सीमा हुन्छ। हाम्रो संविधानको पनि आफ्नै सीमा छ। हरेक मान्छेले खोजिरहेको हक र स्वतन्त्रताको समेत निश्चित दायरा हुन्छ। नागरिक हक उपभोग गर्दा सबैले राज्यको संविधान, ऐन कानून पनि मान्नुपर्ने हुन्छ।

अहिले सामाजिक सञ्जाल अराजक बनेको भनिदैछ। जसले जे भने पनि भयो, जति गाली गरे पनि भयो, जे लेखे पनि भयो भन्ने छ। यो त लोकतन्त्र होइन। लोकतन्त्रको विकल्प, गणतन्त्रको विकल्प उत्तम खालको लोकतन्त्र वा गणतन्त्र नै हो।

यसको विकल्प अराजकता हुन सक्दैन। आज सामाजिक सञ्जालमा जे खालको अराजकता उत्पन्न भएको छ, त्यसलाई नियमन गर्नुपर्छ। प्रयोगकर्ता, सञ्चालक र दर्ता पद्धतिलाई व्यवस्थित गर्नुपर्छ।

अराजकको अन्त्य सामाजिक नियमनभित्र पर्छ। सबैले विधि र कानून मान्नुपर्छ। सूचनाको हक सबैको अधिकार हो। स्वतन्त्रता भनेको अराजकता होइन। आलोचना स्वस्थ्य, मर्यादित र व्यवस्थित हुनुपर्छ भन्ने मान्यताका साथ सरकार अघि बढ्छ।
 
सूचना प्रविधिको अधिकतम् उपयोग गरी मुलुकले कसरी लाभ लिन सक्ने देख्नुहुन्छ?
 
मैले यदाकदा सुनेको डिजिटल अर्थतन्त्रले हाम्रो कुल ग्रहास्थ उत्पादनको तीन प्रतिशत पुर्‍याउनु पर्छ भन्नेछ। सामान्यतया कुल ग्रहास्थ्य उत्पादनको स्रोत ६० खर्ब हाराहारीमा छ। त्यसको तीन प्रतिशत भनेको करिब दुई खर्ब जतिको योगदान प्रविधि क्षेत्रले दिनुपर्छ।

प्रविधि उत्पादनमा के दिन्छौँ? उद्योग, कृषि, व्यापारलगायत हरेक क्षेत्रमा प्रविधिकोे भूमिका के हुन्छ? पर्यटन, शिक्षा, स्वास्थ्य क्षेत्रमा के हुन्छ? यो बुझ्न जरुरी छ। हामीले स्मार्ट सिटी बनाउने भन्छौँ। यो भनेको प्रविधिमैत्री सहर हुनु हो।

शिक्षामा प्रविधि साक्षरताको विषय पनि समेटिनु पर्दछ। प्रविधिको सामान्य ज्ञान हुनुपर्छ। डिजिटल नेपालको फ्रेमवर्कमा आठ वटा सेक्टर भनेका रहेछौँ। तर, हामीले १० भन्दा बढी हुनुपर्छ भन्ने सोचेका छौँ।

सरकारले डिजिटल नेपाल बनाउन पहिलो कार्य अन्तर्गत सात सय ५३ वटै स्थानीय तहमा सम्पूर्ण रुपमा डिजिटलाइजेसन गर्ने योजना बनाएको छ।

त्यसैगरी सातै प्रदेशलाई डिजिटलाइजेसन गर्ने योजना छ। नेपाल सरकारका सबै मन्त्रालयहरू र मन्त्रालय मातहतका निकाय, आयोग र विभिन्न संस्था पनि डिजिटलमा लैजाने योजना छ। यति मात्र गर्न सकियो भने हामीले धेरै काम गरेको भन्ने हुन्छ।
 
संविधानको रक्षा, जनजीविकामा सुधार ल्याउने उद्देश्यसहित प्रमुख दुई राजनीतिक दलको सहकार्यमा वर्तमान सरकार गठन भएको पनि सय दिन पूरा भएको छ। तपाईं सरकारको प्रवक्ता पनि हुनुहुन्छ, सरकारको गतिलाई कसरी हेर्नु भएको छ?
 
वर्तमान सरकार गठन भएको सय दिनसम्म आइपुग्दा राम्रा र युगिन महत्वका कामहरू भएका छ। यो सरकार गठन भएपछि लामो समयदेखि थन्किएको टिआरसी विधेयक पास भयो। बृहत शान्ति सम्झौताको अपुरो एउटा महत्वपूर्ण काम सरकारले गरेको छ। यो विषय संघीय लोकतान्त्रिक गणतन्त्रको महत्वपूर्ण पाटो हो भन्ने लाग्छ।

वर्तमान सरकार गठनपछि लामो समयदेखि दुग्ध किसानले पाउन नसकेको रकम प्राप्त गरेका छन्। सहकारी समस्या समाधानको बाटोमा छ। सहकारीसम्बन्धी ऐन कानून बनाउने कार्य पनि छिट्टै पारित हुँदैछ।
 
त्यसैगरी सरकारले बाढी, पहिरो, डुबानमा परेका जनतालाई तत्कालै उद्धार र राहातको व्यवस्था गरेको छ। बाढी, पहिरो र डुबानबाट प्रभावित सडकबाटो मर्मतपछि सञ्चालनमा आएको छ। बाढी, पहिरोबाट खानेपानी, विजुली र टेलिफोनमा आएको समस्या पनि समाधान भएको छ।

बाढी, पहिरोबाट १७ अर्बभन्दा बढी क्षति भएको प्रारम्भिक अनुमान छ। सरकारले भत्किएका संरचनाहरूको पुनःनिर्माण र पुनःस्थापना कार्य सुरु गरिसकेको र पीडितलाई केन्द्रमा राखेर निर्णयहरू गरेको छ।

अझै पनि भ्रष्टाचार नियन्त्रण तथा  सुशासनको क्षेत्रमा धेरै काम गर्न बाँकी छ। नेपालको कुनाकुनामा इन्टरनेट पुर्‍याउने हाम्रो योजना छ। नेपाललाई विश्वकै ‘आइटी हब’ को रुपमा विकास गर्ने योजना छ। त्यो गर्न सम्भव पनि छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले हालै संयुक्त राष्ट्र संघीय महासभामा आफ्नो धारणा स्पष्टसँग राख्नु भएको छ। विदेश सम्बन्धलाई अझ फराकिलो बनाउने काम भएको छ।

मुख्यतः देशभित्र नै राजनीतिक स्थिायित्वका लागि प्रमुख दुई राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाएको हुँदा जनतामा ठूलो आशा र विश्वास जागृत भएको छ। यसलाई पूरा गर्न सरकार प्रतिवद्ध छ।

देशको अर्थतन्त्रमा अहिले पनि समस्या छ, तर विस्तारै लयमा फर्किँदै छ। सरकारले सय दिनको अवधिमा धेरै आशालाग्दा कामहरू गरेको छ। यसको ठोस परिणाम विस्तारै जनताले प्रत्यक्ष अनुभूत गर्ने नै छन्। 


प्रकाशित : सोमबार, कात्तिक ५ २०८१११:४२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend