बुधबार, कात्तिक ७ गते २०८१    
images
images

फलातेमा चियाखेतीको परीक्षण सफल, बाँझिएका जमिनको सदुपयोग र रोजगारीको अवसर

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, कात्तिक ४ २०८१
images
images
फलातेमा चियाखेतीको परीक्षण सफल, बाँझिएका जमिनको सदुपयोग र रोजगारीको अवसर

'अन्नपूर्ण चक्रीय पदमार्गको घोडेपानी-भुरुङ्ग तातोपानी पदमार्गमा यात्रा गर्ने पर्यटक पनि चिया बगान हेर्नका लागि आउँछन्, पाहुना र पर्यटकलाई आफ्नै बगानको चिया पकाएर खुवाउने गरेकी छु।'

images
images

म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ फलातेमा चियाखेतीको परीक्षण सफल भएको छ। स्थानीय केशबहादुर गौचनले समुद्र सतहबाट दुई हजार चार सय ७० मिटर उचाइमा रहेको फलातेमा गर्नुभएको चियाखेती सफल भएको हो। 

images
images
images

'कृषि अनुसन्धान परिषद् (नार्क)बाट विज्ञ र माटो विज्ञ ल्याएर अध्ययन गरेर हाइअल्टिच्युडमा परीक्षणका लागि धनकुटाको पाख्रीबासबाट चियाका बिरुवा ल्याएर रोपेको थिएँ', गौचनले भने, 'परीक्षणका लागि गरेको चियाखेती सफल भएको छ।'

परीक्षण खेती सफल भएपछि फलाते आसपासका बाँझो पाखा जमिनमा चियाखेती गरेर किसानले आम्दानी गर्न सक्ने गौचनले बताए।

images

आफन्त र बजारमा कोशेलीका रूपमा पठाउनुका साथै म्याग्दीको पर्यटकीय घोडेपानी, शिख, घारका होटलमा फलातेको चिया प्रयोग हुन थालेको छ। 

images

विषादी र रासायनिक मलको प्रयोग नगरी उत्पादन गरिएको चियालाई ‘ब्ल्याक टी’ नाम दिइएको छ। स्वाद र गुणस्तर राम्रो भएकाले फलातेको चियाले स्थानीय उपभोक्ताको मन जित्न थालेको छ। वार्षिक ५० किलोग्रामसम्म चिया उत्पादन हुने गरेको गौचनले बताए।

काठमाडौंमा व्यवसाय गर्दै आएका गौचनले पुर्ख्यौली जन्मथलोमा खेर गएको बारीमा चियाखेतीसँगै दातेओखर पनि लगाएका छन्। चिया बगानको रेखदेख भने ८२ वर्षीया आमा रनदेवी गौचनले गर्छिन्। रनदेवीसँगै अन्य दुई जना स्थानीय कामदारले रेखदेख, चिया टिप्ने, सुकाउने र प्रशोधन गर्दै आएका छन्। 

६ रोपनी क्षेत्रफलमा चियाखेती गर्न २० लाख रुपैयाँ लगानी भएको रनदेवीले बताए। 'अन्नपूर्ण चक्रीय पदमार्गको घोडेपानी-भुरुङ्ग तातोपानी पदमार्गमा यात्रा गर्ने पर्यटक पनि चिया बगान हेर्नका लागि आउँछन्', उनले भने, 'पाहुना र पर्यटकलाई आफ्नै बगानको चिया पकाएर खुवाउने गरेकी छु।' 

फलातेअघि अन्नपूर्ण गाउँपालिका-६ खिवाङको पाखामा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)मार्फत चियाखेती भए पनि रेखदेख र संरक्षण नहुँदा बगान मासिएको थियो। मालिका गाउँपालिका-३ किनेतीस्थित वडा कार्यालय पसिरको सार्वजनिक पाखोमा पनि परीक्षणका लागि गत वर्ष चियाखेती भएको छ। 

म्याग्दीका अन्य ठाउँमा व्यावसायिक रूपमा चियाखेती भएको छैन। फलातेको चिया बगानको अवलोकन गर्न पुगेका अन्नपूर्ण गाउँपालिका-६ का वडाध्यक्ष रामबहादुर खड्काले स्वाद, गुणस्तरका हिसाबले व्यावसायिक चियाखेतीको सम्भावना देखिएको बताए।

चियाखेतीको माध्यमबाट बाँझिएका खेतीयोग्य जमिनलाई सदुपयोग, रोजगारी र आयआर्जनको अवसर सिर्जनाका साथै पर्यटन प्रवर्द्धन गर्न सकिने उनले बताए। रासस


प्रकाशित : आइतबार, कात्तिक ४ २०८११०:४२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend