शनिबार, मंसिर ८ गते २०८१    
images
images

दसैँमा योजना नबनाइ विद्युतीय कार लिएर यात्रा गर्दा असहज हुनसक्ने, चार्जिङ स्टेसनको अवस्था कस्तो छ?

स्वतन्त्र रुपमा पनि चार्जिङ स्टेसन बनाउने अवसर, आक्रामक विस्तारको योजना

images
बिहीबार , भदौ २७ २०८१
images
images
दसैँमा योजना नबनाइ विद्युतीय कार लिएर यात्रा गर्दा असहज हुनसक्ने, चार्जिङ स्टेसनको अवस्था कस्तो छ?

चार्जिङ स्टेसनको संख्या जसरी बढ्दै गइरहेका छन् त्यो सामान्य समयका लागि पुग्ने अवस्था नै देखिन्छ। दसैँका लागि भने अधिकांश विद्युतीय सवारी प्रयोगकर्ताहरू काठमाडौंबाट बाहिरिन्छन्। यो अवस्थामा चार्जिङ स्टेसनमा लामै लाइन लाग्ने अवस्था आउन सक्छ।

images
images

काठमाडौं- नेपाली बजारमा बिक्रीका हिसाबले विद्युतीय कार 'मेनस्ट्रिम' बनिसकेको छ। आईसी इन्जिनयुक्त कार बिक्री बढ्न नसकिरहेको अवस्थामा विद्युतीय कार राम्रै संख्यामा बिक्री भइरहनुले पनि कार सेगमेन्टमा ईभी नै 'मेनस्ट्रिम' बनेको देखिन्छ। 

images
images
images

आईसी इन्जिनका लागि इन्धन भर्न पर्याप्त संख्यामा पेट्रोल पम्प छन्। तर विस्तार हुने क्रममा रहेको विद्युतीय कारका लागि ‘पेट्रोल पम्प’ जस्तैगरी चार्जिङ पूर्वाधार बनिनसकेको भए पनि संख्या व्यापक रुपमा विस्तार हुँदै गइरहेको छ।

images

नेपाल विद्युत प्राधिकरणले गत वर्ष ५१ वटा डीसी फास्ट चार्जिङ स्टेसन बनायो भने विद्युतीय सवारी बिक्रेता कम्पनीहरूले पनि ठूलो संख्यामा डीसी फास्ट चार्जिङ स्टेसन बनाइसकेको र बनाउने क्रममा रहेका छन्। 

images

प्राधिकरणले अब चार्जिङ स्टेसन आफैँ बनाउनेभन्दा बनाउन चाहनेलाई प्रोत्साहन गर्ने नीति लिएको छ। योजनामा रहेका दुई/तीन वटा बनिसकेका छन्। प्राधिकरणले चार्जिङ स्टेसन बनाउन चाहनेलाई प्राथमिकता दिएर ट्रान्सफर्मर तथा विद्युत लाइन उपलब्ध गराउँदै आएको छ। अब प्राधिकरण आफैँले भने चार्जिङ स्टेसन तत्काल नबनाउने बताएको छ। 

यता विद्युतीय सवारी बिक्रेता कम्पनीहरूले पनि चार्जिङ पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखेका छन्। विद्युतीय कारको संख्या बढ्दै जाँदा चार्जिङ स्टेसनको संख्या पनि बढ्दै जानुपर्छ र त्यो गइरहेको पनि छ। चार्जिङ स्टेसनको संख्या जसरी बढ्दै गइरहेका छन् त्यो सामान्य समयका लागि पुग्ने अवस्था नै देखिन्छ।

दसैँका लागि भने अधिकांश विद्युतीय सवारी प्रयोगकर्ताहरू सहरबाट गाउँ जान्छन् वा काठमाडौंबाट बाहिरिन्छन्। यो अवस्थामा चार्जिङ स्टेसनमा लामै लाइन लाग्ने अवस्था आउन सक्छ। सवारी बिक्रेता कम्पनी गतवर्षको दसैँमा यात्रुले भोगेको केही कठीनाइलाई सम्बोधन गर्नेगरी यो वर्षको दसैँलक्षित चार्जिङ स्टेसन विस्तारमा लागिरहेका छन्। 

त्यस्तै विद्युतीय कार प्रयोगकर्ताहरूले पनि आफ्नो बिदाअनुसार र विद्युतीय सवारीको विशेषताअनुसार योजना बनाएर लामो यात्रा तय गर्नु उपयुक्त हुन्छ। सबैले एउटै समयमा यात्रा गर्दा चार्जिङ स्टेसन धेरै हुँदा पनि लाइन लाग्नु पर्ने हुनसक्छ, जसले गर्दा यात्राको योजना बनाउनु नै बुद्धिमतापूर्ण हुन्छ। 

आईसी इन्जिनयुक्त कार सञ्चालनका लागि पेट्रोल/डिजेलमा जति खर्चनु पर्छ विद्युतीय कारका लागि ज्यादै न्यून मूल्यको बिजुली भए पुग्छ। संसारले शून्य प्रदूषण सवारी अबको मोविलिटीका रुपमा स्वीकार गरिसक्यो। नेपालमा पनि जोडदाररुपमा विद्युतीय सवारीले लय लिँदै छ। 

यहाँसम्म आइपुग्दा कयौँ ब्रान्डका हजारौँ विद्युतीय सवारी नेपाली सडकमा गुड्न थालिसकेका छन्। विद्युतीय सवारीका लागि अत्यावश्यक पूर्वाधार भनेको चार्जिङ नेटवर्क र ईभीमैत्री सर्भिस सेन्टर हुन्। जति धेरै विद्युतीय सवारी बिक्री भयो त्यति नै मात्रामा चार्जिङ स्टेसन र सर्भिस सेन्टरहरू पनि थपिँदै जानु पर्छ। 

विद्युतीय सवारी बिक्रेताहरूले सुरु गरेको डीसी फास्ट चार्जिङ स्टेसन निर्माणमा विद्युत प्राधिकरणले केही संख्यामा बनाएर यसलाई थप प्रोत्साहन प्रदान गरिदियो। त्यसयता नेपालमा विद्युतीय सवारी बिक्रेता सबैजसो ठूला ब्रान्डले चार्जिङ स्टेसन बनाइरहेका छन्।

टाटा सिप्रदी, बीवाईडी बिक्रेता साइमेक्स इंक, एमजी बिक्रेता पारामाउन्ट, दिपललगायत बिक्रेता एमएडब्लू, ओमोडा/जेको बिक्रेता एसपीजी अटोमोबाइल, किया बिक्रेता कन्टिनेन्टल, हुन्डाई बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल, स्काइवेल बिक्रेता जी मोटर्स, आयोन, एक्सपाङलगायत बिक्रेता सीजी मोटर्सलगायत कम्पनीहरूले चार्जिङ नेटवर्कलाई बढाइरहेका छन्। 

विद्युतीय सवारी लिएर अलि लामो दुरीमा जाँदा ठाउँ-ठाउँमा चार्ज गर्नुपर्छ। त्यसका लागि डीसी फास्ट चार्जको जरुरत हुन्छ। एसी चार्जरबाट चार्ज गर्दा समय लाग्ने भएकाले सवारी उत्पादक कम्पनीहरूले डीसी फास्ट चार्जरको विकास गरेका हुन्। त्यसैले राजमार्गलगायत विभिन्न ठाउँमा राखिएका सबै डीसी फास्ट चार्जर हुन्। पछिल्लो समय एसी फास्ट चार्जरको संख्या पनि उल्लेख्य रुपमा बढेको छ। एसी फास्ट चार्जरबाट पनि कार छिट्टै चार्ज गर्न सकिन्छ। 

यो वर्ष धेरै विद्युतीय सवारी बिक्री भएकाले दसैँ मनाउन काठमाडौंबाहिर जानेहरूले आफ्नो विद्युतीय कार लिएर जाने छन्। यो २०८० को तुलनामा २०८१ मा करिब दोबर हुने अनुमान गरिएको छ। त्यसैले उनीहरूले आफूले किनेको कम्पनी वा विद्युत प्राधिकरणले बनाएको चार्जिङ स्टेसन कहाँ छ भनेर थाहा पाउनु पर्छ। जसले गर्दा उनीहरूलाई कहाँ चार्ज जर्ने भन्ने योजना बनाएर यात्रा गर्न सजिलो हुनेछ। 

नेपालमा अहिले मुख्यगरी सीसीएसटू, जीबीटी र चाडेमो चार्जिङ सिस्टम प्रचलनमा रहेका छन्। बिक्री भएका अधिकांश विद्युतीय कार सीसीएसटू चार्जिङ सिस्टममा आधारित छन्। त्यसैले सीसीएसटू चार्जिङ सिस्टमयुक्त कार चलाउने र आफ्नै कम्पनीको र नेपाल विद्युत प्राधिकरणको चार्जिङ स्टेसनमा चार्ज गर्न सक्छन्। चाडेमो चार्जिङ सिस्टम निसानको लिफ र कियाको सोल ईभीमा प्रयोग भएका छ भने चीनबाट आएका विद्युतीय भ्यानहरू जीबीटी चार्जिङ सिस्टममा आधारित छन्।

चार्जिङ पूर्वाधार निर्माणमा कस‍को अवस्था कस्तो?

टाटाका विद्युतीय कार बिक्री गर्दै आएको सिप्रदीले नेपालमा सबैभन्दा धेरै चार्जिङ स्टेसन निर्माण गरेको छ। हालसम्म कम्पनीले २६ वटा डीसी फास्ट (जसमा २ वटामा २ वटा गन छन्) बनाएको छ। यो संख्या विद्युत प्राधिकरण पछि निजी क्षेत्रबाट बनेको सबैभन्दा धेरै हो। त्यस्तै सिप्रदीले १ सय ४० वटा एसी फास्ट चार्जर पनि निर्माण गरेर सञ्चालन गरेको छ। सबैजसो ठूला राजमार्गमा टाटाको चार्जिङ स्टेसन सञ्चालनमा छन् भने यसलाई बढाउँदै जाने योजना कम्पनीले बनाएको छ। 

त्यसैगरी सिप्रदीले दसैँलाई लक्षित गरेर २ जनालाई चौबिसै घण्टा चार्जिङबारे आउने गुनासो सम्बोधन गर्न तोक्ने तयारी गरेको छ भने अफलाइन वा सबैलाई निःशुल्क चार्जिङको व्यवस्था गर्दैछ। सर्भिस सेन्टरलाई पनि आवश्यकताअनुसार सञ्चालनमा ल्याउने तयारी सिप्रदीले गरेको छ। 

त्यस्तै अर्को धेरै विद्युतीय सवारी बिक्री गर्ने कम्पनी हो बीवाईडी। चार्जिङ स्टेसन र सर्भिस सेन्टर विस्तारमा बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंक पनि आक्रामक छ। बीवाईडीले हालसम्म देशका विभिन्न स्थानमा ३३ वटा डीसी फास्ट चार्जर सञ्चालनमा ल्याइसकेको छ। 

त्यस्तै यो वर्षको दसैँअघि साइमेक्सले थप २० वटा डीसी फास्ट चार्जर जडान गरेर सञ्चालनमा ल्याउने जनाएको छ। चार्जर आएर लोकेसनसमेत पहिचान भएकाले दसैँअघि नै जडान गरेर उक्त चार्जिङ स्टेसन सञ्चालनमा ल्याइने साइमेक्सले जनाएएको छ। साइमेक्सले हालसम्म ३१ वटा एसी चार्जर पनि सञ्चालनमा ल्याइसकेको छ। 

एमजीको नेपालका लागि आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले डीसी र एसी गरेर अहिले २३ वटा चार्जिङ स्टेसन सञ्चालनमा ल्याइसकेको छ। दसैँअघि केही संख्यामा चार्जर थप्ने योजना रहेको पारामाउन्टले जनाएको छ। त्यस्तै कम्पनीले २०२४ भित्र थप ५० वटा चार्जर विस्तार गर्ने योजनासहित काम गरिरहेको उल्लेख गरेको छ।  

यसैगरी सारडा समूह र सांग्रिला मोटर्सले संयुक्त रुपमा डीसी फास्ट चार्जिङ विस्तार गरिरहेका छन्। सारडा समूहले ओमोडा/जेको र जीकर ब्रान्डका विद्युतीय कार र सांग्रिला मोटर्सले सिट्रोन र लिपमोटरको विद्युतीय कार बिक्री गर्दै आइरहेका छन्। यी दुई कम्पनीले हाल ५ वटा डीसी फास्ट चार्जर जडान गरिसकेका छन् भने एक महिनाभित्र देशका विभिन्न स्थानमा ७ वटा डीसी फास्ट चार्जर सञ्चालनमा आउने कम्पनीले जनाएको छ। त्यस्तै अबको केही महिनाभित्र तेस्रो चरणमा कम्पनीले थप १५ वटा डीसी फास्ट चार्जिङ स्टेसन बनाउने योजना बनाएको छ। 

एमएडब्लू समूहले बिक्री गर्ने विभिन्न ब्रान्डका लागि कम्पनीले चार्जिङ स्टेसन निर्माण गरेको छ। यो समूहले हालसम्म देशभर ५० स्थानमा ४० र ६० किलोवाटका चार्जर जडान गरिसकेको छ। एमएडब्लू समूहअन्तर्गत दिपल, सेरेस, नामीलगात कार ब्रान्ड र फोटोन र सोकोन ब्रान्डको विद्युतीय भ्यान बिक्री गर्दै आएको छ। ब्रान्ड थपिएसँगै चार्जिङ स्टेसन विस्तारलाई प्राथमिकतामा राखेको छ। कम्पनीले छिट्टै ८० वटा थप चार्जिङ स्टेसन बनाउने योजना अघि सारेको छ। 

२०१९ देखि विद्युतीय कार बिक्री गर्दै आएको हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ५० भन्दा बढी स्थानमा चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ। यही समूहअन्तर्गतको लक्ष्मी ईमोबिलिटीले नयाँ केई ब्रान्डका कार ल्याएकाले थप चार्जिङ स्टेसन बनाउँदै जानेछ। 

धेरै विद्युतीय सवारी ब्रान्ड ल्याएको चौधरी समूह अन्तर्गतको सीजी मोटर्सले हालसम्म १ सय ९१ वटा चार्जिङ स्टेनस बनाएको छ। तर यसमध्ये १ सय ६४ वटा जीबीटी चार्जर रहेका छन्। जीबीटी चार्जरले विद्युतीय कार चार्ज गर्न मिल्दैन। सीजी मोटर्सले सीसीएसटू चार्जर भने ३० वटामात्र जडान गरेको छ। 

यसका साथै दिगो समूहले इस्पट नामक चार्जिङ स्टेसन बनाएर सञ्चालन गरिरहेको छ। हाल दिगोले कुरिन्टारमा ६ वटा सीसीएसटू र ६ वटा जीबीटी गनसहित चार्जिङ स्टेसन चलाएको छ। कम्पनीले थप ५ वटा इस्पट सञ्चालनमा ल्याउने जनाएको छ। 

नेपाली बजारमा विद्युतीय कार बिक्री गर्ने अन्य ब्रान्डहरूले पनि चार्जिङ स्टेसन बनाउन लागि परेका छन्। त्यसैले आगामी दिनमा विद्युतीय कारको चार्जिङ स्टेसनको संख्या बढ्दै जाने छ। 

स्वतन्त्र चार्जिङ स्टेसन बनाउनेलाई पनि अवसर

विद्युतीय सवारी ब्रान्ड ल्याएर चार्जिङ स्टेसन बनाउनु उनीहरूको व्यापार विस्तार र उपभोक्तामा विश्वास बढाउनु पनि हो। विद्युतीय कारको संख्या बढ्दैसँगै सबै लोकसनमा कम्पनीहरूले चार्जिङ स्टेसन बनाउन कठlन हुनसक्छ। सोहीकारण सवारी ब्रान्ड बिक्री नगरिकनै स्वतन्त्र रुपमा चार्जिङ स्टेसन सञ्चालन गरेर व्यवसाय गर्नसक्ने अवस्था आएको छ। 

केही लाख रुपैयाँ लगानीमा गुणस्तरीय चार्जर खरिद गरेर उपयुक्त लोकसनमा चार्जिङ स्टेसन बनाउँदा दुईदेखि तीन वर्षमा लगानी उठाउन सकिने सम्बद्ध व्यावसायीहरूले बताएका छन्।

विद्युत प्राधिकरणले पनि चार्जिङ स्टेसनबाट बिक्री गरिने प्रतियुनिट शुल्क बढाउने प्रस्ताव गरेकाले त्यो निर्णय भएर कार्यान्वयन भएमा स्वतन्त्र रुपमा चार्जिङ स्टेसन चलाउनेहरूलाई थप फाइदा हुनेछ।

त्यस्तै हाइवे साइडमा होटल तथा किराना पसल सञ्चालन गर्नेहरूका लागि पनि यस्तो मोडलको चार्जिङ स्टेसनमा लगानी गर्नु लाभदायी नै हुन्छ। जसका कारण उनीहरूको व्यापार केही बढ्ने र विद्युतीय कार लिएर यात्रा गर्नेहरूले सुविधा पाउनुका साथै रेन्ज एन्जाइटीसमेत हट्छ। 


प्रकाशित : बिहीबार , भदौ २७ २०८११३:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend