काठमाडौं- एउटा जहाजको ‘महायात्रा प्रस्थान’ हुँदै छ। वस्तु र साधनसँगको आत्मीयतालाई मनन गर्ने हो भने यसको बिदाइ हार्दिकतासाथ हुने छ। आफ्नो पूरा आयु पूरा गरेको जहाज अब आकाशमा देखिने छैन।
७० हजार उडान साइकलपछि एटीआर ४२-३२० ‘नाइन एन-एआईएन’ जहाजले अन्तिम बिदाइ लिने भएको छ। बुद्ध एयरमार्फत नेपाली आकाशमा नै ४० हजार टेकअफ ल्याण्ड गर्दै ७० हजार उडान साइकल पूरा गरेर बलियो आकृति बनाएको जहाजले नेपालमा १८ लाख यात्रुलाई सेवा दिएको छ। (एक टेकअफ र एक ल्याण्डिङबराबर एक उडान साइकल हुन्छ।)
उडानमा आफ्नो पूर्ण समय दिएको ‘नाइन एन-एआईएन’ जहाज एटीआर जहाज उत्पादक कम्पनीले उत्पादन गरेको जहाजमध्ये पूरा समय ७० हजार उडान साइकलपछि बिदाइ हुने पहिलो जहाज पनि हो।
एटीआर सन् १९८१ मा स्थापना भएको फ्रेन्च-इटालियन जहाज निर्माता कम्पनी हो। एटीआर ४२-३२० ‘नाइन एन-एआईएन’ ट्वीन टर्बोप्रप जहाज हो। ४७ जना यात्रु क्षमता रहेको यो जहाजमा ठूला ओभरहेड बिन्सका साथै आरामदायक क्याबिन रहेको छ।
१० मिनेटभन्दा कम समयमा १५ हजार फिटबाट १७ हजार फिटको उचाइमा जान सक्ने यो जहाज शक्तिशाली जहाज मानिन्छ। उत्कृष्ट टेकअफ र सिंगल इन्जिन पर्फरमेन्स जुन ‘हट एण्ड हाई कन्डिसन’ मा पनि साथ दिने हुँदा यो जहाज राम्रो मानिन्छ। यसमा ‘सर्ट फिल्ड पर्फरमेन्स’ र ‘स्टेप एप्रोच क्यापाबिलिटी’ पनि उत्कृष्ट मानिन्छ।
यस्तै सुविधा रहेको एटीआर ‘नाइन एन-एआईएन’ सन् १९९७ डिसेम्बर २८ बाट उडानमा आएको जहाज हो। फ्रान्सेली क्षेत्रमा पर्ने टापु न्यू क्यालेडोनियाको एयर क्यालेडोनियाले सबैभन्दा पहिले यो जहाज उडान गरेको थियो।
बुद्ध एयरले उक्त ‘नाइन एन-एआईएन’ जहाज सन् २००८ को सेप्टेम्बरमा नेपाल ल्याएको थियो। सेप्टेम्बर ७ बाट यो जहाजले माउन्टेन उडानबाट नेपाली आकाशमा व्यावसायिक उडान सुरु गरेको थियो।
नेपाली आकाशमा उडान सुरु गरेको १६ वर्षपछि जहाजको ‘उडान साइकल’ समाप्त भएको हो। नेपालमा यो जहाजको अन्तिम उडान पनि माउन्टेन उडान नै भएको छ। ‘नाइन एन-एआईएन’ले आज मंगलबार काठमाडौंबाट अन्तिम माउन्टेन फ्लाइट गर्ने छ। माउन्टेन उडानमा एटीआर कम्पनीका प्रतिनिधिहरूसमेत हुनेछन्।
नेपाली आकाशमा ४० हजार उडान साइकलमार्फत उडान गरेको ‘नाइन एन-एआईएन’ जहाजले नेपाल आउनुभन्दा पहिले ३० हजार उडान साइकल उडान गरेको थियो। नियमित जाँच र मर्मतसम्भार गर्ने हो भने जहाज पुरानो हुँदैन र पूरा उडान समयसम्म सेवा दिन सक्छ भन्ने विषय यही जहाजले बुद्ध एयरमार्फत प्रमाणित गरेको छ।
सुरक्षित उडानका लागि आवश्यक पर्ने सम्पूर्ण जाँच र मर्मतमा बुद्ध एयरले ध्यान दिएकै कारण ‘नाइन एन-एआईएन’ को सुखद अन्तिम बिदाइ हुँदै छ। यो जहाज अब फायर फाइटर तथा रेस्क्यू टिमलाई विभिन्न अध्ययन अनुसन्धानमा प्रयोग गर्नका लागि हस्तान्तरण गरिने बुद्ध एयरले जनाएको छ।