मंगलबार, असोज ८ गते २०८१    
images
images

एमसीसी र ट्रान्सरेल लाइटिङबीच १८ किमि सीमापार प्रसारण लाइन निर्माण सम्झौता

images
शुक्रबार, भदौ १४ २०८१
images
images
एमसीसी र ट्रान्सरेल लाइटिङबीच १८ किमि सीमापार प्रसारण लाइन निर्माण सम्झौता
images
images

काठमाडौं- नेपाल सरकारको लगानी र अमेरिकी सरकारको अनुदानमा कार्यान्वयन भइरहेको एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रमअन्तर्गतको विद्युत् प्रसारण आयोजनाको १८ किमि सीमापार प्रसारण लाइन निर्माण सम्झौतामा एमसीए-नेपालले हस्ताक्षर गरेको छ।

images
images
images

नवलपरासी (वर्दघाट सुस्ता पश्चिम) जिल्लामा निर्माणाधीन ४०० केभी क्षमताको नयाँ बुटवल सबस्टेशनदेखि नेपाल-भारत सीमासम्म २१ महिनाको करार अवधिमा निर्माण गरिने यो १२३.६० लाख अमेरिकी डलरको सम्झौता ट्रान्सरेल लाइटिङ लिमिटेडसँग गरिएको हो। 

अर्थ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, एमसीसी तथा एमसीए-नेपालका पदाधिकारी उपस्थितिमा खड्ग बहादुर विष्ट र ट्रान्सरेल लाइटिङ लिमिटेडका प्रतिनिधि अमोल वाङ्खेदेबीच सम्झौता पत्रमा हस्ताक्षर भएको एमसीए नेपालले जनाएको छ।

अर्थ मन्त्रालयका सचिव एवं एमसीए-नेपाल सञ्चालक समितिका अध्यक्ष डा. रामप्रसाद घिमिरेले नेपालको क्षेत्रीय बजारलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउन यो सम्झौता महत्वपुर्ण हुने बताए।

images

'निर्माण सम्झौता सम्पन्न भइसकेका कुल १२.६० करोड अमेरिकी डलर बजेटयुक्त तीन वटा सबस्टेशनसहित यो १८ किमि प्रसारण लाइनले नेपालको ऊर्जासम्बन्धी आन्तरिक लक्ष्य हासिल गर्नुका साथै क्षेत्रीय ऊर्जा बजारमा नेपाललाई स्थापित गराउन नेपाललाई सघाउने सन्दर्भमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ', घिमिरेले भने।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतसँगको सीमाभार उर्जा सहकार्यका लागि यो सम्झौता उपयोगी हुने बताएका छन्।

'यो १८ किमि अंश निर्माण आयोजना मात्रै होइन, नेपालको ऊर्जा पूर्वाधारमा सुधार गर्ने र भारतसँगको सीमापार ऊर्जा सहकार्यलाई थप गहन बनाउनेसन्दर्भमा यो महत्वपूर्ण सेतु हो। यो उपलब्धि संलग्न भएका सबैको रणनैतिक दूरदृष्टि र प्रतिबद्धताको प्रमाण हो', घिसिङले भने। 

एमसीसी कार्यान्वयनका लागि यो सबैभन्दा महत्वपुर्ण सफलता भएको एमसीसीका आवासीय राष्ट्रिय निर्देशक डायल एल फ्रान्सिस्कोले बताएका छन्। यो सम्झौताले बाँकी २९७ किमि लामो प्रशारण लाइन निर्माणका लागि बाटो खोलेको उनले बताए।

उनले भने, '१८ किमि सीमापार प्रसारण लाइन निर्माणका लागि सम्झौता गर्नेसन्दर्भमा प्राप्त यो सफलतापूर्ण नेपालको ऊर्जा परिदृश्य र आर्थिक भविष्यलाई रूपान्तरण गर्ने हाम्रो साझा यात्राको एउटा मुख्य कोशेढुङ्गा हो। यो उपलब्धि एमसीसी नेपाल कम्प्याक्टले गएको वर्ष हासिल गरेका कैयौँ सफलतामध्ये एउटा हो तर यसले वृहद् २९७ किमि लामो प्रसारण लाइन निर्माणका लागि मार्गप्रशस्त गर्ने भएकोले यसको विशेष महत्व छ।'

एमसीए-नेपालका कार्यकारी निर्देशक  खड्ग बहादुर विष्टले यस १८ किलोमिटर प्रसारण लाइन निर्माण सम्झौताले राष्ट्रिय गौरवको आयोजना निर्माणको बाटो खोलेको बताए।

'एमसीसी नेपाल कम्प्याक्टको पहिलो वार्षिकोत्सव मनाउँदै गर्दा हस्ताक्षर गरिएको यस निर्माण सम्झोता हामीले गरिरहेको प्रगतिको स्पष्ट सूचक हो । छिटो निर्माण सम्पन्न गर्नका लागि वृहद् प्रसारण लाइनबाट छुट्याइएको यस १८ किमि सीमापार अंशले यस राष्ट्रिय गौरवको आयोजनाको लक्ष्य हासिल गर्नमा नेपाल सरकारको प्रतिवद्धतालाई प्रतिविम्बित गर्दछ र सबै सरोकारवालाबीचको सहकार्यात्मक प्रयासले सफलतापूर्ण उपलब्धि दिलाउँछ भन्ने कुराको पुष्टि गर्दछ', उनले भने।

बाँकी २९७ किमि प्रसारण लाइन निर्माणका लागि यसै वर्षको अन्त्यसम्ममा बोलपत्र आह्वान गर्न एमसीए-नेपालले तयारी गरिरहेको छ।


प्रकाशित : शुक्रबार, भदौ १४ २०८११५:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend