सोमबार, असोज ७ गते २०८१    
images
images

असक्षम नेतृत्वका कारण निगमको आम्दानीमा ठूलो गिरावट, जहाज उडानबाट एक वर्षमा १५ अर्ब ४३ करोडमात्रै आम्दानी

images
शुक्रबार, साउन ३२ २०८१
images
images
असक्षम नेतृत्वका कारण निगमको आम्दानीमा ठूलो गिरावट, जहाज उडानबाट एक वर्षमा १५ अर्ब ४३ करोडमात्रै आम्दानी
images
images

काठमाडौं नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को व्यापार घट्दो छ। निगमको आम्दानी अघिल्लो आर्थिक वर्ष २०७९/०८० को तुलनामा गत आर्थिक वर्ष २०८०/०८१ मा सवा ३ अर्बभन्दा बढीले घटेको छ।

images
images
images

आम्दानी घट्नुको प्रमुख कारण निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको असक्षमता र लापरबाही नै हो। अधिकारीको कमाउधन्दाकै कारण निगमको इन्जिन मर्मतमा लापरबाही हुँदा आम्दानीमा ठूलो गिरावट आएको हो।

गत आवमा मात्रै निगमको दुईवटामध्ये एउटा न्यारोबडी नाइन एन एकेएक्स ७ महिनासम्म ग्राउन्डेड भएको थियो। एउटा न्यारोबडी ग्राउन्डेड हुँदा निमगको १ करोड १५ लाख रुपैयाँ आम्दानी गुम्छ।

गत आवमा निगमको एउटा न्यारोबडी जहाज २०८० को असारदेखि नै ग्राउन्डेड थियो। यो जहाज असोज ११ गतेबाट मात्रै उडानमा आएको थियो। साथै यही जहाज पुन: मंसिर १४ गतेबाट बैशाख १६ गतेसम्म इन्जिन मर्मतमा भएको लापरबाहीका कारण ग्राउन्डेड भएको थियो। यति लामो समयसम्म न्यारोबडी जहाज ग्राउन्डेड हुँदा २ अर्ब ५० करोड रुपैयाँ आम्दानी गुमाएको थियो।

images

यसैगरी असारमा वाइडबडी सी-चेकमा पठाउँदा निमगको आम्दानीमा ठूलो गिरावट आएको हो।

निगमको वाइडबडी एक दिनमात्रै उडानमा नहुँदा १ करोड ६० लाख रुपैयाँसम्म आम्दानी गुम्छ। यसबाहेक पनि निगमको आन्तरिक उडानमा लापरबाही हुँदा आम्दानीमा ठूलो गिरावट आएको हो।

निगमले आफै सार्वजनिक गरेको आकाश भैरव रिपोर्टअनुसार जहाज उडानबाट जम्मा १५ अर्ब ४३ करोड रुपैयाँ आम्दानी गरेको छ। यो रकम विगतका वर्षहरूको भन्दा ३ अर्बभन्दा बढीले कम हो।

यसैगरी निगमले गत आवमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ सेवा सञ्चालन गरी ४ अर्ब ५० करोड आम्दानी गरेको छ। यसैगरी निगमले ४० करोड जति अन्य शीर्ककबाट आम्दानी गरेको छ।  

स्रोतका अनुसार निगमले गत आवमा मात्रै सवा २० अर्बको कारोबार गरेको छ। अघिल्लो आवमा निगमले २३ अर्ब ३६ करोड रुपैयाँ आम्दानी गरेको अर्थ मन्त्रालयले सार्वजनिक गरेको संस्थाहरूको वित्तीय विवरण समावेश भएको पुस्तकमा उल्लेख छ। 

निगमले अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानबाट १५ अर्ब ४३ करोड, ग्राउन्ड ह्यान्डलिङ सेवाबाट ४ अर्ब ५० करोड र अन्य शीर्षकबाट ४० करोड गरी २० अर्ब ३३ करोड रुपैयाँ बराबरको आम्दानी गरेको छ। जुन आम्दानी अघिल्लो आवको तुलानमा ३ अर्ब ६ करोड रुपैयाँ भन्दा बढीले कम हो।

निगम स्रोतका अनुसार गत आवमा निगमको आम्दानी घटेपनि खर्च अन्य वर्षको तुलनामा २० प्रतिशतसम्मले बढेको छ। स्रोतका अनुसार गत आवमा निगमको खर्च २४ अर्ब ४३ करोडबाट बढेर २८ अर्बभन्दा बढी भएको छ। यस हिसाबले हेर्दा निमग गत वर्ष इतिहासमै सबैभन्दा धेरै घाटा ब्यहोर्दै छ।

आम्दानी घट्दा निगमले जहाज खरिदमा लिएको ऋणको किस्ता र ब्याजसमेत समयमा भुक्तानी गर्न सकेको छैन। जहाज खरिदका लागि लिएको ३४ अर्ब ऋण बढेर ४८ अर्ब भइसकेको छ। हरेक वर्ष जहाज खरिमा दिएको ऋण समयमा नै तिर्न नसक्दा साँवा रकममा जोडिँदै गएको छ। 

जहाज उडानबाट १५ अर्ब ४३ करोडमात्रै

गत आवमा निगमले दुईवटा न्यारोबडी, दुईवटा वाइडबडी र दुईवटा ट्वीनअटर जहाज सञ्चालनबाट १५ अर्ब ४३ करोड रुपैयाँ आम्दानी गरेको छ। निगमले सार्वजनिक गरेको आकाश भैरव रिपोर्टअनुसार गत आवमा निगमले १५ अर्ब ४३ करोड रुपैयाँ जहाज उडानबाट आम्दानी गरेको छ।

चैत र बैशाखमा २ अर्ब ८२ करोड रुपैयाँ जहाज उडाएर आम्दानी गरेको निगमले जेठ र असारमा २ अर्ब २२ करोडमात्रै आम्दनी गरेको छ। निगमले असारमा गरेको आम्दानी गत आवको १२ महिनामा सबैभन्दा कम आम्दानी भएको महिना हो। असारमा निगमले जम्मा ९६ करोड रुपैयाँमात्रै आम्दानी गरेको हो।  

गत वर्षमा जहाज उडानबाट गरेको आम्दानी विगतको वर्षहरूको तुलनामा ज्यादै न्यून हो।

निगमको न्यारोबडी जहाज चालु आवको सुरुमै दुई महिनाभन्दा बढी र पछिल्लो समय पाँच महिनासम्म ग्राउन्डेड हुँदा त्यसको असर आम्दानीमा परेको हो। निगम स्रोतका अनुसार खर्च भने विगतका वर्षहरूमा भन्दा बढी छ तर आम्दानी घट्दो छ।

निगमको आम्दानी न्यारोबडी जहाज ग्राउन्डेड हुँदा घटेको निगमको तर्क छ। आम्दानी घटेपनि खर्च रकममा भने समस्या नरहेको निगमले बताइरहेको छ। तर जहाज खरिदमा लिएको ऋणको आंशिक किस्ता र ब्याजमात्रै तिरिरहेको छ।

कुन महिना कति आम्दानी? 

चालु आवको १० महिनामा सबैभन्दा बढी आम्दानी भएको महिना कात्तिक हो। कात्तिकमा निगमका अन्तर्राष्ट्रिय उडानमा प्रयोग हुने चारवटै जहाज (दुईवटा वाइडबडी र दुईवटा न्यारोबडी) उडानमा थिए।

उक्त महिना निगमले १ अर्ब ६७ करोड रुपैयाँ आम्दानी गरेको थियो। त्यसपछि निरन्तर ग्राउन्डेड भएको न्यारोबडी अप्रिल २८ बाटमात्रै उडानमा आएको छ। त्यसअघि निगमको एउटा न्यारोबडी जहाज निरन्तर रुपमा ग्राउन्डेड नै थियो।

असोज २० गतेबाट मंसिरको १४ गतेसम्म निगमका चारवटै जहाज उडानमा थियो। सोही कारण चालु आवको कात्तिकमा निगमले सबैभन्दा बढी १ अर्ब ६५ करोड ७७ लाखको आम्दानी गरेको थियो।

मंसिरको १४ दिन पनि चारवटै जहाज उडानमा थियो। जसकारण मंसिरमा कात्तिकको तुलनामा १५ करोडमात्रै कम आम्दानी गरेको थियो। मंसिरमा १ अर्ब ५० करोड रुपैयाँको आम्दानी भएको थियो। 

निगमको जहाज उडानबाट भएको महिनागत आम्दानी.png


प्रकाशित : शुक्रबार, साउन ३२ २०८११३:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend