प्रतिनिधिसभाका दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमालेसहितका दलहरूको गठबन्धनमा नयाँ सरकार बनेपछि पुन: अर्थमन्त्रीका रुपमा एमाले उपाध्यक्ष विष्णु पौडेल आएका छन्। सेयर बजारमा देखिएको वृद्धिसँगै अर्थतन्त्रका अन्य अवयवहरू सुधार गर्दै बढ्नुपर्ने अहिलेको चुनौतीमा अर्थ मन्त्रालयले कसरी काम गरिरहेको छ त?
कोभिड महामारीपछि सुस्ताएको अर्थतन्त्र विस्तारै लयमा फर्किरहँदा सरकारले अर्थतन्त्रमा थप सुधार ल्याउन कस्ता योजना बनाएको छ? निर्माण व्यवसायलाई चलायमान बनाउनेदेखि उद्योगी व्यवसायीको गुमेको आत्मविश्वास फर्काउन कसरी काम भइरहेको छ? यिनै विषयमा अर्थमन्त्री पौडेलसँग बिजनेस न्युजका उत्तम काप्री र रविन्द्र शाहीले गरेको कुराकानीको सम्पादित अंश -
डिजिटल नेपाल भनेर हामीले लामो समयदेखि कुरा गरिरहेका छौँ। तर डिजिटल नेपालमा पाइला बढाइरहँदा डिजिटल भुक्तानीमा समेत भ्याट लगाउने व्यवस्थाले फाइदा गर्ला त?
डिजिटल नेपाल बनाउनका लागि जेसुकै काम गर्नुपरे पनि हामि गर्छौं। भुक्तानीमा लागेको भ्याटका बारेमा प्रतिक्रिया आएका छन्।
म मन्त्री भएर आएपछि यसका बारेमा आएका विभिन्न प्रतिक्रियाका बारेमा यथेष्ट छलफल र अध्ययन गरेर हामी निष्कर्षमा पुग्छौँ। यो करको औचित्य के हो भन्नेसम्मका प्रश्न पनि आएका छन्। हामी यसमा छिटै निष्कर्षमा पुग्छौँ।
राजनीतिक रुपमा नेतृत्वबाट मन्त्रीका रुपमा हेर्दा तत्काल गर्नुपर्ने र दीर्घकालीन रुपमा गर्नुपर्ने कामको सूची त बनाउनुभएको होला?
मैले कामको सूची बनाएको छु। सूची सुनाउनेभन्दा पनि काम गरेर परिणाम निकाल्ने पक्षमा हामी छौँ। प्रधानमन्त्रीज्यूले सयदिनभित्र गर्ने कामको योजना बनाएर लाग्न भन्नुभएको छ। मन्त्रालयको प्रदर्शन बढाउनका लागि हामी काम गरिरहेका छौँ। कामको परिणाम नै एकैपटक देखाउनेछौँ। सबै मन्त्रालयमार्फत समग्रमा सुधारतर्फ अघि बढ्ने छौँ।

पछिल्लो तीन/चार वर्षदेखि संघीय सञ्चित कोष घाटामा छ। अर्थ मन्त्रालयमा हुँदा र बाहिरबाट पनि तपाईंले नियालिरहुनुभएको छ। राजस्वको ग्रोथ पनि खुसी मनाउने खालको उत्साहपूर्ण छैन। यसमा अब कसरी अघि बढ्ने सोच्नुभएको छ?
अघिल्लो वर्ष राजस्व ऋणात्मक थियो। त्यसैले गत वर्षको यथार्थमा ६.६ प्रतिशतको वृद्धिदरमात्र हो। सकारात्मक भएपनि यो उत्साहजनक भने होइन। अघिल्लो वर्षको राजस्व आफैमा चिन्ताजनक पनि छ।
राजस्व परिचालनको लक्ष्य भेटाउनका लागि यो वर्ष ३० प्रतिशत बढाउनुपर्छ। ३० प्रतिशत बढाउने अभिभारा चानचुने होइन। लामो समयदेखिका लागि सामार्थ्य हेर्ने हो भने यस्तो अवस्थामा ३० प्रतिशत बढाउने भनेको चानचुने होइन। तर मेरो उद्देश्य राजस्व परिचालनका कोणबाट उपलब्धिमूलक बनाउने हो। विगतका खराब सूचकलाई सुधार गरेर लक्ष्य भेट्नेगरी काम गर्न खोजेको छु।
निजी क्षेत्रलाई विश्वासमा लिएर, उद्योगीहरूमा आत्मविश्वास जगाएर उत्पादन र उत्पादकत्व वृद्धिका लागि उनीहरूमार्फत नै काम गर्ने हो। स्वच्छ व्यवसायमैत्री वातावरण बनाउने हो। राजस्व परिचालन कसरी जान्छ हेरौँ। हाम्रो इमान्दार प्रयास हुने नै छ। लक्ष्य सजिलो नभए पनि हाम्रो सफलता उल्लेखनीय छ।
ढुकुटी घाटाको जुन कुरा छ गत वर्षको अन्त्यमा हामी २ खर्ब ३९ अर्बले घाटामा छौँ। यो चिन्ताजनक अवस्था हो।
सञ्चित कोष ऋणात्मक भइरहेको छ। यो चानचुने चिन्ताको विषय होइन। तर हामी चिन्तित हुने होइन। अहिलेको अवस्थामा अधिकतम जे राम्रो गर्न सकिन्छ गरेर घटा न्यूनीकरण गर्ने हो।

विकास निर्माणको काममा बजेट निकासा नहुँदा समस्या भइरहेको छ, त्यसमा अर्थ मन्त्रालयको भूमिकामाथि पनि प्रश्न उठिरहेको छ नि?
निर्माण व्यवसायीको भुक्तानीको विषयमा हामीप्रति अपेक्षा छ। हामी भर्खर आएका छौँ।
निर्माण व्यवसायीले गुनासो गर्नुभयो र हामीले निर्माण भएको कामको रकम रोकिँदैन भनेका छौँ। विधिसम्मत कामको भुक्तानी सम्बन्धित मन्त्रालयबाट पाइन्छ भनेका छौँ। यसमा एकपटक पनि रोकिँदैन। जुन भुक्तानी भइरहेको पनि छ।
अर्कोतिर बहुवर्षीय स्रोत सुनिश्चिततामा हामीले विचार गर्नैपर्ने अवस्था छ। हिजो गरिएका आयोजनाको कार्यान्वयन अवस्था के छ? पाँच अर्बको आयोजनालाई पाँच लाख विनियोजन गरिएको छ। नातिको पालामा पनि सम्पन्न नहुनेगरी आयोजना अघि बढेको देखिन्छ। त्यसैले यो त सही बाटो हुँदै होइन। व्यवाहारिक भएर जानुको विकल्प छैन।
तपाईं अर्थमन्त्री भएपछि सेयर बजारले सधैँ सकारात्मक प्रतिक्रिया जनाइरहेको हुन्छ, लामो समयदेखि निराश भएको क्षेत्रमा निरन्तर सुधार देखिएको छ। यो भरोसालाई सरकारले कसरी सम्बोधन गर्छ?
सेयर बजारले अहिलेको सरकारलाई विश्वास गरेको छ। लामो समयदेखि संग्रहित समस्या समाधान हुन्छन् र अर्थतन्त्रमा सुधार हुन्छ भन्ने आशा र अपेक्षा छ। त्यो अपेक्षालाई जीवनको यथार्थमा बदल्नेगरी हामी अघि बढ्छौँ।
प्रधानमन्त्रीज्यूको जुन अपेक्षा छ त्यसलाई सहयोग हुनेगरी नै मैले अर्थमन्त्रीका रुपमा काम गर्ने हो। अर्थतन्त्रमा जुन शिथिलता देखिएको छ त्यो अन्त्य हुन्छ।

सेयर बजारमा विषयमा बजार चलिरहँदा संसदमा र संसदीय समितिहरूमा पनि सांसदहरूले विभिन्न कुरा उठाउने गरिरहेका छन्, किन इन्साइडर ट्रेडिङ र कर्नरिङका कुरा आइरहेको हो?
सेयर बजार अर्थतन्त्रको ऐना हो। त्यसैले यसको नेचुरल ग्रोथ हुनुपर्छ भन्ने नै मेरो धारणा हो। प्राकृतिक रुपमा हुने स्वभाविक विकासलाई सरकारले साथ दिन्छ। इन्साइडर ट्रेडिङ र कर्नरिङ हुने नकारात्मक प्रवृत्तिले प्रवेश पाउनु हुँदैन र त्यस्तो भएको छ भने पनि हामी त्यस्तो प्रवृत्तिलाई नियन्त्रण गर्छौँ।
लगानीकर्ताले बजारको अवस्था विश्लेषण गर्ने विवेकका साथ लगानी गर्नेतिर ध्यान दिनुपर्छ। परिपक्क ढंगले अघि बढाउनुपर्छ। यसको विकास स्वभाविक रुपमा हुने सन्दर्भमा सरकारले सकारात्मक भूमिका खेल्छ। सरकारको साथ रहन्छ।
भिडियोमा हेर्नुहोस् अर्थमन्त्री पौडेलको भनाइ -