भेरीगंगा- सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१० नयाँ गाउँका कमला चौधरी कृषि पेसा गर्छिन्। विशेषगरी उनले धान खेती गर्दै आएका छन्। उनले २० कठ्ठा जग्गामा धान खेती गरेकी छिन्।
यसअघि परम्परागत रुपमा धान खेती गर्दै आएकी चौधरीको परिवारलाई उत्पादनले वर्षभरी खान पुग्दैन्थ्यो। उन्नत जातको धानको बीउ, मल तथा आधुनिक सीपको अभाव थियो। नत समयमा मल पाउँथे न त बीउ नै। अर्कोतर्फ मलको प्रयोग कसरी गर्ने भन्नेसमेत थाहा नहुँदा उनले भनेअनुसारको आम्दानी गर्न सकेकी थिइनन्।
निर्वाहमुखी खेती गर्दै आएकी चौधरीले अहिले धान उत्पादन दोबर वृद्धि गर्न थालेकी छिन्। 'हामीले समयमै मल पनि पाउँदैन थियौँ, धानबाली कसरी लगाउने, कुन समयमा गोड्ने, मल कतिबेला हाल्ने खासै ज्ञान पनि थिएन', उनले भनिन्, 'अहिले भने समयमै मल पनि पाउन थाल्यौँ, अनि कृषि सम्बन्धिका विभिन्न तालिमले धान खेती गर्ने तरिका पनि थाहा भएपछि उत्पादन दोबरले वृद्धि हुन थालेको छ।'
कमलाजस्तै अन्य किसानलाई सबैभन्दा समस्या मलको हुने गरेको थियो। खेती गर्ने समयमा मलको अभावले गर्दा आजित किसानले अहिले भने समयमै मल पाएको बताउँछन्। वीरेन्द्रनगर-१० कै सुकमाया चौधरीको परिवारले पनि ३० कट्टा जमिनमा धान खेती गर्ने गरेको छ। विगतमा राम्रो धान उत्पादन नहुँने उहाँको परिवारले अहिले भने वार्षिक तीन लाख रूपैयाँसम्मको धान बिक्री गर्ने गरेको छ।
सहकारीमार्फत मल, बीउ तथा धान खेती गर्ने तरिका थाहा पाउन थालेपछि आफूहरुले उत्पादनमा वृद्धि गरेको सुकमाया बताउँछिन्। 'पहिले धान खेती खेत पनि त्यही हो, पहिले घरमा मात्रै खान पुग्थ्यो, अहिले घरमा प्रयोग गरेर पनि बेच्न थालेका छौँ,' उनले भनिन्,' हामीले समयमै मल बीउ पाउन थालेका छौँ भने खेती गर्ने तरिका पनि सिक्न पाएका छौँ।'
सुकमायाले आफ्नो खेतमा एक सय मुरीभन्दा धेरै धान फलेको सुनाइन्। नेपाल सरकारसँगै यूएसएआईडीको एनसाफ परियोजनाले सुर्खेतका विभिन्न कृषि सहकारीबाट समयमै मल उपलब्धसँगै विभिन्न तालिम दिन सुरु गरेपछि सुर्खेतका किसानको उत्पादनमा वृद्धि हुन थालेको हो। यही परियोजनामार्फत समयमै मल बीउसँगै विभिन्न कृषि सम्बन्धिका तालिम लिएपछि पराम्परागत रुपमा धानखेती गर्ने किसान अहिले आधुनिक तरिकाले खेती गर्न थालेका छन्।
वीरेन्द्रनगर-१० कै किसान बालकृष्ण थारु भन्छन्, 'पहिले एक हल गोरु पाल्थ्यौँ, त्यसकै मल धानखेतीमा हाल्थ्यौँ, अनि गोरुले जोतेर खेती गर्थ्यौँ, तर अहिले भने कृषिसम्बन्धी तालिम पनि पाएका छौँ। सँगै आधाुनिक प्रविधिको बढेपछि काम पनि छिटो हुन्छ भने उत्पादन पनि बढेको छ।'
परियोजनाको सहयोगपछि यो वर्षदेखि किसानले समयमै मल पाएका छन्। विभिन्न सहकारीको सहजीकरणमा किसानलाई समयमै मल वितरण गरिएपछि उत्पादन अझै बढ्ने अपेक्षा गरिएको छ।
मल वितरणमा सहजीकरण गरिरहेको वीरेन्द्रनगरमा रहेको जनचेतना कृषि सहकारी संस्थाका कृषि प्राविधिक शिव अधिकारी किसानले मलखाद समयमै पाएको बताउँछन्। त्यति मात्रै नभएर किसानलाई मलको प्रयोग लगायत खेती गर्ने तरिका सिकाइएपछि अहिले कृषि पेसा आधुनिकतातर्फ जान थालेको र उत्पादन पनि बढेको उनको भनाइ छ।
'विगतमा निर्वाहमुखी खेती गर्नुपर्ने अवस्था थियो, मल पनि समयमै पाउन समस्या थियो अहिले सरकार र साझेदार संस्थाबाट मल समयमै पुर्याउन थालिएको छ, जसले गर्दा किसानले उत्पादनमा वृद्धि गरिरहनुभएको छ,' उनले भने। किसानले समयमै मल नपाउने, बिचौलियाको हातमा पर्दा मल चुहाउट हुने समस्या पनि अन्त्य भएको अधिकारीको दाबी छ।
सुर्खेतकै बराहाताल गाउँपालिकामा रहेको महिला साना किसान सहकारीले पनि मल परियोजनाको सहयोगमा मल वितरण सहजीकरण गर्दै आएको छ। यो वर्ष मल समयमै किसानले पाएपछि उत्पादनमा पनि वृद्धी हुने सहकारीका कृषि प्राविधिक निशा गुरुङ बताउँछिन्।
'किसानले मल यो वर्ष समयमै पाउनुभएको छ, गत वर्षमा मलको लागि धेरै समस्या भोग्ने किसानले अहिले सहजताका महसुस गर्नुभएको छ। सहकारीमार्फत हामीले किसानको घरघर समयमै मल पुर्याएका छौँ। यो वर्ष गतवर्ष भन्दा धान उत्पादन बढ्ने हाम्रो अपेक्षा छ', उनले भनिन्। किसानलाई प्राविधिक ज्ञानसमेत दिने गरिएको भन्दै आगामी दिनमा सरकारले अझै कृषिमैत्री नीति ल्याउनुपर्ने उनको सुझाव छ।
कर्णालीको जम्मा खेतीयोग्य जमिनमध्ये ४१ हजार नौ सय चार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको तथ्यांक छ।
गत वर्ष कर्णालीमा एक लाख ४५ हजार ६३ मेट्रिक टन धान उत्पादन भएको कर्णालीको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ। रासस