शुक्रबार, वैशाख ५ गते २०८२    
शुक्रबार, वैशाख ५ २०८२
images
images

रोपेको एक महिनामै ढुसीले धमाधम मर्न थाले धानका बोट

images
आइतबार, साउन २० २०८१
images
रोपेको एक महिनामै ढुसीले धमाधम मर्न थाले धानका बोट
फाइल तस्बिर

धान रोपेको एक महिनामा ढुसी रोगका कारण धानका गाँजहरु मर्दै जान थालेपछि कृषक चिन्तित बनेका छन्।

images
images

पर्वत- यहाँका कृषकले लगाएको धानबाली ढुसीको संक्रमणले नष्ट हुन थालेको छ। धान रोपेको एक महिनामा ढुसी रोगका कारण धानका गाँजहरु मर्दै जान थालेपछि कृषक चिन्तित बनेका छन्।

images
images
images

जिल्लाको फलेबास नगरपालिकाका सबैजसो वडा, कुश्मा, विहादी, महाशिलालगायत वडामा लगाइएको धानबालीमा जरा कुहिने रोग लागेको फलेबास नगरपालिकाकाको कृषि शाखा प्रमुख केदार सापकोटाले जानकारी दिए। ‘फुट रुट’ नामक उक्त रोग ढुसीका कारण लागेको र यसले कतिपय स्थानमा धानखेत रित्तिँदै जान थालेको उनले बताए।

images
images

सापकोटाका अनुसार अहिले यो समस्या देशव्यापी रुपमा देखापरेको छ। 'यो रोग ढुसी नामक फुजारिएम मोनिलिफर्मबाट लाग्ने गर्दछ', उनले भने, 'ब्याडमा कलिलो बिरुवादेखि खेतमा धान छिप्पिने बेलासम्म यो रोग देखापर्ने सम्भावना रहन्छ। यसलाई समयमै नियन्त्रण गर्न नसक्ने हो भने ठूलो नोक्सानी व्यहोर्नुपर्ने अवस्था आउँछ।'

images
images

जिल्लास्थित कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत सोविता सुवेदीले बीउको उपचार नगरिकन रोपाइँ गरिएकाले धानबालीमा ढुसी रोग फैलिएको बताए। धानले गाँज राख्ने बेलामा रोग फैलिएकाले तत्काल उपचार गर्नुपर्ने उनको सुझाव छ।

यो रोगबाट बाली जोगाउनका लागि रोगी बोट तत्कालै हटाउने, ‘कार्बेन्डाजिम-५०५’, ‘डब्लु पी-९’, ‘बेभिष्टिन-०’, लगायत ढुसीनाशक विषादी प्रयोग गर्नुपर्ने बाली संरक्षण अधिकृत सुवेदीले जानकारी दिए। ढुसीनाशक औषधि प्रयोग गर्दा दुई ग्राम प्रतिलिटर पानीका दरले एक रोपनी क्षेत्रफलमा २५ देखि ३० लिटरको घोल बनाएर १० दिनको फरकमा दुईदेखि तीनपटक छर्कनुपर्ने उनले बताए। सुवेदीका अनुसार अपराह्न ४ बजेपछि विषादी छर्किँदा उपयुक्त हुन्छ।

धमाधम धानका बोट मर्न थालेपछि खेत रित्तै हुन थालेको फलेबास-३ शंकरपोखरीका कृषक शिव अधिकारीले बताए। उनले धानमा रोग लागेपछि आफूले लगाएको पोखरेली जेठो बुढो, एक्ले, पहेँलेलगायत बाली नष्ट भएको गुनासो गरे।

फलेवास-९ भँगरामा मात्रै ९० रोपनी क्षेत्रफलमा गरिएको पोखरेली जेठोबूढो धानखेतीमा ढुसी र फट्याङ्ग्राले नष्ट गरेको कृषक लोकप्रसाद काफ्लेले बताए। ठूलो लगानी गरेर धानखेती गरे पनि रोग लागेर नष्ट गरिदिएको उनको गुनासो छ।

फलेबास नगरपालिकाको कृषि शाखाका अनुसार रैथाने जातका धान र खुमल-४ तथा जेठो बुढो धान लगाएका ठाउँमा ढुसीको संक्रमण बढी देखिएको छ। विषादी प्रयोग गर्नुअघि रोगग्रस्त बोटहरु उखेलेर नष्ट गर्ने, पानीको निकासा गर्ने, नाइट्रोजनयुक्त मलको प्रयोग गर्न नहुने कार्यालयका कृषि शाखा प्रमुख सापकोटाले बताए।

नगर कृषि सञ्जाल फलेबासका संयोजक विनोद भुसालले पर्वतको धानबालीमा ठूलो समस्या आएको बताउँदै यसले किसानलाई निरुत्साहित बनाएको उल्लेख गरे। कतिपय स्थानमा गाँज राख्ने बेलाको धान मरेर खेत पूरै खाली हुन थालेको भन्दै तत्काल उपचार गर्नुपर्नेमा उनले जोड दिए।

कृषि ज्ञान केन्द्र पर्वत र फलेबास नगरपालिकाको कृषि शाखाबाट निःशुल्क रुपमा कृषकलाई ढुसीनाशक औषधि उपलब्ध गराइएको संयोजक भुसालले जानकारी दिए। रासस


प्रकाशित : आइतबार, साउन २० २०८११६:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend