शनिबार, कात्तिक १७ गते २०८१    
images
images

व्यावसायिक तरकारी खेतीबाट वार्षिक १५ लाखसम्म आम्दानी गर्दै दीपक दम्पती

images
शनिबार, साउन १९ २०८१
images
images
व्यावसायिक तरकारी खेतीबाट वार्षिक १५ लाखसम्म आम्दानी गर्दै दीपक दम्पती

अहिले परिवारको आर्थिक अवस्था सुधार हुनुका साथै सबैभन्दा बढी आत्मसन्तुष्टि प्राप्त भएको दीपकको अनुभव छ। सबैजसो खर्च कटाएर वार्षिक ६ देखि सात लाख रूपैयाँ बचत हुने गरेको उनी बताउँछन्।

images
images

पर्वत- पछिल्ला समय केही भविष्य नदेखेरे दैनिक हजारौँको सङ्ख्यामा युवायुवती विदेशिन बाध्य भएका छन्। तर पर्वतको जलजला गाउँपालिका-७ धाइरिङ मिलनचोकका युवा दीपक शर्माले भने व्यावसायिक तरकारीखेतीबाट वार्षिक १५ लाख रूपैयाँसम्म आम्दानी गर्दै आएका छन्।

images
images
images

विदेश जानका लागि बनाएको राहदानी बाकसमा थन्क्याएर विगत २० वर्षदेखि व्यावसायिक रुपमा तरकारीखेतीमा लागेका शर्मा गाउँमै बसेर मनग्य आम्दानी गर्न सफल भएका छन्। उमेरले ३८ वर्ष पुगेका दीपक र उनकी श्रीमती सीता शर्माले मौसमी तथा बेमौसमी तरकारीखेती गरेर वार्षिक १५ लाखसम्म आम्दानी गर्दै आएका छन्।

images

आफू जन्मिने बेलादेखि नै आफ्ना बुबाआमाले अँगालेको निर्वाहमुखी परम्परागत तरकारी उत्पादन पेसालाई व्यावसायिक बनाउँदै आफूले ठूलोमात्रामा तरकारीखेती थालेको उनले बताए।

images

कालीगण्डकी करिडोरअन्तर्गत मालढुंगा-बेनी सडक नजिकै पर्छ मिलचोक। यहाँ उत्पादित तरकारी सजिलै ढुवानी गरेर छिमेकी जिल्ला म्याग्दीको सदरमुकाम बेनीबजार, पर्वतको कुश्मा र बागलुङ बजारमा बिक्री हुने गरेको छ।

बिहान ६ बजेदेखि बेलुका अबेरसम्म करेसाबारीमै व्यस्त हुने शर्मा दम्पतीले लामाबगरस्थित करिब सात रोपनी खेत वार्षिक रुपमा एक लाख २० हजार रूपैयाँ भाडामा तथा बाँकी आफ्नै खेतबारीमा तरकारी खेती गरेका छन्। वर्षायाममा १० रोपनी र हिउँदयाममा १५ रोपनी क्षेत्रफलमा तरकारी लगाउने गरेको दीपकले बताए।

पाँच रोपनी क्षेत्रफलमा वर्षायाममा धान रोपाइँ गर्दै आएका छन्। करेसाबारीमा काँक्रो, सिमी, बोडी, भ्यान्टा, लौका, करेला, घिरौँला र खुर्सानी, धनियाँलगायत मौसमी तथा बेमौसमी तरकारी फलाउँदै आएका छन्। सिजनअनुसार आलुखेती गर्छन्। उत्पादन भएको ताजा तरकारी लिन व्यवसायी घरमै आउने भएकाले बिक्रीको समस्या नरहेको उनले बताए। 

करेसाबारीबाटै दैनिक रुपमा तरकारी बिक्री गर्ने शर्माले वार्षिक रुपमा १५ लाखसम्मको आम्दानी हुनेगरेको बताए।

मेहनत गर्नसकेमा दुःखअनुसार कमाई पनि हुने भएकाले श्रीमानलाई विदेश नपठाएको सीताले बताइन्। 'विदेश गए पनि दुःख नै गर्नुपर्छ, त्यहाँ गर्ने दुःख यहीँ गर्न सकेमा आम्दानी पनि हुन्छ, घरपरिवारसँग बस्दा सबैलाई आनन्द पनि हुन्छ', उनले भनिन्, 'मैले श्रीमानलाई विदेश जान दिइन यही माटोमा सँगै परिश्रम गरौँ भनेँ। छरछिमेकका साथीहरु विदेश गएको देखेर राहदानी बनाएको भए पनि जान रोकेकी हुँ।'

दीपक दम्पतीले आफूले गर्न नसकेको काम दैनिक ज्यालादरी मजदुर राखेर गर्दै आएको बताए। दीपककी आमा भद्रकली शर्मा आफूले पहिल्यैदेखि निर्वाहमुखी रुपमा गर्दै आएको पेसालाई छोराबुहारीले अँगालेकामा दंग हुन्छिन्। 'अहिले उनीहरुले धेरै जग्गामा लगाएका छन्, कमार्ई राम्रो भएकामा हामी बूढाबूढी खुसी छौँ', उनले भनिन्।

तरकारीबाट भएको आम्दानीले छोरालाई निजी विद्यालयमा पढाएका छन् भने बाँकी रकम बैंकमा बचत गर्ने गरेको दीपकले बताए। अहिले परिवारको आर्थिक अवस्था सुधार हुनुका साथै सबैभन्दा बढी आत्मसन्तुष्टि प्राप्त भएको दीपकको अनुभव छ। सबैजसो खर्च कटाएर वार्षिक ६ देखि सात लाख रूपैयाँ बचत हुने गरेको उनी बताउँछन्।

विदेशमा गए पनि मरिमेटेरै दुःख गर्नुपर्ने भएकाले आफ्नै खेतबारीमा पसिना बगाउन उनले भविष्यको खोजीमा विदेशिन लागेका युवालाई सुझाव दिएका छन्। उनले व्यावसायिक रुपमा तरकारीखेतीमा लाग्न चाहने युवालाई आफूले ज्ञान, सीप र प्रविधिका साथै बजारीकरणमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। रासस


प्रकाशित : शनिबार, साउन १९ २०८११३:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend