आइतबार, भदौ २३ गते २०८१    
images
images

चीनसँग तत्काल दीर्घकालीन ऊर्जा व्यापार सम्झौता नहुने, उच्च क्षमताको प्रसारण लाइनमा चिनियाँ अड्को

images
मंगलबार, साउन ८ २०८१
images
images
चीनसँग तत्काल दीर्घकालीन ऊर्जा व्यापार सम्झौता नहुने, उच्च क्षमताको प्रसारण लाइनमा चिनियाँ अड्को
images
images

काठमाडौं- नेपालले तत्काल चीनसँग नेपाल-भारतबीच भएकोजस्तै २५ वर्षे दीर्घकालीन सम्झौता नगर्ने भएको छ। चीनले नेपाल-भारतबीच भएकोजस्तै २५ वर्षे दीर्घकालीन ऊर्जा व्यापार सम्झौता हुनुपर्ने प्रस्ताव गरेको थियो। पूर्वाधारसहित अन्य भौगोलिक कारणले चीनले गरेको प्रस्तावमा नेपाललले तत्काल हस्ताक्षर नगर्ने भएको छ। 

images
images
images

यसअघि बनेको गठबन्धन सरकारले चीनसँग दीर्घकालीन ऊर्जा व्यापारको सम्झौतामा हस्ताक्षरका लागि मस्यौदा तयार पारेको थियो। अहिले बनेको नयाँ सरकारले तत्कालै अध्ययनबीना कुनै पनि देशसँग दीर्घकालीन सम्झौतामा हस्ताक्षर नगर्ने भन्दै थाँति राख्न लागेको छ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित मन्त्रीहरूले चीनसँग भारतको जस्तै ऊर्जा व्यापार सम्झौताको तयारी गरेका थिए। ऊर्जा मन्त्रालय स्रोतका अनुसार चिनियाँ पक्षले दबाब दिए पनि अहिले प्रक्रिया अगाडि नबढाउनेगरी थाँति राखिएको छ। 

नेपालको उत्तरी क्षेत्रको विद्युत विकासका लागि चीनसँग प्रसारण लाइन विस्तारको प्रस्ताव लिएर गत चैत १४ र १५ गते विद्युत प्राधिकरणको टोली चीन गएको थियो। वार्तामा चिनियाँ पक्षले भारतको जस्तै १० वर्षमा १० हजार मेगावाट बिजुली आयात-निर्यात गर्न सक्नेगरी २५ वर्षे दीर्घकालीन सम्झौताको प्रस्ताव गरेका थियो।

images

नयाँ सरकारले ऊर्जा व्यापारको दीर्घकालीन सम्झौताभन्दा पनि नेपाल र चीनबीच बिजुली आदान-प्रदानका लागि उच्च क्षमताको प्रसारण प्रणाली निर्माणका लागि भने चिनियाँ पक्षसँग सहयोग माग्नेगरी प्रस्ताव गरेको छ।

नेपालतर्फ यसअघि नै सम्पूर्ण अध्ययन भइसकेको र निर्माणमा जान ठीक्क भइसकेको रसुवागढी-केरुङ प्रसारण लाइन चीनतर्फ पनि जोड्ने गरी सहमति भइसकेको छ। सोही परियोजना अगाडि बढाउन र चिनियाँ सहयोगको अपेक्षा गरिएपनि चीनले भारतको जस्तो ऊर्जा व्यापारको सम्झौता चाहेको छ। 

दुईपक्षबीच जिलोङ-केरुङ-रसुवागढी-चिलिमे २२० केभी प्रसारण लाइन निर्माण अघि बढाउने विषयमा छलफल भइरहेपनि अहिलेसम्म प्रक्रिया भने अगाडि बढ्न सकेको छैन। 

यसअघि नेपालको उत्तरी दुर्गम सीमावर्ती गाउँमा चिनियाँ ग्रिडमा विद्युतीकरण गर्न नेपालले चीनसँग प्रस्ताव गरेको थियो। चीनसँग नाका जोडिएका दुर्गम क्षेत्रमा चीनको बिजुली प्रयोग गरेर उज्यालो दिन चीनलाई प्रस्ताव गरेको थियो। चीन पनि सकारात्मक भए पनि अब विद्युत व्यापारको सम्झौताको अड्को थापेको छ। 

चिनियाँ पक्षको सर्तले नेपाल विद्युत प्राधिकरणले उत्तरतर्फ अगाडि बढाउन लागेको दर्जन प्रसारणलाइन परियोजनामा समस्या आउने भएको छ। 

उच्च क्षमताको प्रसारण लाइनमा चिनियाँ अड्कोले समस्या 

नेपालतर्फ यसअघि नै सम्पूर्ण अध्ययन भइसकेको र निर्माणमा जान ठीक्क भइसकेको रसुवागढी-केरुङ प्रसारण लाइन चीनतर्फ पनि जोड्नेगरी प्रक्रिया अगाडि बढेको थियो। 

नेपाल र चीनबीच दुई सय २० केभी क्षमताको प्रसारण लाइन निर्माणका लागि आवश्यक समझदारी भएको थियो। पछिल्लो समझदारीअनुसार नेपालको चिलिमे हब र चीनको जिलुङबीच प्रसारण प्रणाली जोडिने गरी विद्युत प्राकिरणले नेपालतर्फ कुल १६ किलोमिटर लामो प्रसारण लाइन निर्माणका लागि प्रक्रियासमेत अगाडि बढाएको थियो। 

नुवाकोटको रातमाटे हुँदै चीनको केरुङ जोड्ने गरी चार सय केभी क्षमताको प्रसारण लाइन निर्माणका सम्बन्धमा आवश्यक प्रक्रिया अगाडि बढाइएको थियो। नेपालले दुई फरक प्रकृतिका चार सय केभी र दुई सय २० केभी क्षमताका प्रसारण प्रणालीको अध्ययन गरेको थियो।

नेपालतर्फ सबै अध्ययन भए पनि चीनतर्फ भने अध्ययन नसकिएकाले नेपाली टोलीले चीनको सीमासम्म चीनलाई प्रसारणलाइन निर्माणको पहल गर्न पटक-पटक अग्रह गर्दै आएको थियो। 

दक्षिण छिमेकी देश भारतसँग नियमितरूपमा विद्युत् निर्यात र आयात भइरहेको छ। बंगलादेशसँग पनि बिजुली निर्यातका लागि आवश्यक तयारी भइरहेको छ। उत्तरी छिमेकी देश चीनसँग पनि बिजुली व्यापारको ढोका खोल्ने उक्त प्रसारण लाइन आफैमा महत्त्वपूर्ण मानिएको छ। 


प्रकाशित : मंगलबार, साउन ८ २०८११२:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend