नयाँ संविधानको अभ्याससँगै अपेक्षा गरिएको राजनीतिक स्थिरता, देशमा बढ्दो आर्थिक विकासमूखि सोच र मानसिकता, २० लाख पर्यटन भित्र्याउने लक्ष्यसहित घोषित भ्रमण वर्ष २०२०, सुध्रिँदै गएको र विस्तार हुँदै गएको पूर्वाधारका कारण नेपालको पर्यटनमा ठूलो मात्रामा लगानी बढिरहेको अवस्था कोभिड महामारीभन्दा अघि थियो।
अब कोभिड महामारीले गर्दा गत दुई वर्षदेखि बन्दाबन्दीमा खुम्चिएको हाम्रो समाज र अर्थतन्त्र सुरक्षाका उपायहरू अपनाउँदै र अंगाल्दै चलायमान बनाउन पर्नेछ। सुरुवाती दिनहरूमा शतप्रतिशत रहेको कोभिड-१९ बारेको मानसिक डर/त्रासको स्तर पछिल्ला दिनहरूमा ह्वात्तै झरेको छ। विश्वव्यापी रुपमै थरी थरीका भेरियन्ट र चरणवद्ध वेभहरू फैलिरहँदा पनि अवस्था सुधारोन्मुख नै छ।
जानकारहरूका अध्ययन प्रतिवेदनअनुसार विगतमा पनि प्रायजसो सबै महामारीप्रतिको शुरुवाती चरणको त्रास, त्यसपछि सृजना हुने जटिलता र त्यसबाट खोज्न थालिने सहजताको चक्र प्राय उस्तै रहने गरेको छ। सार्स, इबोला, स्वाइन फ्लू, एड्स जस्ता सरुवा र संक्रामक रोगहरूको विकास, विस्तार र व्यवस्थापनको चक्र हेर्दा पनि यस्तै देखिन्छ।
जस्तै- उत्पत्तिको शुरुवाति अवस्थामा अत्यन्त धेरै डर रहने, त्यसपछि मान्छेहरूको चहलपहलमा नियन्त्रण र बन्दाबन्दी गरिने, फलस्वरुप बेरोजगारी बढ्ने र आर्थिक मन्दि देखिने, त्यही बीचमा महामारीको निर्मूलीकरण वा नियन्त्रणका लागि भ्याक्सिन वा औषधि उपचारको विकास गर्दै वितरण थालिने, जोखिम न्यूनीकरण गर्न आधारभूत जनचेतनाका कार्यक्रमहरू चलाइने; जीवन, व्यवसाय र जीविकोपार्जन बचाउनका लागि राहतका कार्यक्रम ल्याइने, सुरक्षाका मापदण्ड अपनाइ पेशा/उद्यम/व्यवसाय पुनः संचालन हुनसक्ने वातावरण बनाउँदै सामाजिक-आर्थिक गतिविधिहरूलाई चलायमान बनाउने।
विगतका कतिपय महामारीहरू निर्मुल पार्ने खोप वा औषधि अझै पनि आइसकेका छैनन्। तथापी हामी त्यसको त्रासमा छैनौँ। धेरैले बिर्सीसकेका छौँ र त्यो आम चासोको विषय पनि रहेको छैन। विस्तारै कोभिड महामारीले पनि यहि चक्र पार गर्ने छ। खुशीको कुरा के छ भने अघिल्ला महामारीभन्दा यसपाली भ्याक्सिनको विकास र वितरण छिट्टै हुन सकेको छ। नेपालमा पनि यसको उपलब्धता र खोप लगाइसक्नेहरूको संख्या सन्तोषजनक नै छ।
यस अवधिमा खोप लाउने कार्यलाई तीव्रता दिँदै, संक्रमितहरूको यथाशीघ्र पहिचान र उपचारको व्यवस्था गर्दै संक्रमण फैलिन नदिन व्यापक तालिम तथा जनचेतनाका कार्यक्रमहरू नियमित रुपमा गर्दै जीविका, पेशा, उद्यम, उद्योग र व्यवसाय पुनः सुरु गर्न थालिएको छ। यहि सेरोफेरोमा विश्वका धेरै देशले आन्तरिक तथा बाह्य रुपमा आवतजावत गर्नका लागि वातावरण सहज बनाउँदै गइरहेका छन्, बर्तमान महामारीको प्रभाव रहिनै रहँदा पनि।
मावन जातिका लागि स्वास्थ्यको पाटो जति महत्वपूर्ण हो त्यतिकै महत्वपूर्ण सामाजिक र आर्थिक पाटो पनि हो। आवतजावत समेत त्रासपूर्ण र नियन्त्रित भएको अवस्थामा यस्को प्रभाव दशकौँमा देखिएका संकटहरूमध्ये सबैभन्दा बढी रहेको छ। र ठूलो मार पर्यटन उद्योगमा नै परेको छ। जुन एक ठाउँबाट अर्को ठाउँमा यात्रा गर्दा गरिने गतिविधिहरूले सृजित हुने अर्थतन्त्र हो।
यस महामारीबाट पर्यटन को पुनरुत्थान गर्नका लागि पहिलो पाइलास्वरुप प्रायजसो सबै गन्तव्यहरूले आन्तरिक पर्यटनको विकास, विस्तार र प्रवर्द्धनलाई जोड दिइरहेका छन्। नेपालमा आन्तरिक पर्यटनको गतिविधि त्यति पुरानो र बलियो मानिँदैन। भूकम्पपछि सिथिल भएको पर्यटनको पुनरुत्थानका लागि पहिलो पटक विक्रम सम्वत २०७३ लाई घुमफिर वर्ष घोषणा गरि एक अभियानकै रुपमा प्रर्वद्धन गर्न थालिएको हो।
अहिलेका दिनहरूमा बन्दाबन्दीको वातावरण खुकुलो हुनेवित्तिकै नेपाली पर्यटकहरू देशभित्रका विभिन्न गन्तव्य र गतिविधिहरूमा उल्लेख्य मात्रामा सहभागी हुने गरका छन्। वास्तवमा आन्तरिक पर्यटनको जग बलियो हुँदा समग्र पर्यटन थप बलियो र दिगो हुन सक्दछ। तसर्थ आन्तरिक पर्यटन बढाउन र सपार्न निम्न कार्यहरू गर्नु अत्यावश्यक देखिएको छ-
१) कोभिड १९ महामारीका सन्दर्भमा सबैखाले पर्यटकहरूको प्रमुख चासो नै स्वास्थ्यसम्बन्धि सुरक्षा रहेको हुँदा आन्तरिक पर्यटकहरू घुम्न जाने सम्भाव्य गन्तव्यहरूका स्थानीय तथा सेवा प्रदायक समुदाय सबैलाई यथाशीघ्र पूर्ण मात्राका खोपहरू प्राथमिकताका साथ लगाउन व्यवस्था गर्ने।
२) पर्यटकहरूका लागि थरिथरिका अनावश्यक प्रोटोकल र टेस्टिङका प्रावधानहरू नराखी झन्झटरहित तर सुरक्षित यात्राको वातावरण मिलाउने।
३) दसैँतिहार लगायतका चाडबाडको बेला, विद्यार्थीहरूको स्कुल बिदाका बेला, नयाँ वर्षहरूमा, आर्थिक वर्षको अन्तमा तथा सुरुवाती जस्ता समयहरू नेपाली पर्यटकहरू घुम्न निस्कने मुख्य सिजनहरू भएको हुँदा यस्तो बेला आकर्षक प्याकेजहरू निर्माण गरि प्रवर्द्धन गर्ने।
४) दुई दिने सप्ताहन्त र कर्मचारीहरूका लागि पेड लिभ जस्ता कार्यक्रम राखी नयाँ वर्ष २०७९ लाई आन्तरिक पर्यटन वर्ष अभियानका रुपमा मनाऔँ।
दुई दिने सप्ताहन्त र कर्मचारीहरूका लागि पेड लिभ जस्ता प्रावधानले आन्तरिक पर्यटनलाई उत्साहित बनाउने र बढावा दिने हुँदा यस्ता कार्यक्रमलाई तत्काल कार्यान्वयनमा लैजाने।
२०७९ बैशाखदेखि शनिबार र आइतबार दुई दिनको सप्ताहन्त बनाऔँ जसले गर्दा आन्तरिक पर्यटनका गतिविधि पनि बढ्नेछन्, पारिवारिक सम्बन्ध प्रगाढ भइ कर्मचारीबाट उत्पादकत्व पनि बढ्नेछ र प्राकृतिक वातावरण संरक्षणमा पनि यसको सकारात्मक प्रभाव पर्न जानेछ।
५) गत जेठ १५ गते नै बजेट भाषणबाट घोषणा गरिएको सरकारी कर्मचारीहरूलाई दश दिने भ्रमण बिदा दिने कार्यक्रम चालु आर्थिक वर्षको आधा समय बितिसक्दा पनि कार्यान्वयन हुन सकेको छैन। यो कार्यक्रम तत्काल लागु गर्नुपर्ने देखिन्छ। निजामती सेवा, सुरक्षा (सैनिक, प्रहरी, शसस्त्र) सेवा, सार्वजनिक संस्थान जस्ता क्षेत्रमा कार्यरत करीब ४ लाख जनशक्तिबाट यस कार्यक्रम अन्तर्गत करीब ८ अर्ब रकम परिचालित हुनसक्ने अवस्था देखिन्छ। जसले उल्लेख्य मात्रामा रोजगारी सृजना गर्नेछ र शिथिल पर्यटन उद्योगलाई केही राहत प्रदान गर्नेछ।
६) रेस्टुरेन्टका विभिन्न कृषिजन्य लगायत अन्य आइटमहरूमा करमाथि कर लाग्न व्यवस्थाले रेस्टुरेन्टका खाना महँगो परिरहेको छ। यसमा सुविधा र सहजता प्रदान गर्दा पनि देशभित्रको घुमफिरलाई टेवा पुग्ने छ।
७) देशका स्थापित गन्तव्यहरू सगरमाथा, अन्नपूर्ण , लाङटाङलगायतका गन्तव्यहरूमा हालका दिनमा नेपालीहरू ठूलो संख्यामा जान थालेका छन्।
आधुनिक पर्यटनका दृष्टिले नेपालीहरूको घुमफिर संस्कृति नयाँ हो। धेरैजसो नेपाली पर्यटकहरू खानपीनमा बढी खर्च गर्ने र गन्तव्यका गतिविधिहरूमा कम सहभागी हुने गर्दछन्। धेरै पदयात्राहरूमा, राष्ट्रिय निकुञ्ज नजिकका बाटाहरूमा र अन्य गन्तव्यहरूमा प्रयोग गरिएका खाद्य तथा पेय पदार्थका प्लास्टिकजन्य फोहरहरू जताततै फालेको देखिन्छ। फोहरको व्यवस्थापन राम्रो देखिँदैन। दिगो पर्यटनका अभ्यासहरू र उत्तरदायी पर्यटकका व्यवहारसम्बन्धि अभिमुखीकरण र जनचेतनामुलक कार्यक्रमका साथै अनुगमनको संयन्त्र पनि बनाउँदा वातावरणमैत्री र दिगो पर्यटन विकास हासिल गर्न सकिनेछ।
८) खानपीनमा शुद्धता र व्यवहारमा आतिथ्यता झल्काउन एक अभियानकै रुपमा व्यापक तालिम तथा जनचेतनाका कार्यक्रमहरू गर्नु पर्नेछ।
९) स्थापित तथा उदयमान गन्तव्यहरूसम्मको पूर्वाधारलाई सबै तहका सरकारले उच्च प्राथमिकताका साथ विकास गरि सहज र सुरक्षित पहुँचको बाटो बनाउनु पर्नेछ।
१०) त्यसैगरी पर्यटकका यात्राका क्रममा विभिन्न खालका अनपेक्षित संकटहरू पनि आइराख्ने हुँदा यस्ता संकट व्यवस्थापनका लागि एक संरचना निर्माण गरि आवश्यकताअनुसार स्वतः परिचालित हुनसक्ने अवस्था गर्न आवश्यक छ।
(लेखक जाेशी विश्व पर्यटन सञ्जालका संस्थापक सदस्य हुन्।)