आइतबार, भदौ २३ गते २०८१    
images
images

विपद् जोखिम बढ्यो, एक महिनामा ६२ जनाको मृत्यु

images
आइतबार, असार २३ २०८१
images
images
विपद् जोखिम बढ्यो, एक महिनामा ६२ जनाको मृत्यु

यस वर्षको मनसुन अवधिमा चार लाख १२ हजार घरधुरी मनसुनजन्य विपद्‌मा पर्ने आकलन गरिएको छ। बाढी र पहिराेले हालसम्म आठ करोड छ लाख बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ।

images
images

काठमाडौं- मनसुन सुरु भएयता बाढी, पहिरो, चट्याङजस्ता मनसुनजन्य विपद्का कारण ६२ जनाको मृत्यु, चार जना बेपत्ता र ९० जना घाइते भएका छन्।

images
images
images

गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले उक्त तथ्यांकबारे जानकारी गराएको हो।

केन्द्रका अनुसार यस अवधिमा बाढीका कारण मोरङमा एक, दाङमा तीन, कैलालीमा एक, काभ्रेपलाञ्चोकमा दुई, उदयपुरमा एक, पाल्पामा एकगरी नौ जनाको मृत्यु भएको छ। बाढीकै कारण दुई जना बेपत्ता छन्। पाँच घरमा पूर्णरुपमा क्षति पुगेको छ। ११ घरमा आंशिक क्षति भएको छ। 

पहिरोका कारण ३४ जनाले ज्यान गुमाएका छन्। पहिरोले दुई जना बेपत्ता र ३८ जना घाइते भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ। पहिरोले ४३ घर पूर्णरुपमा क्षति भएको छ। २४ घरमा आंशिक क्षति पुगेको छ। १९ वटा गोठमा क्षति भएको छ भने १२ जना घाइते भएका छन्। ११ घर पूर्णरुपमा र छ घर आंशिक रुपमा क्षतिग्रस्त छन्।

images

बाढी र पहिरोले हालसम्म आठ करोड छ लाख बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ। चट्याङ्बाट १९ जनाको मृत्यु र ३५ जना घाइते भएका छन्। 'बाढी, पहिरो, डुबान, चट्याङजस्ता मनसुनजन्य घटना अझै बढ्दो क्रममा छ, क्षति न्यूनीकरणका लागि सम्बन्धित निकायसँग समन्वय र सहकार्य गरेर अगाडि बढिरहेका छौँ', प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले भने, 'यस वर्ष सरदरभन्दा बढी पानी पर्ने र १८ लाख मानिस प्रभावित हुने आकलन गरिएको छ, तसर्थ सतर्कता अपनाउन जरुरी छ।'

उनका अनुसार यस वर्षको मनसुन अवधिमा चार लाख १२ हजार घरधुरी मनसुनजन्य विपद्‌मा पर्ने आकलन गरिएको छ। 

जल तथा मौसम विज्ञान विभागका प्रवक्ता सुनील पोखरेलले सोमबारदेखि मुलुकभर बाढीको जोखिम कम हुने जानकारी दिए। 'आज दिउँसो २ बजेसम्मको तथ्यांकअनुसार कुनै पनि नदी बाढीको खतरा तहमा पुगेको छैन, मुलुकको विभिन्न नौ वटा नदीहरु सतर्कता तहमा छ', उनले भने, 'क्रमिकरुपमा नदीमा पानीको प्रवाह घटिरहेको छ, भोलिदेखि बाढीको खतरा तत्कालका लागि टर्नेछ।'

गृह मन्त्रालयको नेपाल विपद् जोखिम न्यूनीकरण पोर्टलअनुसार एक सातामा मुलुकको एक सय १० स्थानमा पहिरो गएको छ। बाढी जस्तै पहिरोको पूर्वसुचनालाई प्रभावकारी बनाउन आवश्यक रहेको भू-गर्भविद् डा सुवोध ढकालले बताए।

'राजमार्गमा पहिरोको सम्भावना बढी हुने भएकाले यात्रा गर्दा विशेष ध्यान दिऊँ। जमिन चिरा देखिएमा तत्काल खाँदेर पुर्ने र पानी तर्काउने काम गरौँ, नसकेमा सुरक्षित स्थानमा बस्ने, जथाभावी भल बग्ने गरेको छ भने सामान्य कुलो बनाइ पानीलाई एकीकृत गरी तर्काउनुपर्छ', उनले भने, 'तपाईँ बस्ने स्थानमा पहिले पहिरो गएको छ भने निरन्तर निगरानी गर्ने, सुरक्षित स्थानमा बस्ने, जमिन अथवा पहरोमा अनौठो किसिमको कटकट आवाज सुनियो भने पहिरोको संकेत हुनसक्ने भएकाले सतर्क रही सूचना दिनुपर्छ।'

उनका अनुसार सुकिसकेका कुवा धारामा एक्कासी पानी आउन थाल्यो वा पानी आउने धारा कुवामा पानी सुक्न थाल्यो भने जमिन हलचलको संकेत हुनसक्छ । 

२७ सडकखण्ड अवरुद्ध

ललितपुरस्थित बागमती गाउँपालिकामा गएको पहिरोले कान्ति लोकपथ पूर्णरुपमा अवरोध भएको छ। सङ्खुवासभास्थित मकालु गाउँपालिकामा गएको बाढीले दक्षिण कोशी राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ। सङ्खुवासभाकै भोटखोला गाउँपालिकामा बाढीले कोशी रोजमार्ग पूर्णरुपमा अवरुद्ध छ। सुनसरी बराहक्षेत्र नगरपालिका-१ मा गएको पहिरोले चतरा-बराहक्षेत्रको भित्री सडक अवरुद्ध छ।

रसुवास्थित आमाछोदिङ्गो गाउँपालिका-५ मा गएको पहिरोले स्याफ्रुबेसी-थाम्बुचेत सडकखण्ड पनि पूर्णरुपमा अवरुद्ध भएको छ। चितवनस्थित इच्छाकामना गाउँपालिका-३ मा गएको पहिरोले पृथ्वीराजमार्ग एकतर्फी सञ्चालन छ।

मकवानपुरस्थित भीमफेदी गाउँपालिका-४ मा गएको पहिरोले भिमफेदी-काठमाडौं-हेटौँडा राजमार्ग एकतर्फी सञ्चालन छ। सोही गाउँपालिका-८ को पहिरोले कान्ती लोकपथ एकतर्फी सञ्चालन छ। काभ्रेको रोशी गाउँपालिकामा गएको पहिरोले बिपी राजमार्ग एकतर्फी सञ्चालन भएको छ ।

मनाङको चामे गाउँपालिकामा गएको बाढीले चामे-बेंसीसहर सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको छ। म्याग्दी बेनी नगरपालिका-४ मा गएको पहिरोले बेनी-दरबाङ सडक अवरुद्ध छ भने कुश्मा नगरपालिकामा गएको पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध छ।

पर्वतको मुलढुङ्गा बेनी सडक र सिद्धार्थ राजमार्ग एकतर्फी रुपमा सञ्चालन छ। तनहुँको म्याम्दे गाउँपालिकामा गएको पहिरोले पृथ्वीराजमार्ग एकतर्फी सञ्चालन छ। नवलपरासीपूर्वको कालीगण्डकी करिडोर र बागलुङको मध्यपहाडी लोकमार्ग पहिरोकै कारण पूर्णरुपमा अवरुद्ध छ। 

प्यूठानको स्याउलीवा बाग्दुला र भालुवाङ दाङ प्यूठान सडकखण्ड बाढी, पहिरोका कारण अवरुद्ध छ। यसैगरी पाल्पाको सिद्धार्थ राजमार्ग, तम्घास-बुटबल सडक, कालीगण्डकी करिडोर एकतर्फी सञ्चालन भएको छ।

गुल्मीको रिडी-बाग्लुङ सडकखण्ड, कालीगण्डकी करिडोर सडक, मदन भण्डारी राजमार्ग र अर्घाखाँचीस्थित गोरुसिङ्गे सन्धिखर्क सडकखण्ड, पाल्पा अर्घाखाँची सडकखण्ड पनि अवरुद्ध छ। रोल्पाको सहिद राजमार्ग अवरुद्ध छ। दाङको घोराही-तुल्सीपुर सडकखण्ड एकतर्फी भएको छ। 

कालीकोटको कर्णाली राजमार्ग अवरुद्ध छ। अछामको साँफे-मार्तडी, बैतडीको जयपृथ्वी राजमार्ग र डडेल्धुराको भिमदत्त राजमार्ग पूर्णरुपमा अवरोध पुगेको छ। बैतडीको बझाङ-खोड्पे बैतडी सडकखण्ड र बाजुराको साँफे मार्तडी सडकखण्ड भने एकतर्फी रुपमा सञ्चालन रहेको नेपाल प्रहरीले जनाएको छ। रासस


प्रकाशित : आइतबार, असार २३ २०८११६:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend