काठमाडौं- वैदेशिक रोजगारीको नाममा अनलाइनमार्फत रकम ठगी गरेको अभियोगमा नागार्जुन नगरपालिका-४ सितापाइला बस्ने १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ।
विभिन्न सामाजिक सञ्जालको दुरूपयोग गरी पीडितहरूलाई वैदेशिक रोजगारीको लागि कम्बोडियामा ई-भिसामा पठाइदिने र त्यहाँ पुगेपछि वर्क भिसा गराइदिन्छु भन्दै प्रलोभनमा पारी उनले आफ्नो बैंक खातामा ५ लाख रूपैयाँ पठाउन लगाएका थिए।
ठगी गरेको खुल्न आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई सोमबार काठमाडौं बानेश्वरबाट पक्राउ गरेको हो।
उनलाई ठगीसम्बन्धी कसुरमा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।