काठमाडौं- आन्तरिक राजस्व विभागले खुद्रा सुन व्यवसायीलाई पनि सम्पत्ति शुद्धीकरण निगरानीभित्र रहनेगरी बहुमूल्य धातु वा वस्तुको कारोबार गर्ने सूचक संस्थालाई जारी गरिएको निर्देशन, २०७७ संशोधन गरेको छ।
खुद्रा सुन पसलमार्फत सम्पत्ति शुद्धीकरण र अवैध कारोबार भइरहेको भन्दै प्रश्न उठ्न थालेपछि सरकारले खुद्रा सुन पसललाई पनि सूचक संस्थाभित्र समावेश गरेको छ।
खुद्रा सुनचाँदी पसलमार्फत चोरी निकासी तथा गैरकानूनी कारोबार भइरहेको भन्दै महालेखाले पटक-पटक प्रश्न उठाउँदै आएको थियो। महालेखाले उठाएको प्रश्न र पछिल्लो समय सम्पत्ति शुद्धीकरणसम्बन्धी तथा आतंकवादी क्रियाकलापसम्बन्धी हेर्ने अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटीएफ) अन्तर्गतको एसिया प्रशान्त समूह(एपीजी) को कालोसूचीमा नेपाल पर्ने जोखिम बढेपछि सुनको कारोबारलाई व्यवस्थित गर्न सरकारले निर्देशन संशोधन गरेको हो।
सुन व्यवसायीले व्यक्तिमार्फत सुन खरिद बिक्री गर्ने, बैंकिङ करोबार नगर्ने तर खर्च कट्टी गरी कर छली गर्दै आएकाले अनुसन्धान गरी कर असुली गर्न भन्दै आन्तरिक राजस्व विभागलाई महालेखाले सुझाव दिँदै आएको थियो।
ठूला करदाता कार्यालय पनि खुद्रा सुन तथा चाँदी व्यवसायलाई व्यवस्थित गर्ने भन्दै अध्ययन गरी प्रतिवेदन तयार पारे पनि सरकारले उक्त प्रतिवेदन सार्वजनिक गरेको थिएन।
महालेखाको सुझाव र सम्पत्ति शुद्धीकरणको कालोसूचीमा पर्ने दबाबले गर्दा सरकारले उक्त निर्देशन संशोधन गर्दै दैनिक एक पटक वा पटक पटक गरी १० लाख रूपैयाँसम्म कारोबार गर्ने खुद्रा सुन तथा चाँदी पसललाई सम्पत्ति शुद्धीकरणको क्षेत्राधिकारभित्र समावेश गरेको छ। उक्त निर्देशनको २ (ग) को व्यवस्था परिवर्तन गर्दै सरकारले सूचक संस्थाको परिभाषा परिवर्तन गरेको छ।
यसअघि सूचक संस्थाको रुपमा बहुमूल्य धातु वा वस्तुको कारोबार गर्ने आयातकर्ता, वितरक र थोक बिक्रेतासम्मको व्यवसायी रहेकोमा परिमार्जित निर्देशनमार्फत खुद्रा बिक्रेतालाई समावेश गरेको छ।
'सूचक संस्था भन्नेले बहुमूल्य धातु वा वस्तुको आयातकर्ता, वितरक, थोक बिक्रेता वा खुद्रा बिक्रेताको रुपमा कारोबार गर्ने व्यवसायी सम्झनुपर्छ', परिमार्जित निर्देशनमा भनिएको छ।
सूचक संस्थासम्बन्धी परिभाषा परिवर्तन गरेसँगै खुद्रा सुन तथा चाँदी पसलहरुले १० लाखभन्दा बढी कारोबार गर्दा ग्राहक पहिचानसम्बन्धी विवरण लिनुपर्ने भएको छ।
पहिचानसम्बन्धी विवरणको आधिकारिक कागजातको प्रति लिनुपर्ने, ग्राहकसम्बन्धी पहिचान विद्युतीय माध्यममा राख्नुपर्ने, पहिचानसम्बन्धी विवरणको फाराम बनाएर राख्नुपर्ने र अन्य आवश्यक कागजातसमेत राख्नुपर्ने भएको छ। साथै १० लाख रूपैयाँभन्दा कम कारोबार गर्ने ग्राहकको वितरणसमेत सूचक संस्थाले लिनुपर्ने भएको छ।
कारोबारमा शंका लागेमा ग्राहक पहिचान तथा सम्पुष्टि गर्नुपर्ने, उच्चपदस्थ व्यक्तिहरुको पहिचान गर्ने, बृहत ग्राहक पहिचान गर्नुपर्ने, वास्तविक धनीको पहिचान गर्नुपर्नेलगायतका सम्पत्ति शुद्धीकरणसम्बन्धी नियमको पालनासमेत खुद्रा सुन पसलहरुले गर्नुपर्ने भएको छ।
खुद्रा सुन पसलहरु सूचक संस्थामा समावेश भएसँगै कारोबार सीमाको विवरण दिनुपर्ने, शंकास्पद कारोबारको प्रतिवेदन पेस गर्नुपर्ने, वित्तीय जानकारी इकाइको निर्देशन पालना गर्नुपर्ने, सूचनाको गोपनीयता कायम गर्नुपर्ने, आन्तरिक नियन्त्रण प्रणालीको व्यवस्था गर्नुपर्ने भएको छ।