म्याग्दी- संस्कृति संरक्षण र आत्मनिर्भरताका लागि म्याग्दीको बेनी नगरपालिका-१० पात्लेखेतका आमा समूहले बाजा बजाउन थालेका छन्। युवा र पुरुषहरु विदेशिएका कारण जनशक्ति नहुँदा बिवाह, छेवार, ब्रतबन्ध, किरियामा बाजा बजाउने परम्परा र संस्कृति लोप हुन थालेपछि पात्लेखेतका महिलाले व्यावसायिकरुपमा बाजा बजाउने पेसा अपनाएका हुन्।
संस्कृति र पेसालाई संरक्षण गर्दै आयआर्जन तथा आत्मनिर्भर बन्नका लागि बाजा बजाउन थालेको बेनी नगरपालिका-१० पात्लेखेतको सिद्धबराह आमा समूहका सचिव गीता रोकाले बताइन्। 'गाउँमा बाजा बजाउने युवा नहुँदा छिमेकी गाउँबाट बोलाउनुपर्ने थियो,' उनले भनिन्, 'छिमेकी गाउँबाट बाजा बजाउने जनशक्ति नआए संस्कारगत कार्यनै प्रभावित हुने अवस्था आएपछि महिलाहरुले बाजा बजाउने सीप सिकेर व्यवसाय थालेका छौँ।'
बाजा बजाउने सीप सिकेपछि मौलिक संस्कृतिको संरक्षणसँगै आयआर्जनको अवसर सिर्जना भएको पात्लेखेतकी सम्झना रोकाले बताउनुभयो । बेनी नगरपालिकाको 'आमा समूहसँग उपमेयर' कार्यक्रम मार्फत पात्लेखेतका ३० जना महिलाहरुलाई हालै ४५ दिनसम्म बाजा बजाउने तालिम दिइएको थियो।
तालिममा सहभागीहरुका लागि दुई सेट नौमती बाजाका सामग्री पनि उपलब्ध गराएको बेनी नगरपालिका-१० का वडा अध्यक्ष मसबिर रोकाले बताए। सीप र सामग्री पाएपछि पात्लेखेतका महिलाहरुले व्यवसायिक रुपमा बाजा बजाउन थालेका उनले जानकारी दिए।
नगरपालिकाले नौमती बाजा तालिम सञ्चालन र सामग्री खरिदमा ६ लाख रूपैयाँ विनियोजन गरेको थियो। यसैगरी ३ लाख रूपैयाँ बजेटबाट रैथाने बाली प्रशोधन र भण्डारण गर्ने ११ वटा कम्बाइन्ड मिल र (प्याकेजिंग) मेसिन उपलब्ध गराइएको छ।
समुदाय स्तरमा महिला शसक्तिकरण र सामाजिक कामको अगुवाइ गरिरहेका आमा समूहसँग समन्वय गरेर महिलालाई स्थानीय स्रोत, साधन र सम्भावना भएको उद्यम व्यवसायी गरि आयआर्जनका काममा संलग्न गराउन कार्यक्रम मार्फत सीप र प्रविधि सहयोग गरीएको बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले बताइन्। 'महिला आर्थिक रुपमा सक्षम भए भने हिंसा न्युनीकरण, रोजगारीको सिर्जना र आत्मनिर्भर भइ समाजमा अगाडी आउन सक्ने वातावरण बनाउने प्रयास गरेका हौँ,' उनले भनिन्, 'चालु आर्थिक वर्षमा २० लाख रूपैयाँ विनियोजन भएको कार्यक्रम वडा नम्बर २ र १० मा लागु भएको छ।'
नगर उपप्रमुख लामिछानेको प्रस्तावमा दुई वर्षअघि निर्वाचित कार्यपालिकाको पहिलो बैठकले यो कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो। वडा नम्बर २ मा ५० जनालाई केराको थामबाट धागो र स्थानीय तितेपाती लगायतका सामग्री प्रयोग गरेर साबुन बनाउने तालिम दिइएको थियो। १५ जना आवद्ध ज्यामरुककोट सिर्जनशील महिला उद्योगलाई ३ थान स्वीङ मेसिन उपलब्ध गराएको ज्यामरुककोटको मुल आमा समूह सञ्जालका सल्लाहकार उषा घर्ती घिमिरेले बताइन्।
१० जना आबद्ध गणेश फाइवर तथा कम्पोष्ट मल उद्योगलाई केराको रेशा निकाल्ने एक्स्ट्रयाक्ट मेसिन १ थान, रेशा निकाल्ने प्रविधि १ थान र भर्भि कम्पोष्ट मल बनाउने प्रविधि १ थान हस्तान्तरण गरिएको छ।
केरा खेतीको पकेट क्षेत्र रहेको खबरामा खेर गइरहेको केराको थामलाई सदुपयोग गरेर धागो र मल बनाउन थालिएको राधाकृष्ण कृषि सहकारी संस्थाका अध्यक्ष सोवित शर्माले बताए।
आठ जना उद्यमी आवद्ध प्रस्तावित जनश्रमीक महिला उद्योगलाई कपडा धुने सरफ उत्पादन गर्ने १ थान मिक्सचर, सरफ, साबुन, ट्वाइलेट क्लिनर, भाडा माझ्ने झोल साबुन, हात धुने झोल साबुन र ग्यास क्लिनिर सामग्री १ थान प्रदान गरिएको थियो। रासस