काठमाडौं- साझा यातायातले खरिद गरेको ४० वटा विद्युतीय बसमा आपूर्तिकर्तालाई ठूलो रकम छुट दिइएको पाइएको छ। विद्युतीय बस आपूर्ति गर्न तोकिएको समयमा आपूर्ति नहुँदा भएको क्षतिको पूर्तिबापत २ करोड ४९ लाख ४५ हजार रुपैयाँ साझा यातायातले पाउनु पर्थ्यो। तर आपूर्तिकता कम्पनीले हालसम्म साझा यातायातलाई क्षतिपूर्तिबापतको उक्त रकम उपलब्ध गराएको छैन।
साझा यातायात व्यवस्थापनले पनि यसबारेमा कुनै चासो देखाएको छैन। साझाले ४० वटा विद्युतीय बसको टेण्डरमा चिनियाँ कम्पनी सीएचटीसी किनविन (नानजिङ) अटोमोबाइल कम्पनी लिमिटेडलाई छनोट गरेको थियो।
साझा यातायातले ४० विद्युतीय बस खरिद गर्न गरेको टेण्डरमा ९ वटै चिनियाँ कम्पनीको आवेदन परेको थियो। सोही आवेदनमध्येबाट साझाले महानगरपालिकासहित विज्ञहरूको छनोट कमिटि बनाएर गरेको मूल्यांकनपछि सीएचटीसी किनविन (नानजिङ) अटोमोबाइल कम्पनी लिमिटेडलाई छनोट भएको थियो।
सीएचटीसी किनविन (नानजिङ) अटोमोबाइल कम्पनी लिमिटेडको नेपालका लागि आधिकारिक बिक्रेता भने दीगो समूहअन्तर्गतको एनईभी नेपाल प्रालि कम्पनी हो। साझा यातायातले २०७७ चैत १३ गते ४० बस खरिदका लागि टेण्डर गरेको थियो।
सो टेण्डर पाएको सीएचटीसी किनविन (नानजिङ) अटोमोबाइल कम्पनी लिमिटेडले सम्झौतामा समयमै बस आपूर्ति गर्न नसके क्षतिपूर्ति तिर्ने सर्त थियो। तर उक्त समयभन्दा १ सय ४ दिन ढिलो बस ल्याएकाले साझा यातायातलाई क्षतिपूर्ति तिर्नुपर्नेमा नतिरेको महालेखाले हालै सार्वजनिक गरेको ६१औँ प्रतिवेदनमा उल्लेख गरेको छ।
सार्वजनिक खरिद नियमावली २०६४ को नियम १२१ तथा संस्था र आपूर्तिकताबीच ४० वटा विद्युतीय बस खरिद गर्न चीनको एक कम्पनीसँग २०७८ असोज २२ मा भएको ५० करोड ३ लाख ८३ हजार रुपैयाँको सम्झौतामा तोकिएको म्यादमा कार्यसम्पन्न हुन नसकेमा सम्झौता रकमको १० प्रतिशत नबढ्ने गरी प्रतिदिन सम्झौता रकमको ०.०५ प्रतिशतले पूर्वनिर्धारित क्षतिपूर्ति लाग्ने व्यवस्था छ।
सम्झौताअनुसार प्रतितपत्र खोलेको मिति २०७८ मंसिर २० बाट ३ बस १ सय २० दिनभित्र र ३७ वटा बस २ सय ४० दिनभित्र आपूर्ति गर्नुपर्नेमा आपूर्तिकर्ताले क्रमशः २०७९ असार ६ गते र २०७९ कात्तिक २९ मा आयात गर्दा क्रमशः ४५ दिन र १ सय ४ दिन ढिलागरी आपूर्ति गरेकाले पूर्वनिर्धारित क्षतिपूर्ति २ करोड ४९ लाख ४५ हजार रुपैयाँ असुल गर्नुपर्ने महालेखाले भनेको छ।
कम्पनीले बस नेपाल ल्याएपनि चार्जिङ पूर्वाधार निर्माण नहुँदा लामो समय विद्युतीय बस पार्किङमा थन्किएर बसेका थिए। केही महिनाअघिमात्र आपूर्तिकर्ताबाट साझाले बस हस्तान्तरण पाएर विद्युतीय बस सञ्चालन थालेको हो।
सीएचटीसी किनविन (नानजिङ) अटोमोबाइल कम्पनी लिमिटेडले बसमात्रै नभइ त्यसका लागि आवश्यक चार्जर र ५ वर्षको मर्मतसम्भारको जिम्मासमेत पाएको थियो।
साझा यातायातमा नेपाल सरकारका मन्त्रालय तथा विभागहरूको ९२.१८ प्रतिशत, काठमाडौं र ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका र महालक्ष्मी नगरपालिकालगायतका स्थानीत तहको ७.७ प्रतिशत एवं विभिन्न संघसंस्थाहरूको ०.०३ प्रतिशत र सर्वसाधारण जनताको ०.०९ प्रतिशतसमेत कुल ३ अर्ब ५३ करोड ८३ प्रतिशत सेयर लगानी रहेको छ।
साझाको सेयर पुँजी ३ अर्ब ५३ करोड ८३ लाख रुपैयाँ रहेकोमा मुद्दती निक्षेप ३ अर्ब ३० करोड २७ लाख रुपैयाँ रहेको छ। व्यावसायिक उद्देश्यअनुसारका योजना तथा कार्यक्रममा खर्च हुनुपर्नेमा स्रोतलाई आयमूलक क्षेत्रमा परिचालन हुन नसकेको पनि महालेखाले औँल्याएको छ।
साझा यातायातले आर्थिक वर्ष २०७९/८० मा कुल ६० करोड ९९ लाख ३५ हजार रुपैयाँ आम्दानी रहेकोमा कुल खर्च ४२ करोड ८० लाख ८८ हजार रुपैयाँ रहेको छ। सो वर्ष समग्रमा संस्था १८ करोड १८ लाख ४७ हजार रुपैयाँ नाफामा भएतापनि सञ्चालनतर्फ १४ करोड ५२ लाख ९३ हजार रुपैयाँ नोक्सानीमा छ।
बस सञ्चालनतर्फ खुद आम्दानी २१ करोड ८२ लाख २९ हजार रुपैयाँ र खर्च ३० करोड ८७ लाख ५० हजार रुपैयाँ भइ ९ करोड ५ लाख २१ हजार रुपैयाँ नोक्सानी भएको छ। संस्थाको बहाल, विज्ञापन तथा लगानी शीर्षकमा ३९ करोड १७ लाख ५ हजार आम्दानी रहेको छ। अतः संस्थाले बस सञ्चालन खर्चमा मितव्ययिता कायम गरी आम्दानी वृद्धि गर्नुपर्ने महालेखाले औँल्याएको छ।
साझा यातायातले हाल काठमाडौं उपत्यकाका विभिन्न रुट तथा केही बसमार्फत लामो दुरीमासमेत बस सञ्चालन गर्दै आएको छ। लामोदुरीमा काठमाडौं बागलुङ तथा काठमाडौं भैरहवा रुटमा र छोटो दुरीमा काठमाडौं उपत्यकाभित्र ८ वटा रुपमा बस सञ्चालित छन्। ४० वटा विद्युतीयसहित हाल साझा यातायातसँग १ सय ११ वटा बस रहेका छन्।