शुक्रबार, कात्तिक ९ गते २०८१    
images
images

दरवाङ-धारापानी-मुना सडक स्तरोन्नति सम्पन्न, जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता हट्यो

images
बिहीबार , जेठ २४ २०८१
images
images
दरवाङ-धारापानी-मुना सडक स्तरोन्नति सम्पन्न, जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता हट्यो

यसैगरी धारापानीबाट सिवाङसम्म सडक स्तरोन्नतिका लागि २५ करोड रूपैयाँ लागत अनुमान गरी योजना कार्यान्वनयका लागि बहुवर्षीय ठेक्का आह्वान गरिएको कार्यालयले जनाएको छ।

images
images

म्याग्दी- पश्चिम म्याग्दीको प्रमुख व्यापारिक केन्द्र दरवाङबाट धारापानी-मुनासम्मको सडक स्तरोन्नति भएपछि जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ।

images
images
images

मालिका गाउँपालिकाको केन्द्र दरवाङबाट धवलागिरि गाउँपालिकाको केन्द्र मुनालाई जोड्ने सडकअन्तर्गत सात किलोमिटर स्तरोन्नति सम्पन्न भएपछि यस क्षेत्रका बासिन्दा र धौलागिरि आधारशिविर जाने पर्यटकलाई जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता हटेको हो।

यसअघि भिरालो, साँघुरो र भीर पहराको जीर्ण सडकमा जोखिम मोलेर सवारीसाधन गुडाउनुपर्ने र यात्रा गर्नुपर्ने बाध्यता थियो। सडक स्तरोन्नति भएसँगै धवलागिरि गाउँपालिकावासीले साँघुरो, उकालो र जोखिमयुक्त सडकमा यात्रा गर्नुपर्ने बाध्यता हटेको बताएका छन्।

images

बेनी-दरबाङ-धारापानी-मुना लुलाङ गुर्जा ढोरपाटन सडक योजनाअन्तर्गत दरबाङ-धारापानी खण्डको सडक स्तरोन्नतिका लागि चार वर्षअघि ठेक्कामार्फत योजना कार्यान्वयन थालिएको थियो। दुई वर्षभित्रमा निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि कोरोनाका कारण काम प्रभावित भएपछि दुई वर्ष ठेक्का अवधि थपिएको थियो। थपिएको ठेक्का अवधिभित्र निर्माण व्यावसायीले योजना सम्पन्न गरेका छन्।

images

गण्डकी प्रदेश सरकारले विनियोजन गरेको योजना कार्यान्वयन गर्न पूर्वाधार विकास कार्यालय म्याग्दीले १४ करोड ३८ लाख ६७ हजार एकसय ७६ रूपैयाँमा धुलिखेल ब्राइट कुँवर जेभीसँग विसं २०७६ चैत ४ गते बहुवर्षीय ठेक्का सम्झौता गरेको थियो।

योजनाअन्तर्गत साँघुरो सडकलाई फराकिलो, साँघुरा घुम्तीलाई चौडा, बादिकाको भीर काटेर सडक फराकिलो पारी तीनसय मिटर ढलान, नाली, ग्याबियन जाली लगाउने, कल्भर्ट तथा कजवे निर्माण, टेवा पर्खाल गरी सात मिटर चौडाइमा सडक ग्राभेल गरिएको पूर्वाधार विकास कार्यालय म्याग्दीका इञ्जिनियर अर्जुन शर्माले जानकारी दिए।

बादिकाको भीरमा आप्ठ्यारो जोखिमयुक्त सडकलाई फराकिलो बनाउन र ग्रेड मिलाउन भीर काटेर नयाँ ट्र्याक खोलिएको उनले बताए। इञ्जिनियर शर्माका अनुसार बादिकाको अप्ठ्यारो भीरको करिब तीनसय मिटर सडक ढलान गरी सहज बनाइएको छ।

कोरोनाका कारण समयमा काम सम्पन्न नगरे पनि पुनः थपिएको म्यादभित्र सडक स्तरोन्नति सम्पन्न गरेको निर्माण व्यवसायी प्रतिनिधि प्रधुम्न कुँवरले बताए।

यसैगरी धारापानीबाट सिवाङसम्म सडक स्तरोन्नतिका लागि २५ करोड रूपैयाँ लागत अनुमान गरी योजना कार्यान्वनयका लागि बहुवर्षीय ठेक्का आह्वान गरिएको कार्यालयले जनाएको छ। धवलागिरि गाउँपालिकाको केन्द्र मुना हुँदै जाने दरवाङ-मुना-ढोरपाटन सडकको धारापानीबाट सात किमी अगाडि सिवाङसम्म सडक फराकिलो, नाली निर्माण, ग्राभेल र ढलान गरी सडक स्तरोन्नति गर्न ठेक्का लगाइ योजना कार्यान्वयन सुरु गरिएको इञ्जिनियर शर्माले जानकारी दिए।

'धवलागिरि-७ बादिकाको भीरमा अत्यन्तै जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता थियो', स्थानीय टेकबहादुर थापाले भने, '१३ वर्ष अघि मुस्किलले अक्करे भीर फोरेर ट्र्याक खोलिएको हो। अहिले सडकको स्तरोन्नति भएपछि भने अक्करे भीरमा सवारीसाधन सहजरूपमा वारपार गर्न सक्ने भएका छन्।'

दरवाङ-धारापानी सडकखण्डअन्तर्गत बादिकाको भीरमा सडक ढलान र नाली निर्माणसहित स्तरोन्नति भएपछि धारापानीवासीले नाचगान गरेर खुसियाली मनाएका छन्। 'सडकलाई ग्राभेल, नाली निर्माण, ढलान र ग्रेड सुधार गरेर स्तरोन्नति गरिएपछि स्थानीयले गाउँमा नाचगान गरेर खुसियाली मनायौँ', स्थानीय राधिका थापाले भने, 'बाँदर दगुर्ने भीरमा अहिले मोटर गुड्ने सडक बनेको छ, एक दशक बढी समयदेखि जीर्ण र जोखिमपूर्ण रुपमा सवारीसाधन वारपार गर्नुपर्ने बाध्यता अहिले हटेको छ।'

विसं २०६७ मा जिल्ला विकास समितिको २० लाख रूपैयाँ र सांसद विकास कोषबाट आठ लाख ५० हजार रूपैयाँसहित स्थानीयवासीको चन्दा संकलनबाट एक करोड ९२ लाख रूपैयाँ रकम जुटाएर दरवाङबाट सिवाङसम्मको सडकको ट्र्याक निर्माण भएको थियो। समुदायको चन्दा सहयोगबाट निर्माण भएको सडक सरकारीस्तरबाट ढलान र ग्राभेलसहित स्तरोन्नति भएपछि स्थानीय उत्साहित बनेका छन्। रासस


प्रकाशित : बिहीबार , जेठ २४ २०८११६:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend