बिहीबार , मंसिर १३ गते २०८१    
images
images

७० लाख लागतमा जालपामा निर्माण गरिएको बहुउद्देश्यीय ‘कभर्डहल’ सञ्चालनमा

images
सोमबार, जेठ २१ २०८१
images
images
७० लाख लागतमा जालपामा निर्माण गरिएको बहुउद्देश्यीय ‘कभर्डहल’ सञ्चालनमा

नगरपालिकाको ७० लाख रूपैयाँ र स्थानीय उपभोक्ताको श्रमदानबाट निर्माण गरिएको बहुउद्देश्यीय कभर्डहल आइतबारदेखि औपचारिकरुपमा सञ्चालनमा ल्याइएको हो।

images
images

खोटाङ- दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१२ जालपामा निर्माण गरिएको ‘जालपा कभर्डहल’ सञ्चालनमा ल्याइएको छ। नगरपालिकाको ७० लाख रूपैयाँ र स्थानीय उपभोक्ताको श्रमदानबाट निर्माण गरिएको बहुउद्देश्यीय कभर्डहल आइतबारदेखि औपचारिकरुपमा सञ्चालनमा ल्याइएको हो।

images
images
images

कभर्डहलभित्र करिब तीन सयजना दर्शक अट्ने रंगशालासहित सुविधासम्पन्न शौचालय निर्माण गरिएको जालपाका वडाध्यक्ष दानबहादुर राईले बताए। विसं २०७६ मा निर्माण सुरु गरिएको उक्त कभर्डहल आइतरबार कोशी प्रदेश प्रमुख परशुराम खापुङले औपचारिकरुपमा उद्घाटन गरे।

images

उद्घाटन कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय अनुशासन आयोगका अध्यक्ष एवम् पूर्वसांसद टंक राई, नगरप्रमुख तीर्थराज भट्टराई, नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङका नेता रामप्रसाद दंगाललगायतको उपस्थिति थियो। करिब पाँच वर्ष लगाएर सम्पन्न गरिएको कभर्डहलमा खेलकुदसम्बन्धी विभिन्न गतिविधि, सभा, सम्मेलनलगायत कार्यक्रम गर्न सकिने वडाध्यक्ष राईले जानकारी दिए।

images

कभर्डहल उद्घाटनको अवसरमा भलिबल र ब्याडमिन्टन प्रतियोगिता, पूर्वखेलाडीलाई सम्मानका साथै सांगीतिक कार्यक्रम आयोजना गरिएको वडाध्यक्ष राईले बताए। उनका अनुसार यही जेठ १८ गतेदेखि सुरु भएको कार्यक्रमअन्तर्गत खुला वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि ओखलढुंगाको चिसङ्खुगढी गाउँपालिका-१ कुइभिरले जितेको छ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र वडा कार्यालय जालपाको संयुक्त आयोजनामा सम्पन्न प्रतियोगितामा रावाबेँसी गाउँपालिका-१ कुभिण्डेलाई हराउँदै कुइभिरले उपाधि जितेको हो।

उपाधि विजेताले ५० हजार रूपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका वडाअध्यक्ष राईले जानकारी दिए। उनका अनुसार दोस्रो भएको रावाबेँसी-१ कुमिण्डेले ३० हजार रूपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ। 

विभिन्न जिल्लाका १९ वडाले सहभागिता जनाएको प्रतियोगितामा ऐँसेलुखर्क गाउँपालिका-५ तेस्रो हुँदै २० हजार रूपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ। स्थानीयस्तरमा खेलाडी उत्पादन गर्ने उद्देश्यले खुला वडास्तरीय भलिबल प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।

ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत पुरुषतर्फको खुला डबल ब्याडमिन्टनमा दिक्तेलका पूजन आचार्य र सञ्जय कार्की पहिलो, दिक्तेलका समीर बजिमय र विकास खत्री दोस्रो तथा जालपाका युनिशन राई र रमेश श्रेष्ठ तेस्रो भएका छन्।

महिलातर्फको डबल प्रतियोगितामा दिक्तेलका रेणुका राई र ममता राई पहिलो, जालपाका अनिता श्रेष्ठ र वर्षा गुरुङ दोस्रो तथा दिक्तेलका कल्पना जोशी (राई) र स्मिता राई तेस्रो भएका छन्। खुला महिला/पुरुष दुवैतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः २० हजार, १५ र १० हजार रूपैयाँका साथमा ट्रफी र प्रमाणपत्र प्रदान प्राप्त गरेका छन्।

पुरुषतर्फको डबल भेट्रानमा दिक्तेलका राजु श्रेष्ठ र समीर बजिमय पहिलो, जालपाका गोपाल गुरुङ र ज्ञानबहादुर श्रेष्ठ दोस्रो र दिक्तेलका मनविक्रम राई र हरि खत्री तेस्रो भएका छन्। भेट्रानतर्फ  पहिलो,  दोस्रो र तेस्रो हुनेले क्रमशः १२ हजार, दश हजार, आठ हजार रूपैयाँ पुरस्कार प्राप्त गरेका छन्।

पन्ध्र वर्षमुनिका पुरुषतर्फको ब्याडमिन्टनमा केपिलासगढी गाउँपालिका-४ का ग्याल्जेन तामाङ र आशिष राई पहिलो, दिक्तेलका संयोग धमला र विवेक आचार्य दोस्रो र दिक्तेलकै योजन दाहाल र अनिशान्त दंगाल तेस्रो भएका छन्। पहिलो,  दोस्रो र तेस्रो हुनेले क्रमशः आठ हजार, पाँच हजार र तीन हजार पुरस्कार प्राप्त गरेका आयोजकले जनाएको छ। 

कार्यक्रममा भलिबलका पाँच तथा तेक्वान्दो र सितोरियो करातेका दुई/दुईजना पूर्वखेलाडीलाई सम्मान गरिएको छ। भलिबलका पूर्वक्षेत्रीय खेलाडी बलराम राई, सम्बरबहादुर राई, वीरबहादुर तामाङ, ताराकला राई र जसुदा राई, तेक्वान्दोका पूर्वखेलाडी विकास र संगम गुरुङ तथा सितोरियो करातेका चन्द्रबहादुर राई ‘मदन’, गौतम राई र कैलाश राईलाई सम्मान गरिएको वडाध्यक्ष राईले जानकारी दिए। रासस


प्रकाशित : सोमबार, जेठ २१ २०८११४:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend