काठमाडौं- पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट पार्टीमुखी भएको बताएका छन्। अर्थतन्त्रका वर्तमान समस्या समाधानका लागि आफूले सुरू गरेका सयौँ सुधारका कार्यक्रम अलपत्र छाडेर वितरणमा केन्द्रित भएको उनको भनाइ छ।
आजदेखि प्रतिनिधिसभामा सुरू भएको व्यय तथा राजस्वको विवरणमाथिको छलफलमा भाग लिँदै नेपाली कांग्रेसका प्रवक्तासमेत रहेका महतले बजेट पार्टीमुखी र निकट रहेका मान्छेमुखी भएको बताए।
आन्तरिक उत्पादन बढाउनका लागि भनेर चालु वर्षको आर्थिक ऐनबाट आलु, प्याज र स्याउको आयातमा लगाइएको भ्याट खारेज गर्नुका पछाडि कुनै पनि तर्क नरहेको बताएका छन्।
आयातमा लाग्ने भ्याट हटाउनु भनेको उत्पादन तथा किसानको हितभन्दा पनि आयात गर्ने व्यापारीको स्वार्थमुखी भएको उनको भनाइ छ।
‘यसमा मैले सुने कि उत्पादन बढाउनका लागि भनेर भ्याट हटाइएको भन्नुभएछ मन्त्रीज्यूले, योभन्दा हास्यास्पद के हुनसक्छ जबकी हामीले आयातमा मात्र भ्याट लगाएका थियौं। त्यसैले यो भ्याट हटाउने काम किसानभन्दा पनि आयात गर्ने व्यापारीको स्वार्थमा आएको हो’ उनले भने।
अर्थतन्त्रमा अहिले देखिएको समस्या समाधानका लागि यसअघि नै यथेष्ठ अध्ययन तथा अनुसन्धान भएको र त्यसको सुधारका लागि केही समेत सुरु भएको अवस्थामा सबै छाडैर फेरि एउटा समिति बनाउने भन्दै अलपत्र पारिएको भनाइ छ।
‘समस्या के हो सबैलाई थाहा छ, यसका लागि कुनै पनि सुधारको पहल गरिएन उल्टो उच्चस्तरीय आयोगमा लिएर अल्झाइएको छ। यसको काम छैन’ आर्थिक सुधारका लागि भन्दै सरकारले सुझाव दिनेगरी एउटा उच्चस्तरीय समिति बनाउने बजेटबाट घोषणा गरेको छ। तर यो समितिको कुनै औचित्य नरहेको उनको भनाइ छ।
अर्थतन्त्रमा मुख्य समस्या भनेको आम्दानी विनियोजन नभइ विवेकपूर्ण परिचालनको अभाव रहेको उनको भनाइ छ। जीडीपीको तुलनामा विनियोजन र राजस्व संकलन दक्षिण एसियामा उच्च वृद्धि गरिरहेका अर्थतन्त्रको तुलनामा नेपालमा राम्रो भएको उनले बताए। भारत र बांगलादेशको तुलनामा पनि उच्च भएपनि वृद्धिदर भने निम्नस्तरमा सिमित भएको उनले बताए।
‘यसले के देखाउँछ भने हाम्रो राजस्व संकलन राम्रो भएपनि त्यसको परिचालन विवेकपूर्ण भएन, परिणाम दिनेभन्दा पनि नेता तथा कार्यकर्ता खुसी पार्ने, निर्वाचन क्षेत्र केन्द्रीत हुने विनियोजनका कारणले यस्तो भएको हो। यही सुधारका लागि भन्दै हामीले केही सुधार गरेका थियौं जुन यो बजेटमा निरन्तर त भएन अझ उल्टो भंग गरियो’ उनले भने।