काठमाडौं- अर्थमन्त्री वर्षामान पुनले सन्तुलित र समस्या समाधान्मुख बजेट आएको बताएका छन्। चालु आर्थिक वर्ष प्रक्षेपण नमिलिरहेको सन्दर्भमा दबाबका बीच आगामी आर्थिक वर्षको बजेट आएको उनले बताएका छन्।
बजेटको मुख्य उद्देश्य आशा जगाउनु रहेको भन्दै उनले युवाहरूमा निराशा बढिरहेको बेला आशा जगाउने प्रयास गरेको बताए। नयाँ चरणको आर्थिक सुधारको दिशामा अगाडि बढ्नका लागि आधार प्रदान गर्नेगरी बजेट आएको उनको भनाइ छ।
नयाँ आर्थिक सुधारका लागि उच्चस्तरीय आयोग बनाउने र यसले दिने सुझावका आधारमा अगाडि बढ्ने हिसाबमा बजेट आएको अर्थमन्त्री पुनले बताए।
सरकारले ३० प्रतिशतमात्रै खर्च गर्ने र निजी क्षेत्रले ७० प्रतिशत खर्च गर्ने भएकाले निजी क्षेत्रलाई प्राथमिकता दिनेगरी बजेट आएको उनको भनाइ छ।
आगामी आर्थिक वर्षको बजेटमार्फत कोशी प्रदेशलाई उद्योगको हब, काठमाडौंलाई आईटी, कर्णाली प्रदेशलाई जडिबुटीको हब बनाउनेजस्ता आर्थिक केन्द्रको रुपमा विकास गर्ने र निजी क्षेत्रलाई त्यसैतर्फ लगानीका लागि प्रोत्साहन गरिने नीति लिएको उनले बताए।
निश्चित पूर्वाधारका कोरिडोर निर्माण गर्ने र व्यवस्थित आवास, सहरी विकास, खानेपानी र कृषिलगायत पूर्वाधार अगाडि बढाउनका लागि अन्तरमन्त्रालय समन्वय अगाडि बढाएको उनले बताए। यसैका लागि गण्डकी त्रिभुजको अवधारणा बजेट अगाडि बढाइएको उनको भनाइ छ।
प्राथमिकता धेरै क्षेत्रमा छर्नेभन्दा पनि ५ क्षेत्रमा विभाजन गरी कृषि दशक, ऊर्जालाई प्राथमिकता, सूचना प्रविधिलाई आधार मानेर ३० खर्ब रुपैयाँको निर्यात गर्नेगरी बजेट विभाजन गरिएको उनले बताए।