शुक्रबार, जेठ २ गते २०८२    
शुक्रबार, जेठ २ २०८२
images
images

सम्झौता अवधिभन्दा ११ महिनाअगावै सम्पन्न भयो ९२ लाख लागतको लुङ्दीखोला-दुलेपानी सिँचाइ आयोजना

images
बुधबार, जेठ १६ २०८१
images
सम्झौता अवधिभन्दा ११ महिनाअगावै सम्पन्न भयो ९२ लाख लागतको लुङ्दीखोला-दुलेपानी सिँचाइ आयोजना

सिँचाइ योजना सम्पन्न भएसँगै भेडाबारी, दुलेपानी र लामाबगरका किसानहरू खेतमा सिँचाइ गर्न पाएपछि खुसी भएका छन्।

images
images

पर्वत- पर्वतको जलजला गाउँपालिका-७ धाइरिङमा सञ्चालित लुङ्दीखोला-भेडावारी-दुलेपानी सिँचाइ आयोजना सम्झौता अवधिभन्दा ११ महिनाअगावै सम्पन्न भएको छ। सिँचाइ विकास डिभिजन कार्यालय पर्वतले १९ महिनामा निर्माण सम्पन्न गर्न २०८० भदौमा ९२ लाख ७७ हजार रूपैयाँमा ठेक्का सम्झौता गरेको थियो।

images
images
images

ठेक्का सम्झौता भएको आठ महिनामै काम सम्पन्न भएर सिँचाइ योजनामा पानी सञ्चालन गरिएको सिँचाइ नहर उपभोक्ता समितिका अध्यक्ष चक्रपाणि पौडेलले जानकारी दिए।

images
images

निर्माण व्यवसायीको सक्रियता, उपभोक्ताको जागरुकता र कार्यालयका तर्फबाट नियमित रूपमा सुपरीवेक्षण भएकाले काम थालेको आठ महिनामै पानी सञ्चालन गर्न सफल भएको उनले बताए। सिँचाइ योजनाबाट यस क्षेत्रका करिब एक सय घरधुरीको झण्डै एक हजार रोपनी खेतबारीमा बाह्रै महिना सिँचाइ सुविधा पुगेको छ।

images
images

गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको योजना जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय पर्वतले ठेक्कामार्फत कार्यान्वयन गरेको हो। भेडाबारीबाट एक हजार आठ सय मिटर टाढा रहेको ढल्केको टाकुरा नजिक रहेको लुङ्दीखोलाबाट पानी ल्याइएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका इन्जिनियर रामचन्द्र तिमिल्सिनाले बताए। उनका अनुसार मुहानमा इन्टेक, दुई स्थानमा क्रसिङ पुल  र चारवटा वितरण च्याम्बर निर्माण गरी नहर विस्तार गरिएको छ।

योजनामा कुलोको मुहानबाट भेडाबारीसम्म एक हजार आठ सय मिटर दुरीको पाइप लाइन जडान गरिएको छ। कमजोर भूभागका कारण नहर बनाउन असम्भव भएकाले पाइप लाइन जडान गर्दा सिँचाइ योजना दिगो हुने आशा गरिएको इन्जिनियर तिमिल्सिनाले बताए। योजनामा पानी सञ्चालनमा आए पनि केही काम बाँकी रहेको र बजेटको अभावमा निर्माण व्यवसायीलाई करिब ७० लाख रूपैयाँ भुक्तानी गर्न बाँकी रहेको उनले जानकारी दिए।

विगत पाँच वर्षअघि मिलनचोक-सल्यना-घायखेत-धारापानी-ठोटनेरी सडक निर्माणका क्रममा पहिरोले क्षति पुर्‍याएपछि गण्डकी प्रदेश सरकारले चालु आवमा बजेट विनियोजन गरेर पुनःनिर्माण गरेको हो।

सिँचाइ नहर पुरिएपछि यस क्षेत्रका किसानले अकाशे पानीका भरमा खेती गर्दै आएका थिए। तरकारी पकेट क्षेत्रसमेत रहेको यहाँ सिँचाइको अभावमा तरकारी उत्पादनमा समेत कमी आएको थियो।

सिँचाइ योजना सम्पन्न भएसँगै भेडाबारी, दुलेपानी र लामाबगरका किसानहरू खेतमा सिँचाइ गर्न पाएपछि खुसी भएका छन्। सिँचाइ नहुँदा बाँझै भएको जमिनमा खनजोत गरेर बालीनाली लगाउन थालेको जलजला गाउँपालिका-७ का वडाध्यक्ष टुंगनाथ आचार्यले बताए।

बैशाखमा सिँचाइ योजना सम्पन्न भएसँगै पानी सञ्चालनमा आएपछि किसानले खेतबारीमा सिँचाइ गरेर खेती गर्न थालेको आचार्यले बताए। बैशाख र जेठको खडेरीमा पनि पानी ल्याएर खेतबारीमा सिँचाइ गरेकाले खेतबारी हराभरा भएको उनले बताए। बाह्रै महिना सिँचाइ सुविधा पुगेपछि यस क्षेत्रमा तरकारी उत्पादनमा समेत वृद्धि हुने अपेक्षा गरिएको छ। धाइरिङको सल्यान फाँटबाट बर्सेनि दुई करोड रूपैयाँभन्दा बढीको तरकारी बिक्री हुने गरेको छ।

सिँचाइ सुविधा नहुँदा तीन वर्षसम्म खेत बाँझै राखेका भेडाबारीका स्थानीयवासी लक्ष्मीप्रसाद आचार्यले यसपालि भने असारमै खेत रोप्ने तयारी गरेको बताए। योजना सम्पन्न भएपछि स्थानीय किसानलाई धान रोपाइँ गर्न आकाशे पानी कुर्नुपर्ने बाध्यता अन्त्य भएको उनले बताए। रासस


प्रकाशित : बुधबार, जेठ १६ २०८१११:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend