सिरहा- हुलाकी लोकमार्ग अन्तर्गत १३ वर्षदेखि निर्माणाधीन सिरहा र धनुषा जोड्ने कमला पुल निर्माण गर्न आगामी बजेटमा बजेट सुनिश्चितताको माग गर्दै सिरहाका स्थानीय आन्दोलित भएका छन्।
पुल निर्माण संघर्ष समिति गठन गरी तीन दिनदेखि स्थानीयवासी चरणबद्ध आन्दोलनमा उत्रिएका हुन्। स्थानीयवासीले गत शनिबार शान्तिपूर्ण विरोध प्रदर्शन गरेका थिए। आइतबार विरोधस्वरुप बजार बन्द गराए।
आज सिरहा सदरमुकाममा बिहान ८ देखि ११ बजेसम्म चक्काजाम र त्यसपछि सम्पूर्ण सरकारी कार्यालय बन्दको कार्यक्रम गरेको संघर्ष समितिका संयोजक रवीन्द्रकुमार साहले जानकारी दिए।
संघर्ष समितिले गत शुक्रबार सिरहाका प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र पठाएको थियो। आव २०८१/८२ को नीति तथा कार्यक्रममा कमला पुल प्राथमिकतामा नपरेकाले जेठ १५ मा सार्वजनिक हुने बजेटमा कमला पुल निर्माणको सुनिश्चितता गरी बजेट विनियोजन गर्न दबाबस्वरुप आन्दोलन गर्नुपरेको संघर्ष समितिका संयोजक साहले बताए।
'वर्षौँदेखि पुल नबन्दा यहाँका जनताको दुःख र पीडा असह्य भएको छ। हामीले सास्ती खेप्न नसकेर पटकपटक आन्दोलन गर्दा पनि सरकारले सुन्दैन,' साहले भने, 'प्रधानमन्त्रीको पूर्व प्रतिबद्धताअनुसार यसपालि बजेटमा कमला पुल निर्माणको सुनिश्चितता हुनुपर्छ। नभए हामी सशक्त आन्दोलनमा उत्रिन्छौँ।'
पुल निर्माण गर्न निर्माण कम्पनीले विभिन्न बहाना बनाइ एक वर्षदेखि ढिलासुस्ती गर्दै आएको तथा निर्माण कम्पनी र बीमा कम्पनीबीचको विवादले समयमै पुल बन्ने अवस्था नरहेको उनले जानकारी दिए।
सम्झौता भएको १२ वर्षपछि निर्माण भएको कमला पुल सञ्चालनमा नआउँदै तीन वर्षअघि दुई ठाउँमा भासिएको थियो। गत वर्ष बैशाख २४ गते हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुर र पुल निर्माण कम्पनी ‘लुम्बिनी बिल्डर्स’बीच २०८१ असार मसान्तसम्म पुलको पुनःनिर्माण गर्ने सम्झौता भएको थियो।
निर्माण कम्पनीका ‘साइट इन्चार्ज’ सुदीप थापाले सम्झौताअनुसार काम सम्पन्न गर्न प्राविधिक कारणले सम्भव नरहेको बताए। बीमा कम्पनीबाट पाउनुपर्ने पाँच करोड रूपैयाँ बराबरको रकम नपाएको र हाल यस विषयको विवाद काठमाडौं जिल्ला अदालतमा विचाराधीन भएकाले आर्थिक संकटमा परेको उनले जानकारी दिए।
पुल निर्माण सुरु भएयता १३ वर्ष बीचमा उच्चस्तरको सरकारी अनुगमन तथा निरीक्षण पटक पटक भएपनि स्रोत अभावका कारण निर्धारित समयमा पुल निर्माण हुन सकेको छैन। मधेस प्रदेशको राजधानी जनकपुरधामसँग जोड्ने छोटो दुरीको आयोजनाअन्तर्गत विसं २०६८ मा तीन वर्षभित्र सम्पन्न गर्ने गरि कमला पुलको ठेक्का लागेको थियो। रासस