बिहीबार , मंसिर १३ गते २०८१    
images
images

हटेन स्वास्थ्य संस्थामा सेवाग्राहीको सधैँको सास्ती, योजनाअनुसार खरिद नगर्दा समस्या

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, जेठ १४ २०८१
images
images
हटेन स्वास्थ्य संस्थामा सेवाग्राहीको सधैँको सास्ती, योजनाअनुसार खरिद नगर्दा समस्या

महालेखा परीक्षकको प्रतिवेदन २०८१ ले यसअघिको प्रतिवेदनमा औँल्याएको ब्यहोरामा यस पटक पनि सुधार नदेखिएको औँल्याएको छ।

images
images

काठमाडौं- सरकारी स्वास्थ्य संस्थामा स्वास्थ्य उपकरण र मेसिन प्रयोगविहीन अवस्थामा रहँदा सेवाग्राहीले सास्ती भोग्न परेको महालेखापरीक्षकको प्रतिवेदनले देखाएको छ।  

images
images
images

महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदनका अनुसार खरिद गरिएका स्वास्थ्य उपकरण र मेसिन दक्षजनशक्तिको अभावमा प्रयोगविहीन अवस्थामा रहेको उल्लेख गरेको छ। बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा दैनिक दुई सय ५० जनाभन्दा बढी बिरामी आउने गर्छन्। यस अस्पतालमा चारवटा मेसिनबाट रेडियो थेरापीबाट सेवा दिँदै आएको आएको छ जसका कारण बिरामीले ४५ दिनसम्म कुर्नपर्ने समस्या रहेको प्रतिवेदनमा उल्लेख छ। 

images

सोही अस्पतालमा मेसिन उपकरण प्रयोगविहीन छ। अस्पतालले २०७९ साल चैतमा खरिद गरेको रक्त क्यान्सरको चरण पत्ता लगाउने मेसिन दक्ष जनशक्तिको अभावमा प्रयोगविहीन अवस्थामा छ। उक्त मेसिन एक करोड  १८ लाख ६५ हजारमा खरिद गरेर गरिएको थियो। यस अस्पतालमा क्यान्सर रोगको अति आवश्यक पेट सिटी स्क्यान, बोनम्यारो ट्रान्सप्लान्ट र मेमोग्राफी मेसिन नहुँदा सेवाग्राहीले जटिल प्रकृतिको रोगको उपचार पाउन नसकेको उक्त प्रतिवेदनमा भनिएको छ।  

images

उक्त प्रतिवेदनमासहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ८६ डायलासिस मेसिन रहेकामा ६१ वटा मात्र प्रयोगमा रहेको बताइएको छ। उक्त केन्द्रमा दैनिक एक सय १० बिरामीले डायलासिस गराउने र बाँकी सात सय बिरामी प्रतीक्षारत रहनुपर्ने बाध्यता छ। बिरामीले सेवा लिन ६ महिनादेखि १ वर्षसम्म पालो कुर्नपर्ने अवस्था छ।

केन्द्रमा  मुटुको शल्यक्रियामा प्रयोग हुने इसिएमओ हर्टलङ्ग मेसिन जनशक्ति अभावमा प्रयोगविहीन अवस्थामा छ। उक्त मेसिन दुई करोड ६९ लाखमा खरिद गरिएको हो। 

राष्ट्रिय ट्रमा सेन्टरले मुटु रोगको उपचारका लागि खरिद गरिएको क्याथल्याब मेसिन प्रयोगविहीन छ। २०६९ सालदेखि दक्षजनशक्तिको अभावमा प्रयोगविहीन बनेको उक्त मेसिन चार करोड ७३ लाखमा खरिद गरिएको थियो।

सुविधासम्पन्न रिफरल सरकारी अस्पतालमा समेत बिरामीले शल्यक्रियाका लागि लामो समय कुर्नपर्ने बाध्यता यथावत् रहेको प्रतिवेदनले उल्लेख गरेको छ। सरकारी अस्पतालमा समयमा शल्यक्रियाको सेवा नपाउँदा बिरामीहरु महँगो शुल्कमा निजी अस्पतालमा उपचार गराउन बाध्य हुने गरेको भन्दै प्रतिवेदनले भौतिक तथा जनशक्तिको सुधारका लागि सुझाव दिएको छ। 

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) सुविधा सम्पन्न रेफरल अस्पताल भए पनि बिरामीले विभिन्न शल्यक्रियाका लागि तीन महिनासम्म कुर्नपर्ने बाध्यता छ। यस अस्पतालमा युरोलोजी कस्मेटिक सर्जरीका लागि १ वर्षसम्म कुर्नुपर्ने बाध्यता छ। देशको एक मात्र सरकारी बालअस्पताल, कान्ति बाल अस्पतालमा बहिरङ्ग सेवाका लागि टिकट वितरणदेखि शल्यक्रियाका लागि धेरै समय कुर्नपर्ने बाध्यता प्रतिवेदनमा उल्लेख छ।

हाइड्रोसिलको शल्यक्रिया गर्न ६ देखि २ वर्ष, सामान्य शल्यक्रिया गर्न ३ महिनादेखि १ वर्ष बिरामीले कुर्नपर्ने बाध्यता छ। यस अस्पतालमा छुट्टै कार्डियो युनिट र मुटु रोग विशेषज्ञको पदपूर्ति हुन नसकेको उल्लेख छ। अस्पतालमा शय्याको अभाव, इको, क्याथल्याब र सिसियु नभएका कारण अस्पतालमा मुटुको एन्जियोप्लास्ट, एन्जियोग्राफी लगायत सेवा उपलब्ध हुन नसकेको उल्लेख छ। 

यस्तै, भक्तपुर  अस्पतालमा पत्थरी, ट्युमर लगायतको शल्यक्रियाका लागि बिरामीले कम्तीमा ३ महिना पर्खिनुपर्ने अवस्था छ। अस्पतालमा एमआरआई मेसिन क्याथल्याब मेसिन नभएको कारण बिरामी अन्यत्र रेफर गर्नुपर्ने अवस्था छ। 

सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र र परोपकार प्रसूति तथा स्त्री रोग अस्पताललगायत आवश्यक जनशक्तिको पदपूर्तिका लागि महालेखापरीक्षकको प्रतिवेदनले सुझाव समेत दिएको छ।

महालेखा परीक्षकको प्रतिवेदन २०८१ ले यसअघिको प्रतिवेदनमा औँल्याएको ब्यहोरामा यस पटक पनि सुधार नदेखिएको औँल्याएको छ।

खरिद योजनाअनुसार खरिद नगरेको दरबन्दीअनुसार पदपूर्ति नभएको, सोझै खरिद गरेको, भुक्तानीमा कर कट्टी नगरेको र कोनाल्ट तथा सिटी सेमुलेटर मेसिन यो वर्ष पनि जडान एवं सेवा सञ्चालन नगरेको जस्ता ब्यहोरामा पुनरावृत्ति नहुने गरी सुधार गर्न महालेखाले सुझाव दिएको हो। रासस


प्रकाशित : सोमबार, जेठ १४ २०८११०:०२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend