काठमाडौं- गत आर्थिक वर्ष सार्वजनिक संस्थानहरूले ३ हजार ४६ दशमलव २० प्रतिशतले खुद नाफा बढाउन सफल भएका छन्। आर्थिक वर्ष २०७९/८० मा सार्वजनिक संस्थानहरूले ४८ अर्ब ५१ करोड रुपैयाँ खुद नाफा गरेका छन्।
सार्वजनिक संस्थानहरूको नाफा बढ्नुमा मुख्य योगदान नेपाल आयल निगमको रहेको संस्थानको वार्षिक स्थिति समीक्षामा उल्लेख गरिएको छ।
आर्थिक वर्ष २०७८/७९ मा ३८ अर्ब १७ करोड रुफैयाँले घाटामा रहेको नेपाल आयल निगम गत आर्थिक वर्ष ११ अर्ब ७२ करोड खुद नाफा गरेको छ।
नेपालमा हाल अस्तित्वमा रहेका सार्वजनिक संस्थान ४४ वटा रहेका छन्। जसमा औद्योगिक क्षेत्रमा १०, व्यापारिक क्षेत्रमा ४, सेवा क्षेत्रमा ११, सामाजिक क्षेत्रमा ५, जनोपयोगी क्षेत्रमा ५ र वित्तीय क्षेत्रमा ९ सार्वजनिक संस्थान अस्तित्वमा रहेका छन्।
सार्वजनिक संस्थानको प्रशासनिक खर्च आर्थिक वर्ष २०७८/७९ मा ३५ अर्ब ४६ करोड ४७ लाख रहेकोमा आर्थिक वर्ष २०७९/८० मा २३.७९ प्रतिशतले वृद्धि भइ ४३ अर्ब ९० करोड १८ लाख रहेको छ।
२० वटा संस्थानले आ.व. २०७९/८० सम्मको लेखापरीक्षण गराएका छन् भने अन्य २४ वटा संस्थानले नियमित लेखापरीक्षण गराएका छैनन्।
आर्थिक वर्ष २०७९/८० मा उच्च खुद नाफा आर्जन गर्ने पाँच सार्वजनिक संस्थानमा क्रमशः नेपाल आयल निगम लिमिटेड, नेपाल विद्युत प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, नागरिक लगानी कोष र निक्षेप तथा कर्जा सुरक्षण कोष रहेका छन्।
आर्थिक वर्ष २०७९/८० मा उच्च नोक्सान भएका पाँच सार्वजनिक संस्थानमा क्रमशः नेपाल वायुसेवा निगम लिमिटेड, नेपाल खानेपानी संस्थान, दुग्ध विकास संस्थान, उदयपुर सिमेन्ट उद्योग लिमिटेड र नेपाल टेलिभिजन रहेका छन्।
आर्थिक वर्ष २०७८/७९ मा संस्थानको कुल सञ्चालन आय ५ खर्ब ७५ अर्ब ४३ करोड ५५ लाख रहेकोमा आर्थिक वर्ष २०७९/८० मा १४.८७ प्रतिशतले वृद्धि भइ ६ खर्ब ६१ अर्ब १ करोड २९ लाख पुगेको छ।
आर्थिक वर्ष २०७९/८० मा नाफामा सञ्चालित २६ संस्थानको गत वर्षको तुलनामा खुद नाफा ९८१.४० प्रतिशतले बढेको छ भने नोक्सानीमा सञ्चालित १५ संस्थानको गत वर्षको तुलनामा खुद नोक्सानी २.८१ प्रतिशतले बढेको देखिन्छ। सार्वजनिक संस्थानको प्रशासनिक खर्च २३.७९ प्रतिशतले बढेको छ।
आर्थिक वर्ष २०७९/८० मा शेयरधनी कोष (नेटवर्च) गत आर्थिक वर्षको तुलनामा २१ प्रतिशतले वृद्धि भइ ९ खर्ब ८२ अर्ब १३ करोड १७ लाख पुगेको छ। समीक्षा अवधिका ३२ वटा संस्थानको सेयरधनीकोष धनात्मक र बाँकी १० वटाको सेयरधनीकोष ऋणात्मक छ।
सार्वजनिक संस्थानमा आ.व. २०७८/७९ को तुलनामा चुक्ता पुँजी १०.६२ प्रतिशतले वृद्धि भइ आर्थिक वर्ष २०७९/८० मा ४ खर्ब १२ अर्ब १२ करोड ८१ लाख पुगेको छ। जसमा नेपाल सरकारको पुँजी लगानी ९२.१३ प्रतिशत र अन्य संस्थान तथा निजी क्षेत्रको ७.८७ प्रतिशत सेयर स्वामित्व रहेको छ।
आर्थिक वर्ष २०७९/८० को कुल गार्हस्थ्य उत्पादन ५३ खर्ब ८१ अर्ब ३४ करोडमा सार्वजनिक संस्थानको कुल सञ्चालन आयको अनुपात १२.२८ प्रतिशत रहेको छ।
नेपाल सरकारले प्राप्त गरेको कुल आयकरमा आर्थिक वर्ष २०७८/७९ मा संस्थानको योगदान ५.५९ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७९/८० मा ६.९७ प्रतिशत पुगेको छ। आर्थिक वर्ष २०७९/८० मा नेपाल सरकारको सञ्चितकोषमा सार्वजनिक संस्थानले कुल १७ अर्ब ३९ करोड ४६ लाख आयकर दाखिला गरेका छन्।
आर्थिक वर्ष २०७९/८० मा सार्वजनिक संस्थानमा ३२.१८० जनाले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन्। जनोपयोगी क्षेत्रका संस्थानमा सबैभन्दा बढी १३ हजार ३ सय ७७ जना र सामाजिक क्षेत्रका संस्थानमा सबैभन्दा कम १ हजार ४ सय ८ जना कार्यरत छन्।
सञ्चालनमा रहेका संस्थानमध्ये सातवटा संस्थान नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकृत छन्। कुल बजार पुँजीकरणमा सूचीकृत सरकारी संस्थानको हिस्सा २०८० असार मसान्तमा १८.३२ प्रतिशत रहेको छ।
निजीकरण गरिएका १८ वटा सार्वजनिक संस्थानमध्ये १० वटा संस्थान नाफामा सञ्चालनमा छन्।
निजीकरण ऐनबमोजिम खारेज भएका १२ संस्थानमध्ये हालसम्म कृषि चुन उद्योग लिमिटेडको मात्र कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता खारेजी भइ कानूनी रूपमा अस्तित्व समाप्त भएको छ। कृषि औजार कारखाना लिमिटेड बन्द रहेकोमा नेपाल सरकार, मन्त्रिपरिषद्को २०७९ भदौ ३१ को निर्णयानुसार यसलाई राष्ट्रिय आविष्कार केन्द्रलाई सञ्चालन गर्न दिइएको छ भने अन्य खारेजीमा परेका सार्वजनिक संस्थानको कानूनी प्रक्रिया पूरा हुन सकेको छैन।