तनहुँ- स्वदेशी एवं विदेशी पर्यटकहरुको आकर्षणको केन्द्रका रुपमा विकसित भइरहेको बन्दीपुरमा पर्यटकीय पूर्वाधार निर्माणमा निजी क्षेत्रले चासो दिँदै आएको छ।
कुल ६ अर्ब २९ करोड रूपैयाँ लागतमध्ये विभिन्न संरचना निर्माणमा हालसम्म चार अर्ब ५५ करोड रूपैयाँ लगानी भइसकेको बन्दीपुर केबलकार एण्ड टुरिजम कम्पनीले जनाएको छ।
बन्दीपुरलाई साहसिक खेल जीपलाइनको हब बनाउन पहल थालिएको भन्दै बन्दीपुर-४ बरालथोकबाट भानु-१ नयाँबस्तीसम्म दुई हजार आठ सय मिटर दुरीमा जीपलाइन निर्माण प्रक्रिया अघि बढाइएको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए। उनका अनुसार विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) कार्य सम्पन्न भइसकेको छ ।
शर्माले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) कार्य भइरहेको भन्दै उक्त जीपलाइन विश्वकै लामो निर्माण हुने दाबी गरे। ईआइए कार्यपश्चात निर्माणले गति लिने उनले बताए।
बन्दीपुर-४ को केबलकार चोक नजिक निर्माणाधीन एक सय ४० मिटर छोटो दुरीको जीपलाइन निर्माण अन्तिम चरणमा पुगेको छ। करिब १५/२० दिनभित्रसो जीपलाइन सञ्चालनमा ल्याउने तयारी भइरहेको शर्माले जानकारी दिए। उनले भने, 'बन्दीपुरलाई जीपलाइन र साइक्लिङ क्षेत्रको हब बनाउने लक्ष्य राखिएको छ।'
अध्यक्ष शर्माका अनुसार सोही वडाको केबलकार प्रांगणमा ८५ मिटर दुरीको स्काइ साइक्लिङ निर्माण सम्पन्न भइसकेको छ। निर्माणाधीन जीपलाइन र साइक्लिङ एकैसाथ सञ्चालनमा ल्याइने योजना रहेको उनले जानकारी दिए।
टुरिजमले बन्दीपुर-४ केबलकार चोकस्थित तल्लो स्टेसनमा ५६ रोपनी क्षेत्रफलमा फैलिएको ‘टुरिष्ट पार्क’, अन्तर्राष्ट्रियस्तरको अत्यधुनिक रेष्टुराँ निर्माण गरी सञ्चालनमा ल्याइसकेको जनाएको छ।
निर्माणाधीन १७ तलाको पाँचतारे होटल ‘क्वीन टावर’ को करिब ९० प्रतिशत भौतिक प्रगति भएको लिमिटेडका अध्यक्ष शर्माले जानकारी दिए। 'टुरिजमले केबलकार संरचना निर्माण गरी आंशिक सञ्चालनमा ल्याइसकेको छ। उक्त केबलकारमा २१ वटा प्यासेन्जर क्याबिन रहेका छन्', उनले भने।
केबलकारको तल्लो स्टेसनबाट माथिल्लो स्टेसनसम्म एक हजार सात सय मिटर दुरीमा केबलकारका माध्यमबाट पाँचतारे होटलभित्र पुगेर टुंगिनेछ। समुद्री सतहदेखि करिब एक हजार एक सय मिटर उचाइमा उक्त होटल निर्माण गरिएको छ। टुरिजमले सबै संरचना निर्माण गरी सञ्चालनमा ल्याइएसँगै बन्दीपुरको पर्यटन क्षेत्रमा आमूल परिवर्तन आउन सक्ने अपेक्षा गरिएको जनाएको छ। रासस