शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

२४ खर्ब हाराहारीमा सार्वजनिक ऋण, चालु आवको १० महिनामा मात्रै ९८ अर्ब थपियो

images
शनिबार, जेठ १२ २०८१
images
२४ खर्ब हाराहारीमा सार्वजनिक ऋण, चालु आवको १० महिनामा मात्रै ९८ अर्ब थपियो

चालु आर्थिक वर्षको १० महिनामा ९८ अर्ब रूपैयाँ ऋण थपिएको छ। यो चालु आवको १० महिनाको भुक्तानी गर्न बाँकी सार्वजनिक ऋण हो।

images
images

काठमाडौं- मुलुकले भुक्तान गर्न बाँकी सार्वजनिक ऋण करिब २४ खर्ब रूपैयाँ रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ। साथै चालु आर्थिक वर्षको १० महिनामा ९८ अर्ब रूपैयाँ ऋण थपिएको छ। यो चालु आवको १० महिनाको भुक्तानी गर्न बाँकी सार्वजनिक ऋण हो।

images
images
images

'चालु आर्थिक वर्ष २०८०/८१ को सुरुमा कुल सार्वजनिक ऋण २२ खर्ब ९९ अर्ब रूपैयाँ रहेकामा २०८१ बैशाख मसान्तसम्ममा ९८ अर्ब आठ करोड रूपैयाँ थप प्राप्त भइ कुल ऋण २३ खर्ब ९७ अर्ब रूपैयाँ रहेको छ', सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको प्रतिवेदनमा उल्लेख छ, 'चैत महिनाको तुलनामा कुल सार्वजनिक ऋण ११ अर्ब ६४ करोड रूपैयाँ थप भएको छ। कुल गार्हस्थ्य उत्पादनका आधारमा सार्वजनिक ऋण ४२ दशमलव ०२ प्रतिशत हुन आउँछ।'

images
images

गत बैशाख मसान्तसम्मको कुल सरकारी ऋणमा आन्तरिक ऋणको दायित्व ११ खर्ब ८४ अर्ब ४८ करोड रूपैयाँ बराबर रहेको छ। यो अवधिसम्मको आन्तरिक ऋण मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को २० दशमलव ७६ प्रतिशत प्रतिशत बराबर हो। त्यस्तै बाह्य ऋण दायित्व १२ खर्ब १२ अर्ब ९५ करोड रूपैयाँ बराबर पुगेको छ। जीडीपी अनुपातमा बाह्य ऋणको दायित्व २१ दशमलव २६ प्रतिशत बराबर हो।

images
images

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षको बैशाख मसान्तसम्ममा सरकारले कुल दुई खर्ब ६४ अर्ब ६३ करोड रूपैयाँ बराबर ऋण उठाउँदा एक खर्ब ६६ अर्ब ५५ करोड ४४ लाख रूपैयाँ बराबर साँवा ब्याज भुक्तानी गरेको छ।

यो अवधिमा सरकारले उठाएको ऋणमध्ये आन्तरिक ऋण एक खर्ब ९१ अर्ब र बाह्य ऋण ७३ अर्ब ६३ करोड रूपैयाँ बराबर हो। त्यस्तै, साँवा ब्याज भुक्तानीतर्फ आन्तरिक ऋणको साँवाब्याज भुक्तानीमा एक खर्ब ३५ अर्ब ६२ करोड रूपैयाँ र बाह्य ऋणको साँवाब्याजतर्फ ३० अर्ब ९३ करोड रूपैयाँ बराबर भुक्तानी भएको छ।

गत बैशाख मसान्तसम्ममा वार्षिक लक्ष्यको ५८ दशमलव ४५ प्रतिशत बराबर ऋण उठाइएको पनि कार्यालयले जनाएको छ।

'चालु आर्थिक वर्षमा चार खर्ब ५२ अर्ब रूपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकामा बैशाख मसान्तसम्ममा दुई खर्ब ६५ अर्ब रूपैयाँ ऋण प्राप्ति भएको छ', कार्यालयको प्रतिवेदनमा भनिएको छ, 'वार्षिक लक्ष्यको तुलनामा कुल सार्वजनिक ऋण प्राप्ति ५८ दशमलव ४५ प्रतिशत र आन्तरिक ऋण प्राप्ति ७९ दशमलव ५८ प्रतिशत तथा बाह्य ऋण प्राप्ति ३४ दशमलव ६१ प्रतिशत रहेको छ।'

चालु आर्थिक वर्षका लागि सार्वजनिक ऋणको साँवा तथा ब्याज भुक्तानीका लागि तीन खर्ब ३० अर्ब रूपैयाँ बराबर वार्षिक बजेट विनियोजन भएको थियो। बैशाख मसान्तसम्ममा दुई खर्ब २२ अर्ब रूपैयाँ बराबर भुक्तानी भएको छ। यो वार्षिक विनियोजनका आधारमा ७० दशमलव ५७ प्रतिशत बराबर हो। रासस


प्रकाशित : शनिबार, जेठ १२ २०८११५:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend