शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

नेपाल-चीन सीमानाको टिप्ताला नाका खुला, गलैँचा र दूधजन्य पदार्थ लिएर चीनतर्फ लागे व्यापारी

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, जेठ ११ २०८१
images
नेपाल-चीन सीमानाको टिप्ताला नाका खुला, गलैँचा र दूधजन्य पदार्थ लिएर चीनतर्फ लागे व्यापारी

जिल्ला प्रशासन ताप्लेजुङका अनुसार फक्ताङ्लुङ गाउँपालिका-६ लेलेप र ७ ओलाङचुङगोलाबासीले अनुमतिपत्र लिएका छन्।

images
images

ताप्लेजुङ- ताप्लेजुङको टिप्ताला नाका आज शुक्रबारदेखि खुला गरिएको छ। नेपाल-चीनको सीमानामा रहेको यो नाका कोरोना महामारीयता बन्द थियो।

images
images
images

लामो प्रयासपछि आजदेखि नाका खुलेको फक्ताङलुङ गाउँपालिका-७ वडाध्यक्ष तथा चीनको तिब्बत डिङजी काउन्टी जानकार छेतेन लामाले बताए।

images
images

लामाका अनुसार नाका खुला गरिएसँगै नेपालबाट ३० जना व्यापारी चीन प्रवेश गरेका छन्। उनीहरुले नेपालमा उत्पादित गलैँचा, दूधजन्य पदार्थ घ्यू, छुर्पीलगायका सामग्री लगेका छन्। उनीहरु करिब १० दिनसम्म तिब्बतमा रहनेछन्। 

images
images

गत बैशाख अन्तिम साता प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यको नेतृत्वमा सुरक्षा निकायलगायतको एक टोली टिप्ताला नाका पुगेको थियो।

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका अनुसार चीनतर्फबाट तिब्बतको डिङजी काउन्टी सरकारका अधिकारीसँगको समन्वयमा गत बैशाख २५ गते नाका खुलाउने सहमति भएको थियो। चीनतर्फबाट तयारी पूरा गरेर आजबाट नाका खुलाएको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएको छ। 

नेपालबाट व्यापार अध्ययनका लागि पहिलो चरणमा ३० जना व्यापारी तिब्बतको रिउ प्रवेश गरेका हुन्। सीमावर्ती क्षेत्रमा बसोबास गर्ने एक सय १५ जनाले तिब्बत प्रवेशका अनुमति लिएका छन्। 

जिल्ला प्रशासन ताप्लेजुङका अनुसार फक्ताङ्लुङ गाउँपालिका-६ लेलेप र ७ ओलाङचुङगोलाबासीले अनुमतिपत्र लिएका छन्। त्यस्तै मिक्वाखोला गाउँपालिका-५ पापुङका नागरिकले समेत अनुमति पाएका छन्। टिप्ताला नाका कोरोना महामारीयता बन्द थियो।

आचार्यले टिप्ताला नेपाल-तिब्बतको महत्वको व्यावसायिक नाकासमेत भएकाले द्विदेशीय व्यापार प्रवर्द्धनमा समेत यो नाकालाई भरपूर उपयोग गर्नुपर्ने बताए। 'व्यावसायिक हिसाबले यो नाका महत्वको छ, यसलाई उपयोग गर्ने गरी सबै पक्षबाट सहयोग र समन्वय जरुरी छ', उनले भने। 

हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायको प्रमुख पुर्खौली पेसा पशुपालनमा(याक) निर्भर हुँदै आएको छ। चीनका बजारमा चौँरी याकहरुको माग राम्रो छ। यहाँका चौँरी याक चीन निर्यात गर्नका लागि चौँरी याक गोठलाई मुख्य पेसाको लिएका छन्। चौँरी याक निर्यात हुन नसक्दा किसानलाई आर्थिकरुपमा समेत संकट बेहोर्नुपरेको मिक्वाखोला गाउँपालिका-५ का चौँरी याक पालक मिलन दोर्जेको भनाइ छ।

पाँच हजार दुई सय मिटर उचाइमा रहेको टिप्ताला भञ्ज्याङमा दुई साता अगाडि मात्र पहिलोपटक नेपाली गाडी (ट्र्याटर) पुर्‍याइएको थियो। सडक निर्माण कम्पनीका ठेकेदार पेम्बा ठिले शेर्पा छ वर्षदेखिको मेहनत सफल भएको बताए। ताप्लेजुङ सदरमुकाम फुङलिङबाट टिप्ताला भञ्ज्याङको दूरी ८५ किलोमिटर छ। आयोजनाका म्यानेजर राजीव लामिछानेका अनुसार ट्र्याक्टर सदरमुकाम फुङलिङबाट सीमानासम्मै पुग्छ। 

सडक निर्माणमा द्विदेशीय सिमाना नजिकैको बस्ती ओलाङचुङगोलाबासीहरुको पनि त्यतिकै योगदान छ। यहाँ जन्मेर देश विदेशमा रहेकाबाट प्राप्त दुई करोडभन्दा बढी रकमबाट सिमानादेखि बस्तीसम्मको २४ किलोमिटर सडक निर्माण गरिएको थियो। 

तमोर नदीको उद्गमस्थलसमेत रहेको टिप्ताला भञ्ज्याङदेखि तमोरको किनारै किनार धनकुटाको मूलघाट, भेँडेटार हुँदै विराटनगरको रानी भन्सारसम्मको दूरी करिब तीन सय मिटर रहेको सडक कार्यालयले जनाएको छ। त्यसैले यो सडकलाई उत्तरतर्फको सबैभन्दा छोटो दूरीको सडक भएको सडक कार्यालयको दाबी छ। रासस


प्रकाशित : शुक्रबार, जेठ ११ २०८११५:४३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend