काठमाडौं- चालु आर्थिक वर्षको सुरुवातदेखि नै अर्थतन्त्रमा विभिन्न समस्याहरू देखिँदै आएका छन्। साउनदेखि कात्तिक महिनासम्म पुग्दा यस्तो समस्या अझ विकराल हुँदै गएको छ।
नेपाल राष्ट्र बैंकले चार महिनाको आर्थिक अवस्थाको प्रतिवेदन सार्वजनिक भएपछि अर्थशास्त्रीहरूले गम्भिर संकटको संकेतका रुपमा व्याख्या गर्न थालेका छन्। राष्ट्र बैंकको प्रतिवेदनअनुसार कात्तिकसम्म रेमिट्यान्स घटेको छ, ब्यापार घाटा बढेको छ, शोधनान्तर घाटा १ खर्ब ५१ अर्ब पुगेको छ। अन्तत: विदेशी मुद्राको सञ्चिति सात महिनाको वस्तु तथा सेवा धान्नसक्ने अवस्थामा सीमित भएको छ।
राष्ट्र बैंकको यो तथ्यांकले अर्थतन्त्रको बाह्यक अवस्था असन्तुलित हुँदै गएको प्रष्ट देखाउँछ। अर्कोतिर सरकारले पुँजीगत खर्च सदाझै गर्न सकेको छैन भने कोरोनापछिको अवस्थामा माग भएको ऋण बैंकहरूले दिन सकेका छैनन्। उपभोक्ता मूल्यवृद्धि आकासिँदै गएको छ। लगभग अर्थतन्त्रका सबै सूचकले खराब संकेतमात्र गरेका छैनन् झन् खराब हुने क्रममा देखिएका छन्। पछिल्लो महिना खराब हुने क्रम अझ बढ्दै आएको छ।
तथ्यांकले प्रष्ट संकटको संकेत गरेपछि अर्थमन्त्रीदेखि अर्थसचिवसम्मले अर्थतन्त्रमा कुनै पनि संकट नदेखिएको र सबै चिज सामान्य भएको भन्दै सार्वजनिक भाषण, मिडियामा लेख तथा अन्तर्वार्ताको माध्यमबाट धारणा सार्वजनिक गरिरहेका छन्। अर्थमन्त्रीले यस्तो धारणा सार्वजनिक गरेको बेला समीक्षक तथा विश्लेषक, आमसञ्चारका माध्यमका नेपाल राष्ट्र बैंकको तथ्यांक देखाएरै अर्थतन्त्रमा संकट सम्मुख रहेको बताउन थालेपछि अर्थमन्त्रालयले सबै हत्कान्डा अपनाएको छ।
सबै सूचक राम्रा भएको भन्ने सन्देश दिनका लागि अर्थमन्त्री जनार्दन शर्मा, अर्थसचिव मधुकुमार मरासिनीले यसमा सक्दो गरिरहेका छन्। तर मुख्य कुरा राष्ट्र बैंकको प्रतिवेदनको तथ्यांकले बोलेपछि उनीहरूको शाब्दिक खण्डनले खासै काम गरेन। यो अवस्था बुझेको अर्थ मन्त्रालयले राष्ट्र बैंकलाई नै अवस्थालाई सामान्यीकरण गर्न दबाब दियो। फलस्वरुप राष्ट्र बैंकले आज काठमाडौंमा पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम गर्दै अर्थतन्त्रमा संकट पहिलोपटक नआएकाले यसलाई ठूलै समस्याका रुपमा लिन नहुने सन्देश दियो।
तर राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भने राष्ट्र बैंकले पछिल्लो अवस्थाका बारेमा प्रश्न सुन्ने तथा जानकारी दिने बाहेक अरु कुनै पनि आशय वा उद्देश्य राखेर कार्यक्रम नगरेको बताए।
'बुझ्न त जसरी पनि सकियो। तर हाम्रो क्षेत्रधिकारभित्र रहेर जानकारी दिने तथा गतिविधि गर्नमा दत्तचित्त छौं। हामीले केबल तथ्यांकमात्र सार्वजनिक गर्ने होइन त्यसको तुलना तथा विश्लेषण पनि दायित्व हो। यही फ्रेमवर्कमा रहेर यो कार्यक्रम गरेका हौं' अधिकारीले भने।
कोरोना महामारीपछि एकैपटक आयात धेरै बढेको, त्यही आयातमा बैंकहरूले ऋण लगानी गरेकाले बजारमा तरलता अभावबाट सुरु भएर अहिले विदेशी मुद्राको सञ्चितिमा संकुचन देखिए पनि यो ठूलो समस्या नभएको गभर्नर अधिकारीको भनाइ छ।
'समस्या ठूलै जस्तो लाग्छ। तर समाधानको क्षमताभन्दा धेरै माथिको समस्या छैन। रेमिट्यान्स कोरोनाकाल अघिको भन्दा न्यून भएको छैन। विदेशी मुद्राको सञ्चिति पनि कोरोनाकाल अघिको तुलनामा न्यून बिन्दुमा झरेको छैन। त्यसैले कुनै पनि धेरै ठूलो समस्या होइन' उनले भने।
राष्ट्र बैंकले अहिले देखिएका केही नकारात्मक भनिएक सूचकले ठूलै समस्या ल्याउने सम्भावना नरहेको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाश श्रेष्ठको भनाइ छ।
'यस्ता समस्या पहिला पनि आएका थिए। त्यतिबेला पनि समाधान गरेका थियौं। अहिले पनि भएका छौं। अहिले पनि समाधान हुन्छ' उनले भने।